अन्ततः उपसभामुख तुम्बाहाङफेले सोमबार राजीनामा दिने
अन्तत उपसभामुख शिवमायाँ तुम्बाहाङफेले सोमबार राजीनामा दिने भएकी छिन् । नेकपा सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार भेटेपश्चात् उनले राजीनामा दिने भएकी हुन् ।
उक्त भेटमा उनले फेरीपनि सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको भागिदार आफूलाई बनाउन नमिल्ने बताउँदै सभामुख छाड्नुपर्ने कारण के हो, पार्टीले लिखित रुपमा देओस् भन्ने माग गरेकी थिइन् । प्रधानमन्त्रीले पार्टी एकीकरणको मनोविज्ञान र शक्तिसन्तुलनलाई ध्यान दिएर अग्नि सापकोटालाई सभामुख बनाइएको र पाटीको लागि सहयोग गर्न भनेका थिए । बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्रीको सम्झाइ बुझाई र आश्वासन पश्चात् सोमबार उपसभामुखबाट राजीनामा गर्न उनी तयार भएकी छिन् ।
तर, सभामुख र उपसभामुख एउटै दलले नपाउने संवैधानिक प्रावधानका कारण नेकपाको भागमा सभामुख पद सुरक्षित गर्नका लागि तुम्बाहाङ्फे पछि हट्न बाध्य बनेकी छन् ।
नेकपामा अब बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख तुम्बाहाङफेले राजीनामा दिने र ज्येष्ठ सदस्यले सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने सहमती बनेको छ ।
नेकपा सांसद डा। शिवमाया तुम्बाहाङफे ०७४ साल चैत्र २ गते प्रतिनिधिसभामा उपसभामुख निर्वाचित भएकी थिइन् ।
प्रतिक्रिया