नेपालको ७० वर्षे हवाई इतिहास :  १२ दर्जन दुर्घटना, दुई बहालवाला मन्त्रीको मृत्यु 

नेपालको ७० वर्षे हवाई इतिहास :  १२ दर्जन दुर्घटना, दुई बहालवाला मन्त्रीको मृत्यु 

काठमाडौं । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति पर्यटन तथा नागरिक उड््डयन मन्त्रीसहित हेलीमा सवार ७ जनाकै मृत्यु भयो । 

२०७४ फागुनमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो । आजको दुर्घटनासँगै नेपाली हवाई सेवाको ७० वर्षे इतिहासमा १२ दर्जन दुर्घटना भएका छन् । नेपालको विभिन्न स्थानमा भएका हवाइ दुर्घटनाबाट हालसम्म करिव एक हजारको मृत्यु भइसकेको छ । 

बंगलादेशबाट काठमाडौलाई उडान भरेको यूएस बंगला विमान करिव एक वर्ष अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटनामा परेको थियो ।

नेपाली आकाशलाई युरोपियन युनियनले करिव डेढ वर्षअघि मात्र कालो सूचिबाट हटाएको थियो । कालो सूचिबाट हटाएको छोटो अवधिमै नेपालमा फेरि हवाई दुर्घटना भएको छ ।

नेपालमा सन् १९५५ सालमा पहिलो पटक बाराको सिमरामा कालिंगा एयरको भीटी एजेटएक्स डीसी जहाज दुर्घटनामा परेको थियो । यो दुर्घटनामा २ जनाको मृत्यु भएको यियो ।

 नेपालमा भएको विमान दुर्घटनाबाट हालसम्म करिव दुई सय जना घाइते भएका छन् भने अन्तरिक उडानमा तीन सय ५० भन्दा बढी, अन्तर्राष्ट्रिय उडानमा चार सय ५० भन्दा बढी र हेलिकटर दुर्घटनामा परी करिव एक सय जनाले ज्यान गुमाइसकेका छन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा सबैभन्दा धेरै दुर्घटना आन्तरिक उडानमा भएको छन् । हालसम्मको आन्तरिक उडानमा चार दर्जन विमान दुर्घटना भएका छन् । त्यसैगरी करिव एक दर्जन अन्तराष्ट्रिय विमान दुर्घटना भएका छन् भने तीन दर्जन जति हेलिकोप्टर दुर्घटना भएका छन् ।

नेपालमा सबैभन्दा ठूलो जाहाज दुर्घटना सन १९९२ मा भएको थियो । काभ्रेको भट्टेडाँडामा पाकिस्तान इन्टरनेश्नल एयरलाइन्सकाको विमान दुर्घटनामा एक सय ५७ जनाको मृत्यु भएको थियो । सन् १९९२ मा नुवाकोटको घ्याङफेदीका भएको थाई एयरवेजको जहाज दुर्घटनामा एक सय १३ जनाले ज्यान गुमाएका थिए । त्यसैगरी सन् २००० मा डडेल्धुरामा भएका नेपाल एयर लाइन्सको डीएचसी जहाज दुर्घटनामा २५ जनाको मृत्यु भएको थियो ।

यसबाहेक आन्तरिक उडानतर्फ सन् २०१६ मा म्याग्दीमा भएको तारा एयरको जहाज दुर्घटनामा २३, सन् २०१० मा ओखलढुंगामा भएको तारा एयरकै जहाज दुर्घटनामा २२ र सन् २०१२ मा मनोहराखोलामा भएको सीता एयरको जहाज दुर्घटनामा १९ जनाको ज्यान गएको थियो ।

यसैगरी नेपाली आकाशमा सन् २००६ मा ताप्लेजुङमा भएको श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा एकै पटक २४ जनाले ज्यान गुमाएका थिए । 

नेपालमा हवाई जहाज दुर्घटनाको इतिहास हेर्दा बैशाख (जेठ (मे) महिनामा बढी भएको देखिन्छ । कुहिरोले ढाक्ने महिनामा त्यति धेरै जहाज दुर्घटनामा नपरेको अन्तराष्ट्रिय हवाई दुर्घटना अभिलेखालयको तथ्यांकले देखाउँछ ।

हवाई दुर्घटनामा परी हालसम्म दुई जना बहालबाला मन्त्रीकै ज्यान गइसकेको छ । ताप्लेजुङको धुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा वनमन्त्री गोपाल  राईको ज्यान गएको थियो भने बुधबार ताप्लेजुङमै भएको अर्को हेलिकोप्टर दुर्घटनामा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारीको ज्यान गएको हो ।