राजीनामा दिँदैगर्दा उपसभामुखले भनिन् : कसैले पनि आफ्ना जरा र धरातल बिर्सन हुँदैन

राजीनामा दिँदैगर्दा उपसभामुखले भनिन् : कसैले पनि आफ्ना जरा र धरातल बिर्सन हुँदैन

काठमाडौं, ६ माघ । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सोमबार पदबाट राजीनामा दिएकी छिन् ।

बैठकमा समावेशी लोकतन्त्र हाम्रो महत्वपूर्ण विशेषता भएकाले त्यसप्रति राजनीतिक दल र दलका नेतृत्वलाई उनले स्मरण गराइन्।

‘समावेशी लोकतन्त्र हाम्रो संविधानको आधारभूत मान्यता मात्र होइन यसलाई अभ्यास र वचनबाट पनि लागू हुनुपर्दछ,’ उनले भनिन्, ‘संविधान निर्माणमा अगुवाई गर्ने राजनीतिक दल र नेतृत्व वर्ग यही विषयमा अडिक रहनुहुन्छ भन्ने मेरो विश्वास छ।’
उपसभामुखको रुपमा रहँदा र सभामुख रिक्त रहँदा आफूले  यस बारेमा धेरै प्रतिक्रिया पाएको भन्दै उनले समयले वस्तुनिष्ठ मूल्यांकन गर्ने दाबी गरिन्।

‘जनताको सुक्ष्म निगरानी गरिरहेको हुन्छन्,’ उनले भनिन्, ‘उचित सामाञ्जयस्यता हुनुपर्ने कुरा सवैले ध्यान पुर्‍याउनु पर्दछ।’

आफूले सभामुखको पदमा रहँदा दलको निर्देशनमा नभई संविधानअनुसार काम गरेको दाबी गर्दै उनले यो अवसर दिने सबैलाई धन्यवाद दिइन्। 

‘कसैले पनि आफ्ना जरा र धरातल बिर्सन हुदैन,’ उनले भनिन्, ‘मैले बहुमत दलको निर्णयलाई सहजीकरण गर्न जरुरी ठानेर यो निर्णय गरेकी हुँ।’  

जनजाति, एकल महिलाले पाएको अवसरलाई आफुले महत्वपूर्ण अवसरको रुपमा उपयोग गरेको दाबी उनले गरिन्।