निराश हुँदै फर्किए पौडेल

निराश हुँदै फर्किए पौडेल


पहिलो चरणमा देउवाले ५० प्रतिशत मत कटाउन नसेकपछि  देउवा र पौडेलबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भयो । सिटौला तेस्रो मत ल्याएर रिङ आउट भइसकेका थिए । रिङ आउट भएका सिटौलाले जसलाई साथ दिन्छन्, उसैले सभापति पदमा चुनाव जित्ने अवस्था आएपछि दोस्रो चरणको मतदानको बिहान भारतीय दुतावासले  देउवा र सिटौलालाई होटल ¥याडिसनमा बोलायो । डा. बाबुराम भट्टराईलाई साक्षी राख्दै देउवा र सिटौलाबीच सम्झौता गरायो । देउवा सम्झौता मान्न तयार भए । सिटौलाले विज्ञप्ति नै निकालेर देउवालाई साथ दिए ।  


काठमाडौं । पार्टीभित्रको विवादलाई थाती राख्दै अघिल्लो सोमबार दिल्ली प्रस्थान गरेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ज्यादै निराश हुँदै गत शनिबार स्वदेश फर्केका छन् । समाचार स्रोतका अनुसार आगामी १४ औं महाधिबेशनका क्रममा सभापति पदका लागि भारतको ग्रिन सिग्नल लिन कांग्रेसका वरिष्ठ नेता पौडेल दिल्ली गएका हुन् । तर दिल्लीले उनलाई खासै रेस्पोन्स गरेन । 

 गृहमन्त्री अमित शाह, प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित दोवाल, ‘रअ’ का प्रमुख लगायतसँग भेटघाट गर्ने कार्यक्रम तय गरेर उनी दिल्ली प्रस्थान गरेका थिए । तर, रक्षामन्त्री राजनाथ सिँहसँग करिव पाँच मिनेट औपचारिक भेट गर्ने वाहेक पौडेलले कुनै अवसर पाएनन् । हुन त रक्षामन्त्री सिँह सत्तारुढ भारतीय जनता पार्टीका पूर्व अध्यक्ष हुन्, तर पार्टी  तथा सरकारमा उनको खासै प्रभावशाली भूमिका छैन । समाचार स्रोतका अनुसार पौडेलसँग  भारतका प्रभावशाली नेताहरुको भेटघाट नहोस् भन्नका लागि सभापति शेरबहादुर देउवाले काठमाडौंबाटै चलखेल गरेका थिए । 

भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित दोवाल र सभापति देउवाबीच विशेष सम्बन्ध छ । भारतको ग्रिन सिग्नल जसले पायो उसैले सभापति पदमा चुनाव जित्छ भन्ने मान्यता नेपाली कांग्रेसभित्र छ । नेपाली कांग्रेसको हरेक महाधिवेशनमा भारतीय हस्तक्षेप  हुने गरेको छ । गत १३ औं महाधिबेशनमा पनि देउवालाई सभापति पदमा चुनाव जिताउन भारतले सिधै हस्तक्षेप गरेको थियो । सुरुमा पौडेल पक्षबाट कृष्णप्रसाद सिटौलालाई फुटाएर प्यानल नै बनाइदिएको थियो भने अर्जुननरसिंह केसीलाई देउवा प्यानलमा लगेर महामन्त्रीको उमेदवार बनाइदिएको थियो । 

यति हुँदाहुँदै पनि  पहिलो चरणमा देउवाले ५० प्रतिशत मत कटाउन नसेकपछि  देउवा र पौडेलबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भयो । सिटौला तेस्रो मत ल्याएर रिङ आउट भइसकेका थिए । रिङ आउट भएका सिटौलाले जसलाई साथ दिन्छन्, उसैले सभापति पदमा चुनाव जित्ने अवस्था आएपछि दोस्रो चरणको मतदानको बिहान भारतीय दुतावासले  देउवा र सिटौलालाई होटल ¥याडिसनमा बोलायो । डा. बाबुराम भट्टराईलाई साक्षी राख्दै देउवा र सिटौलाबीच सम्झौता गरायो । देउवा सम्झौता मान्न तयार भए । सिटौलाले विज्ञप्ति नै निकालेर देउवालाई साथ दिए ।  

सभापति पदमा चुनाव जितिसकेपछि देउवाले भारतलाई अनुकूल हुने गरी काम गर्न सकेनन् । भारत रिसायो । सिटौला र अर्जुननरसिंह केसीलाई भारतले देउवा क्याम्पबाट फिर्ता गरिदियो । देउवासँग भारत बेखुस रहेका कारण आफूले ग्रिन सिग्नल पाइहाल्छु कि भन्नेमा वरिष्ठ नेता पौडेल आशावादी छन् । तर देउवालाई जसले सजिलै पछार्न सक्छ उसैलाई ग्रिन सिग्नल दिने पक्षमा भारत रहेको समाचार स्रोतले जनाएको छ । स्रोतका अनुसार देउवाले फेरि भारतसँग कम्प्रोमाइज गरेर विगतमा जस्तै आफ्नो  पक्षमा ग्रिन सिग्नल लिने सम्भावना पनि त्यतिकै छ ।

 

यता कोइराला परिवारले पनि त्यही अनुसार रणनीति तय गर्ने बुझिएको छ । यदि देउवाले भारतसँग ग्रिन सिग्नल लिए भने कोइराला परिवारले फेरि पनि पौडेललाई नै उमेदवार हुने मौका दिनेछ । यदि देउवाले भारतको ग्रिन सिग्नल लिन सकेनन् भने महामन्त्री डा. शशांक कोइराला र नेता डा. शेखर कोइरालामध्ये एक जना सभापति पदमा उमेदवार हुनेछन् । पौडेल रिङ आउट हुनेछन् ।  भारतले कृष्णप्रसाद सिटौला, अर्जुननरसिँह केसी, विजय गच्छदार र प्रदीप गिरिको कुरा धेरै सुन्ने गर्छ । यी चारै जना हस्ती यतिबेला न देउवासँग छन्, न पौडेल सँग न त कोइराला परिवारसँग । समयबद्ध साप्ताहिकबाट