सभामुख अग्निप्रसाद सापकोटाद्वारा शपथ ग्रहण

 सभामुख अग्निप्रसाद सापकोटाद्वारा शपथ ग्रहण


काठमाण्डौ, १३ माघ । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख सापकोटालाई सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानअनुसार राष्ट्रपतिबाट शपथ लिएका हुन् । 

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सहभागिता रहेको थियो । 

त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिगण, सांसद, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो ।

यसैबीच सापकोटामाथि सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि सोमबार नै सुनुवाइ हुँदैछ । गएको शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख बनाउन नहुने भन्दै दायर गरेको रिटमा अधिवक्ता सपना प्रधान मल्लको इजलासमा सुनुवाइ हुने भएको हो ।