सिन्धुली कारागार: मान्छेहरू फेरिए तर कारागार कहिल्यै फेरिएन !

सिन्धुली कारागार: मान्छेहरू फेरिए तर कारागार कहिल्यै फेरिएन !

सिन्धुलीमाढी । सिन्धुली जिल्ला कारागार निर्माण भएको वर्ष हेर्दा जति पुरानो लाग्छ, यसको अहिले अवस्था हेर्दा त्यस्तै जीर्ण देखिन्छ । २०२९ सालमा निर्माण भएको भनिएको कारागारले ४७ वर्ष पूरा गरेको छ, तर यति लामो अबधिमा कारागार सुधारमा कुनै परिवर्तन आएन, बरु झन जीर्ण र त्यहाँ बस्ने कैदी बन्दीहरुको दैनिक जीवन अझ कष्टकर बनिरहेको छ । 

भन्ने गरिन्छ, कारागार यातना गृह होइन, सुधार गृह हो । तर, सिन्धुली जिल्ला कारागारको अवस्थालाई भित्र पसेर नियाल्ने हो भने लाग्छ, कारागार नागरिकलाई यातना दिनकै लागि निर्माण गरिएको हो । 

नेपालको राजनैतिक आन्दोलनको इतिहासलाई हेर्ने हो भने कारागार कम्युनिस्ट उत्पादन गर्ने कारखाना मानिन्छ । राणा बिरोधी आन्दोलन होस् वा निरंकुश पञ्चायती व्यवस्थाको आन्दोलन वा नेकपा माओवादीले गरेको सशस्त्र जनयुद्धनैं किन नहोस्, त्यसमा लागेकाहरु तत्कालीन शासकहरुको क्रूर यातनाबाट प्रताडित भएकाहरु अहिले सत्ता राजनीतिमा माथिल्लो तहमै छन् । तर, त्यही यातना गृहमा बसेका हाम्रा राजनेताहरुले आफूले भोगेको पीडादायी स्थानको अबस्थाबारे बेखबर बनिरहेका छन् । 

५० जना पुरुष बन्दीको मात्रै क्षमता रहेको यो कारागारमा एक सय ५५ कैदी बन्दी कोचाकोच राखिएका छन् । कारागार व्यवस्थापन विभागको अभिलेखमा सिन्धुली कारागारमा महिला बन्दी राख्ने ठाउँ नै छैन । तर, स्थानीय प्रशासनले कारागारको सुरक्षाका लागि खटिने प्रहरीलाई खाना बनाउनका लागि बनाएको अँध्यारो र कहिल्यै घाम नछिर्ने कोठामा दुई महिने सुत्केरी र शिशुसहित पाँच महिलाहरुलाई राखिदैं आएको छ । 

पुस माघको कठाङ्ग्रिने चिसो होस् वा चैत बैशाखको हावा हुण्डरी नै किन नहोस् ती महिलाहरुको दैनिकी कष्टकर बन्दै आएका छन् । अझ माघकोे कठाङ्ग्रिने चिसोले त बहुबिवाहको अभियोगमा कैद भुक्तान गरिरहेकी सुत्केरी विमलाको पीडा त सुनी साध्यै छैन ।

सिन्धुली कारागारमा बसेर राष्ट्रिय राजनीतिमा ख्याती कमाएकाहरु धेरै छन् तर, कारागारलाई सुधार गृह बनाउने भन्दा पनि यातना गृहकै रुपमा रहिरहन दिने नेताहरुको ‘सोच’ लाई भने आश्चर्यका रुपमै लिनै पर्छ । 

सिन्धुली कारागारमा लामो समय बसेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, विपिन कोइराला, हरिहर विरही, माणिक ढकाल, अर्जुन बराल, आनन्द ढुंगानालगायतका नेताहरुले आफ्नो दल वा आफैं सत्तामा पनि लामै समय बसे । तर उनीहरुले कारागारमा बस्दा पाएको पीडा सत्ताको स्वादले सजिलै बिर्सिए । कारागारमा बस्दा उपचार नभएको भन्दै सबैभन्दा बढी आवाज उठाउने विपिन कोइराला देशकैं स्वास्थ्य मन्त्री बने । तर उनले सिन्धुली कारागारमा बसेर राम्रो स्वास्थ्य उपचार नभएकाहरुको आवाजै सुन्न सकेनन् । अर्थात कारागारमा बसेकाहरु अपराधी हुन् र उनीहरुलाई यस्तै ठाउँमा यसरी राखेमात्रै ठीक पार्न सकिन्छ भन्ने सोचको विकास गराए । 

कारागारमा कांग्रेसका मात्रै होइन, कम्युनिस्टका ठूलठूला नेताहरुदेखि समर्थकसम्मले खचाखच भरिए । तत्कालीन राज्यले गरेको ज्यादतीको विरोध गरेवापत उनीहरुले कारागारभित्रै यातना पनि खेपे । विरोध गरेकै कारण उनीहरुलाई अन्यत्र जिल्लामा सारियो । कारागारमा बसेकामध्ये अधिकांश सत्तामा पनि पुगे । तर आफू बसेको र त्यसलाई सुधार गर्न गरेका आन्दोलनलाई चटक्कै बिर्सिए उनीहरुले पनि ।  

ऋषिराज देवकोटा, ईश्वरी दाहाल, बोधराज काफ्ले, राज्यद्वारा बेपत्ता पारिएका चित्रनारायण श्रेष्ठ, शंकरनाथ शर्मा, गंगा नेपाल, दीर्घराज श्रेष्ठ, राजन दाहाल, गंगा श्रेष्ठ, उमा देवकोटा, खड्ग खत्री, प्रदीप कटुवाल, बद्री दाहाल, कमल दाहाल, यमकुमार देवकोटा मात्रै होइन जनयुद्धका क्रममा उनीहरुलई भात र बास दिएकै भरमा दर्जनौं सर्वसाधारणले पनि सिन्धुली कारागार खचाखच भरिएको थियो । भात र बास दिएकै भरमा कारागार पु¥याइएकाहरुलाई राज्यले दिएको यातनाले पछि माओवादी जनयुद्धका पक्षमा बलियो खम्बाका रुपमा उभ्यायो पनि । त्यही कारागारमा बसेर सत्ता राजनीतिमा बलियो बनेकाले एक निमेष पनि आफू बसेको र दुःख पाएको कुरा संझनै सकेनन्, फलस्वरुप नेता बलिया र कारागार जीर्ण बनिरह्यो ।

अहिले पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता यही कारागारमा बन्दी जीवन बिताइरहेका छन् । कारागार निर्माणभएसँगै पटकपटक व्यवस्था बदलियो, तर कारागारमा राखिने मानिसहरुलाई गरिने व्यवहार अहिलेसम्म बदलिएन, विप्लव कार्यकर्ता शशी राई भन्छन्ः सिन्धुली कारागार कम्युनिस्ट उत्पादनको थलो थियो, यही थलोमा बसेर गएकाहरु देशको मन्त्री भए, तर कारागारलाई सुधारगृह बनाउने भन्दा यातनागृहकै रुपमा यथास्थितिमा राख्ने काम मात्रै उनीहरुले काम गरिरहे । 
कागारमा ४० वर्ष अगाडिकै खानेपानी र स्वास्थ्य उपचारको समस्या यथावत छ । बैसट्ठी त्रिसट्ठीको आन्दोलनपछि भने कारागारमा एक जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको छ, तर दरबन्दीमा बस्ने मानिस छैनन् ।  महिनौं भयो उनी समायोजनमा परें भन्दै हिंडेको तर अहिलेसम्म आएनन्, जेलर मातृका पडाहीले भने । राजनैतिक दलका नेताझैं प्रस्तुत भएका उनले भने–यही कारागारमा बसेर गएकाहरु मन्त्री भए, तर कारागारको पीडादायी कोठरीमा बसेर गएकाहरुले  आफूले भोगेको पीडालाई चटक्कै विर्सिए । पहाडीका अनुसार अहिले सरकारले कैदी बन्दीलाई उपलव्ध गराएको रकमले पुग्दैन, महंगी असाध्यै बढेको छ, तर पनि उनीहरु आफ्नो पेटलाई बाँधेर बसिरहेका छन् ।

६० रुपैयाँ नगद र सात सय ग्राम चामल कैदी÷बन्दीहरुले पाउँदै आएका छन् । ६० रुपैयाँले दाउरा, नुन, तेल, दाल,मसला, तरकारी, चिनी, चिया, सावुन, सरफ लगायतका दैनिक उपभोग्य वस्तु खरिद गर्न राज्यले दिएको रकमले पुग्दैन, जेलर पहाडीले भने । 
हामीले त राज्यले दिएको रकम मात्रै दिने हो, पटकपटक सोही विषयलाई लिएर कुरा नउठाएको पनि होइन, तर त्यो रकमल उनीहरुको दैनिकी चल्दैन, जेलर पहाडीको भनाइ छ । समयबद्ध साप्ताहिकबाट