राष्ट्रियसभा निर्वाचनको मतदान शुरु

राष्ट्रियसभा निर्वाचनको मतदान शुरु

राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सबै प्रदेशमा मतदान शुरु भएको छ ।

१० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा भोटिङ शुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ ।

आयोगका अनुसार, प्रत्येक प्रदेशमा मदतानस्थल तोकिएको छ।  मतदान स्थलहरुमा प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन र वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन मतदानस्थल तोकिएको छ ।

यस्तै गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ का मतदाताका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका मतदाताका लागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका मतदाताका लागि दीपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविबाट मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने १९ सांसद्को पदावधि यही फागुन २० मा सकिने भएकोले आज १८ सिटका लागि चुनाव हुँदैछ, १ जनाको सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछ । आजको निर्वाचनको मतदाता भने प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष हुन् ।