अधिकार सम्पन्न गित संगित सेन्सर बोर्ड बनाउँदा हुन्न र ?

अधिकार सम्पन्न गित संगित सेन्सर बोर्ड बनाउँदा हुन्न र ?

फणीन्द्र फुयाल ज्वाला

काठमाडौं । गित संगित समाजको ऐना हो । गित संगितले समाजमा रहेका हरेक प्रकारका बिकृति, र बिसंगतिको अन्त्य गर्दै समाज रुपान्तरणमा अग्रगामी भूमिका खेल्नुपर्छ । गित संगितले व्यंग्यात्मक र आलोचनात्मक सुझाव पनि दिने गर्नुपर्छ । केवल सस्तो माया प्रितीका शव्दहरु बुनेर तयार पारिएका गित कालजयी हुन सक्दैनन् । यी त खहरे खोला जस्तै हुन्छन् जो एकैछिन गडगडाएर बग्छन र केही दिनपछि कमिलाले पनि चुनौती दिन्छन् । गित संगित कालजयी हुन त्यसमा चेतना, जागरण, र ध्वस्त होइन निर्माण र अग्रमनका सन्देश हुनुपर्छ । 

तर, आजकल गायक तथा कलाकारहरुले गित संगितलाई समाज रुपान्तरणका रुपमा नलिई अर्थ आर्जनलाई मात्र पहिलो प्राथमिकतामा राख्दा नेपाली समाज उच्छृंखल, उत्ताउलो, अराजक, अनि भड्किलोतर्फ उन्मुख हुँदै गएको भान हुन थालेको छ । इन्टरनेटकोे पुहँच र यसको व्यापकतासँगै बिशेषतः सामाजिक सञ्जालहरु यूट्युव र फेसबुकमा सस्तो लोकप्रियता कमाउने हिसावले समाजप्रति गैरजिम्मेवार, अश्लिल र परिवारका सदस्यहरुबीच सँगै बसेर हेर्न र सुन्न पनि लाज लाग्ने खालका गितहरु ‘अपलोड’ हुनु र यसको निगरानीमा सरकारले बेवास्ता गर्नु अत्यन्तै दुःखद पक्ष हो ।

नेपालको संविधाको मौलिक हक अन्तर्गत घारा १७ मा निर्वाधपूर्वक बोल्न पाउने हक, भेला हुन पाउने लगायतका हक उल्लेख गरिएको छ भने धारा १९ मा सञ्चारको हक उल्लेख छ । सञ्चारको हक अन्तर्गत कुनै पनि सामग्री प्रकाशन तथा प्रसारण गर्नुपूर्व उक्त सामग्रीमाथि पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था उल्लेख गरिएको छ । त्यसैगरी कुनै पनि सामग्री प्रकाशन तथा प्रसारणबापत प्रेस तथा सञ्चारगृह बन्द तथा जफत गर्न नपाइने व्यबस्था उल्लेख छ । तर त्यो संवैधानिक अधिकार प्राप्त भयो भन्दैमा संगि मार्फत समाज बिगार्न र उत्ताउलो अनि भड्किलो बनाउन कुनै नागरिकलाई पछि छुट छैन । गित संगित र भिडियो सामाग्रीहरु अझै यस्तै उत्ताउला बनाउन छुट दिने हो र यसलाई सेन्सर नगर्ने हो भने देशमा बलात्कार, हत्या, हिँसा, भ्रष्टाचार जस्ता कुकृत्यहरु झन मौलाउँदै नजालान भन्न सकिँदैन ।

पत्रपत्रिका, रेडियो, टेलिभिजन, समाचार समिति, टेलिकम, न्यूनतम पारिश्रमिक निर्धारण समिति, चलचित्र विकास बोर्ड, चलचित्र सेन्सर बोर्ड सञ्चार मन्त्रालयअन्तर्गत रहेका छन् । समाजमा देखापरेका हरेक विकृति समाधान गर्नका लागि सरकारले नैं पहिलो कदम चालेर त्यसको उचित मार्ग समात्नु पर्छ ।

जसरी चलचित्र सुटिङका क्रममा तयार पारिएको सामग्री आम दर्शकसामु प्रदर्शन गर्नुपूर्व सेन्सर बोर्डबाट पास गराएर मात्र प्रदर्शन गर्ने नियम कानून छ । त्यसैगरी कुनै पनि गित संगित बजारमा ल्याउनु पूर्व पनि त्यसको भाव, मर्म र म्युजिक भिडियो ‘भिजुअल’ कस्तो छ ? त्यसले समाजमा नकारात्मक भाव पैदा गर्छ कि सकारात्मक चेत भर्ने काम गर्छ ? त्यसको अध्ययन गर्नु जरुरी छ । त्यसका लागि सरकारले अधिकार सम्पन्न गीत संगीत सेन्सर बोर्ड गठन गर्न ढिला भएको हो कि भन्ने अशंका र प्रश्न एकैसाथ उब्जाएको छ । 

लामो समय देशमा एकमात्र रेकर्डिङ स्टुडियो रेडियो नेपाल मात्र हुँदा त्यसले गुणात्मक क्षमता भएका कलाकार उत्पादन गर्थ्यो । रेडियो नेपालले स्वर परीक्षा लिन्थ्यो र उत्तीर्ण कलाकारले मात्र गीत रेकर्ड गर्न पाउँथे । तर, अहिले छ्याप्छ्याप्ती रेकर्डिङ स्टुडियो खुलेसँगै साधना, स्वर र कला नभएका ‘कलाकार’हरुको हावी हुँदै गएको छ । त्यस्ता ‘कलाकार’ले देशलाई केही योगदान दिनुको सट्टा उल्टै देशको बदनाम गरिरहेका छन् । अधिकार खाज्नेहरुले नै कर्तव्य पालना गरेका छैनन् ।

यहाँ व्यक्ति नैं तोकेर को कलाकार कस्तो र कुन कलाकारले कस्तो गीत गाएको छ भनेर चर्चा गर्नुभन्दा पनि समाजिक सञ्जाल फेसबुकमा बिभिन्न नामका पेज बनाएर त्यहाँ अनेक उच्छृंखल खालका हर्कत, गोप्य अंगहरु प्रदर्शन गरेका, उत्ताउला, भड्किला र लाजमर्दौ खालका भिडियोहरु ‘पोष्ट’ गरेका देखिन्छन् । त्यसैगरी युट्युवमा पनि केही कलाकारले जिल्ला महोत्सवमा गाएका अभद्र, अशोभनीय, अश्लिल प्रकारका गीतहरु ‘पोष्ट’ गरिएको पाइन्छ । यसले गर्दा विशेषगरी ‘टिन एज’ भर्खरै प्रवेश गरेका र पार गर्न लागेका युवा युवतीहरु त्यस्ता गित संगिततर्फ आकर्षित हुने र उनीहरु गैरक्रियाकलापमा सामेल हुन सक्ने देखिन्छ । 

स्वभावैले किशोरावस्था भनेको निकै कौतुहल, जसले जे भन्यो त्यही गर्न खोज्ने, जे देख्यो त्यही सिक्न खोज्ने स्वभावको हुन्छ । यदि गित संगितको माध्यमबाट आजका किशोराबस्था र भोलिका युवा अवस्थाको मन मस्तिष्कमा सकारात्मक चेत, राष्ट्रभक्तिको भाव अनि समाजसेवी सोंच भरिदिन सक्ने हो भने यो मुलुक समृद्ध राष्ट्र बन्ने छ र संविधानमा उल्लेख भए जस्तै समाजवादउन्मुख हुनका दुईमत नरहला । 

केही कलाकारलाई राष्ट्र र जनताको निम्ति जनचेतनामूलक गित संगित गाउँदा गाउँदै राज्यद्वारा जेल नेलको सजाय दिएको र भूमिगत हुन बाध्य पारिएको पनि हामीले बिगत राणा, पञ्चायतकाल र राजको प्रत्यक्ष शासानकालमा देखे सुनेकै हौँ । विशेषगरी पञ्चायती शासनका बिरुद्ध, जनताको अधिकार खोसेर राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएका बखत र तत्कालिन नेकपा (माओवादी)ले जनयुद्ध गरेका बेला चेतनाका स्वरहरु गाउँ बस्तिमा, गोठ, पँधेरा र झुपडीहरुमा घन्किने गर्दथे । 

शासक बिरुद्ध जनता जागरुक बनाउन, कुप्रथा, कुसंस्कृती, बिक्रिति र बिसंगतिका बिरुद्ध गित संगितहरु सशक्त रुपले जन्माइनु पर्छ । तर गित, संगित र भिडियोहरु सिर्जना गर्न र उत्पादन गर्न राज्यले दिएका छुट र स्वतन्त्रालाई कुनै पनि कलाकार तथा राष्ट्रभक्त नागरिकले दुरुपयोग गर्न हुँदैन । गित संगितका नाममा जस्तासुकै आपत्तिजनक, दुईअर्थी, समाजलाई अपाच्य हुने शव्दहरु भने जवर्जस्ती थोपर्न भने कसैलाई पनि छुट छैन ।