अझै पनि बिचौलियाकै कब्जामा बैंकिङ क्षेत्र 

अझै पनि बिचौलियाकै कब्जामा बैंकिङ क्षेत्र 

काठमाडौं । चालू आर्थिक वर्षको गएको पाँच महिनामा देशको आर्थिक अवस्थामा त्यति सहज देखिएको छैन । यस अवधिमा आम उपभोक्ताको अवस्था प्रायः नाजुक नै रहेको आइतबार सार्वजनिक भएको एक प्रतिवेदनले देखाएको छ । बैंकका उपभोक्ता हुन् वा अन्य क्षेत्रका आम उपभोक्ता सबैले मार खेप्न परेको देखिएको छ । त्यसो त बैंक तथा वित्तीय क्षेत्र नाफा कमाउनका लागि अनुत्पादक क्षेत्रमै लगानी केन्द्रित गरेको देखिन्छ ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार काठमाडौँ उपत्यकामा ७.६० प्रतिशतको हाराहारीमा मूल्यवृद्धि भएको छ । गत वर्ष सो अवधिमा उपत्यकाको उपभोक्ता मुद्रास्फिति मात्रै ३.६८ प्रतिशत रहेको थियो । यस्तै तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फिति रहेको छ । आव २०७५\७६ को मङ्सिरमा तराईमा ३.६५ प्रतिशत पहाडमा ३.८४ प्रतिशत र हिमालमा ४.०५ प्रतिशत मुद्रास्फिति रहेको थियो । आम उपभोक्ताका विषयका कुरा गर्दा बैंक तथा वित्तीय संस्थाले झनै दुःख पाएका छन् । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा आमजनताको लागि सहज देखिएकोे छैन ।

मंसिरसम्मको यस अवधिमा कूल आन्तरिक कर्जा ३.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ९.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा यस्तो कर्जा १४.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.३ प्रतिशतले बढेको छ । 

त्यस्तै बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ४.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १५.६ प्रतिशतले बढेको छ । २०७६ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.१ प्रतिशत, ३२.० प्रतिशत र ४९.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.८ प्रतिशत, ३३.४ प्रतिशत र ४७.५ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १५ प्रतिशतले बढेको छ ।

यस वर्षको मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४.७ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३.६ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । गत वर्षको यस अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३.३ प्रतिशत र १४.६ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ८.० प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ११.१ प्रतिशत, ओभरड्राफ्ट कर्जा २.१ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ४.९ प्रतिशत, डिमान्ड तथा चालू पँुजी कर्जा ७.८ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ६.८ प्रतिशत र हायर पर्चेज कर्जा १.३ प्रतिशतले बढेको छ । 

यस तथ्यांकको विषय कुरा के हो भने बैंक तथा वित्तीय संस्थाको कर्जा उत्पादन क्षेत्रमा होइन, अनुत्पादक क्षेत्रमा परिचालित भएको छ । त्यसले गर्दा देशको वित्तीय क्षेत्र स्थायित्वतर्फ छैन । अझै पनि वित्तीय क्षेत्रले लय लिन सकेको छैन । बैंकको ६५ प्रतिशत लगानी घरजग्गामै लगानी छ तर कृषि क्षेत्रमा लगानी भने १४ प्रतिशतभन्दा माथि पुग्न सकेको छैन । यसले के देखाउँछ भने बैंक तथा संस्था बिचौलियाको चंगुलबाट बाहिर आउन सकेको छैन र आउने प्रयास भएको पनि देखिएको छैन । यसले देशको अर्थतन्त्र सुध्रिने भन्दा पनि तत्कालिन नाफाको बाटो नै समाएका छन् । 

खर्च नहुँदा तरलता प्रवाह हुन सकेन

सरकारले खर्च गर्ने क्षमता वृद्धि गर्न नसक्दा आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा खुला बजार कारोबारमार्फत् कुल रु.३० अर्ब मात्र तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.एक सय अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा रिपोमार्फत रु.३९ अर्ब ५२ करोड र स्थायी तरलता सुविधामार्फत रु.५० अर्ब ५५ करोड गरी कुल रु. ९० अर्ब ७ करोड तरलता प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा स्थायी तरलता सुविधामार्फत रु.पाँच अर्ब ७२ करोड तरलता प्रवाह भएको थियो । 

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंक) बाट अमेरिकी डलर एक अर्ब ४२ करोड खुद खरिद गरी रु.एक सय ६१ अर्ब ९९ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब १० करोड खुद खरिद गरी रु.एक सय २६ अर्ब ६४ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर एक अर्ब ७२ करोड बिक्री गरी रु.एक सय ९५ अर्ब ३२ करोड बराबरको भारतीय रुपैँया खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर एक अर्ब ७४ करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी रु.दुई सय २० अर्ब १६ करोड बराबरको भारतीय रुपैँया खरिद गरिएको थियो ।

उता उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले यस बैंकबाट सहुलियतदरमा प्रदान गरिदै आएको पुनरकर्जा २०७६ मंसिर मसान्तमा रु.१७ अर्ब ५१ करोड लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनरकर्जा रु. १४ अर्ब ४६ करोड र निर्यात पुनरकर्जा रु.एक अर्ब १८ करोड उपयोग भएको छ । भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनकर्जाको बक्यौता २०७६ मंसिर मसान्तमा रु.एक अर्ब ८७ करोड रहेको छ । यस्तो कर्जा एक हजार पाँच सय ९२ जना ऋणीले उपयोग गरेका छन् । 

यी तथ्यांकले बैंक तथा वित्तीयसहित आम उपभोग्य सामग्रीमाथि नियन्त्रण गर्न सक्ने अवस्था देखिएको छैन । बैंकको लगानी उत्पादन क्षेत्रमा लैजान सकिएको छैन । बिचौलिया र नाफाखोर प्रवृत्तिमा नै बैंक तथा वित्तीय क्षेत्र रुमलिएको छ भन्ने प्रष्ट देखाएको छ । समयबद्ध साप्ताहिकबाट