सभामुख अग्निको अग्नि परीक्षा

सभामुख अग्निको अग्नि परीक्षा

सभामुखविहीन संसदले ढिलै भए पनि पूर्णता र नेतृत्व पाउनु एक हदसम्मको सुखद उपलव्धि हो । तर, यसबीचमा सभामुख छान्न भएका दृश्य अदृश्य खेलहरु, राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्ति समूहहरुका विभिन्न स्वार्थी गेमहरुको जुन स्तरमा खुल्लमखुल्ला प्रहसन भयो, यसले नेपालको संसदीय राजनीतिक सत्ता अझै पनि नेताहरुको आफ्नो विवेकको निर्णयमा मात्रै निर्भर भई अघि बढ्न सक्ने गरी परिपक्व भई नसकेको सन्देश जनस्तरमा प्रवाह भएको छ । 

गत असोज दोस्रो साताबाट अप्रत्यासित र नाटकीय घटनाक्रमका कारण रिक्त प्रतिनिधि सभाको सभामुखको उम्मेदवार चयन गर्न मात्रै पनि सत्तारुढ नेकपालाई पुस ५ सम्मको लामो अवधि कुर्नु प¥यो । अध्यक्षद्वय केपी ओली र प्रचण्डबीचको अत्यन्त लामो बहस र माथापच्चीका बीच बनेको भद्र सहमतिपछि सचिवालय वैठकले सभामुखको उम्मेदवारमा पूर्वमन्त्री समेत रहेका अग्नि सापकोटाको नाम अनुमोदन गर्दा आइतवारको सूर्य अस्ताइसकेको थियो । तर, यो निर्णयले प्रतिनिधि सभाको नेताको अभाव पूरा गर्ने गरी संसदीय राजनीतिक आकासमा व्याप्त तुवाँलो साफ गर्दै नयाँ सूर्योदय गराएको छ । यसको सिधा परिणाम पुस ६ गतेको प्रतिनिधि सभा वैठक सभामुख छान्ने प्रक्रियामा व्यस्त रह्यो । 

यसरी सरसर्ती हेर्दा चार महिनासम्म नेताविहीन भएको संसदले एकातिर आफ्नो टाउको अर्थात नेता पायो भने अर्कोतिर नेताविहीन संसदले सूचना टाँस गरेर वैठक स्थगित गर्दै आएको वाध्यात्मक परिवन्दमा पनि विराम लगायो । अब संसदले आफ्नो नेताका साथमा विजनेस र व्यस्तता पनि थपेको छ । संसदीय गतिरोध र अन्यौलतालाई चिर्न नेकपाले ढिलै भए पनि सकारात्मक परिणाममुखी उपलव्धि हासिल गरेको छ । तर पनि, विडम्वना के भने यत्रो लामो समयको वर्वादी र नेतृत्वको निरर्थक रस्साकसीपछि उम्मेदवार छानिदा पनि गौरव गर्नुपर्ने नियतिका शिकार छन् नेकपा पंक्ति । 

संसदमा झण्डै दुई तिहाई बहुमत भएको सत्तारुढ दलले आफ्नो तर्फबाट उम्मेदवार चयन गर्न नै चार महिना व्यतित गर्नु र संसदको हिउँदे अधिवेशन प्रारम्भ भएको झण्डै एक महिना संसदलाई सूचना टाँस गरेर स्थगित गराउनु पर्ने जुन वाध्यात्मक स्थितिमा अड्कायो, यो भने नेकपाले आफूमा निहित शक्तिको आँकलन गरेर समयमा सही निर्णय गर्न नसकेको कमजोर पक्ष नै हो । छान्नु नै थियो एकजना सभामुख त किन चार महिनासम्म पार्टी अनिर्णयको बन्दी बन्यो ? इतिहासमा यो प्रश्नले नेकपाको जीवनलाई तरङ्गित बनाइरहने छ । यस्तै पूर्व माओवादी कित्ताबाटै सभामुख बनाउनु थियो भने संसद चलेपछिका महिना दिनसम्म संसदलाई किन कुहिरोको काग बनाएर राखियो ? यस्ता प्रश्नहरुले पनि नेकपाको संसदीय सत्ता, कर्म र धर्मलाई चिमोटिरहने छ । 

सभामुखविहीन संसदले ढिलै भए पनि पूर्णता र नेतृत्व पाउनु एक हदसम्मको सुखद उपलव्धि हो । तर, यसबीचमा सभामुख छान्न भएका दृश्य अदृश्य खेलहरु, राष्ट्रिय÷अन्र्तराष्ट्रिय शक्ति समूहहरुका विभिन्न स्वार्थी गेमहरुको जुन स्तरमा खुल्लमखुल्ला प्रहसन भयो, यसले नेपालको संसदीय राजनीतिक सत्ता अझै पनि नेताहरुको आफ्नो विवेकको निर्णयमा मात्रै निर्भर भई अघि बढ्न सक्ने गरी परिपक्व भइनसकेको सन्देश जनस्तरमा प्रवाह भएको छ । 
प्रचण्डको निरन्तरको अडानको परिणाम थियो कि दुई पटक मन्त्री भएर सिंहदरवारको शयर गरिसकेका सिन्धुपाल्चोकका निर्वाचित सांसद अग्नि सापकोटा सभामुखमा पदोन्नति हुन सके । सापकोटाका लागि सभामुखको नयाँ यात्रा एउटा सुखद प्राप्ति नै हो । 

निश्चय नै सबै घटनाक्रमले देखाउँछन कि यो प्रचण्डको मेहनत र दृढ अडानले सापकोटा सभामुख बने । यसले सतहमा ल्याएको बहस यही हो कि नेकपाभित्र पूर्व माओवादी कित्ताले संवैधानिक अंगको एक प्रमुखमा पूर्ववत मौका वा सोध भर्ना पाउन पनि प्रचण्डले सभामुखको पदलाई आफ्नो प्रतिष्ठाको लडाईं नै ठान्नु पर्ने थियो । दुःखद पक्ष भनेको यसले वर्तमान नेकपामा भावनात्मक एकताले मूर्तता नपाएको सन्देश पनि दिएको छ । 

महिला सभामुख अस्वीकृत

र, पूर्व माओवादी कित्ताबाट चर्चामा रहेका नामहरुमध्ये सापकोटाले बाजी मार्नु तथा देव गुरुङ र पम्फा भुसाल वा हरिबोल गजुरेल चर्चामा मात्रै सीमित रहनुले ठूलो अन्तर नपारे पनि डा. बाबुराम भट्टराईपछि संयुक्त जनमोर्चा नेपालको अध्यक्ष नै चलाएकी र समकालीन महिला नेतृमा निकै सशक्त मानिएकी पम्फा भुसाललाई सभामुखको उम्मेदवार बनाउन प्रचण्ड शक्ति खर्च नहुनुले उनले र दल दुवैले महिला नेतृत्वलाई अझै एकपटक अवसर दिन कन्जुस्याई गरेको पक्ष उजागर गरेको भन्नेलाई मसला दिइरहेको छ । निवर्तमान उपसभामुख शिवमाया तुम्वाहम्फे समेतले दावी गरेर उपसभामुखको पद छाड्न समेत नचाहेको जटिल र पेचिलो परिस्थितिमा नयाँ सभामुखमा भुसालको नाम पार्टीले प्रस्तावित गर्न सकेको भए शिवमायाको पक्षमा खडा भएका महिला दवाव समूहदेखि अधिकारवादी आदि सबैको मुखमा बुझो लाग्न सक्थ्यो । नेताहरुले महिलाहरुलाई अवसर नै दिदंैनन भन्ने आरोपमा स्थायी पूर्णविराम नै लाग्न सक्थ्यो । लिङ्गीय रुपमा पनि राजनीतिको रोटी सेक्नेहरुलाई दरिलो जवाफ हुन सक्थ्यो । यसमा पार्टी र प्रचण्ड दुबैको विवेकसम्मत निर्णय हुन नसकेकै हो । 

अब पनि महिलालाई सभामुख हुने अवसर नेताहरुले दिएनन् भनेर महिलावादीहरुले नारा लगाइरहने अवसर पाए एकातिर भने अर्कोतिर सभामुखको पद, गरिमा र चुनौतिपूर्ण जिम्मेवारीका लागि उपयुक्त पर्सानिलिटी भुसाल राजकीय पदबाट एकबारलाई पछि धकेलिइन । यसले पार्टीभित्र र बाहिर पार्ने असरहरु अहिल्यै आँकलन गर्न नसकिएला नै ।

नेपथ्यका शिवमायाहरुलाई झापड

पार्टीले उपसभामुख बनाएकी तर परिस्थितिजन्य वाध्यताले कार्यवाहकको जिम्मेवारी पाएकी शिवमायाले आफूलाई सभामुख उम्मेदवार नबनाएसम्म आफूले उपसभामुखबाट राजीनामा नगर्ने भनेर जुन अड्डी कसिन र जुन स्तरमा अध्यक्षद्वयको निर्देशनलाई ठाडै अवज्ञा गरिन र गतिरोध लम्व्याउन सहयोगी बनिन, यसले नेपालका माननीयहरु वाह्य शक्तिको प्रभावमा कसरी फसाइन्छन भन्ने छर्लङ्ग भएको छ । अन्तिम घडीमा मात्रै शिवमाया यो गेमबाट रिङ आउट हुनुको मतलव प्रचण्ड र पार्टीले ढिलै र सकसपूर्ण प्रयासका बाबजुद पर्दाभित्रका खेलाडीहरुलाई रित्तो हात पारिदिन सकेका छन् । 

पश्चिमा शक्ति समूह र खासगरी आईएनजीओहरुले शिवमायाको काँधमा राखेर नेपाली संसदलाई निकम्मा बनाउन वा आफ्नो अनुकूलको सभामुख बनाउन जुन हदसम्मको हर्कत देखाए, त्यसलाई परास्त गर्न सक्नु पार्टीको जीत हो । भलै, शिवमाया प्रत्यक्ष नफसेकी हुन, उनको महत्वाकाँक्षालाई दुरुपयोग गर्न खोजेकै हुन् । विभिन्न आवरण र कलेवरमा पार्टीभित्रैका सहज पात्रहरुलाई विभिन्न प्रलोभनमा उछालेर देशको सत्ता राजनीति र संसदमा खेल्न खोज्ने विदेशी स्वार्थी समूह यसपटक फेरि पराजीत भएका छन् । 

अग्निको अग्नि परीक्षा
 

नामैले अग्नि अर्थात नयाँ सभामुखका लागि अवसरका हिसाबले मात्रै होइन चुनौतिका हिसाबले पनि सभामुखको जिम्मेवारी एक अग्नि परीक्षा हुनेछ । उनले आक्रामक विपक्षी काँग्रेस र संविधान संसोधनको अडान र रटानमा अडिग मधेशी दलहहरुलाई सन्तुलित नेतृत्व र विश्वास दिन सक्नुपर्छ । किनभने संसद भनेकै विपक्षीको मैदान हो । यस्तै सत्तारुढ दलभित्रै पनि संस्थापन समूह र आलोचक समूहलाई चित्त बुझाउन पनि मेहनतका साथ सक्नुपर्छ ।

बहुचर्चित एमसीसी कम्प्याक्टको संसदीय अनुमोदनमा प्रधानमन्त्री ओलीले देखाएको अविरल प्रतिवद्धता र त्यसमा फरकमत राख्ने प्रचण्ड लगायत पूर्व माओवादी र भीम रावलहरुको खेमालाई समुचित न्याय दिंदा अग्नि सापकोटाको विवेकको परीक्षा मात्रै हुने छैन, उनको देशभक्तिको मात्रा पनि न्यायको तराजुमा जोखिनु पर्नेछ ।

अग्निको सभामुख यात्राले द्वन्द्वकालीन मुद्धाको जमिनमा डलर खेती गर्नेहरुको ठूलो तप्का उसै पनि बिच्किएको छ । युद्धकालीन मुद्धाहरुको बिस्कुन लाएर उनको आलोचना र विरोधमा डलरवादी तप्का सामाजिक संजाल र मिडियामा विरोधको खेती लाउन थालिसकेको छ । यसबेलामा उनले आफ्नो पदीय जिम्मेवारी र दायित्व नमूना लायक बनाउन असीमित मेहनेत गर्नु नै पर्नेछ । तैपनि उनलाई सफल कार्यकालको शुभकामना दिनु अन्यथा हुने छैन । यसै अर्थमा पेश्कीमा नै सही शुभकामना सम्माननीय अग्नि अर्थात् नयाँ सभामखज्यू ! समयबद्ध साप्ताहिकबाट