लोकतान्त्रिक प्रकृयामा विरोध र समर्थन हुनु स्वभाविक
काठमाण्डौ, १३ माघ । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो विरुद्ध भइरहेको विरोध प्रदर्शनलाई स्वभाविक रुपमा लिएको बताएका छन् ।
सपथग्रहणपछि पत्रकारहरुसँगको कुराकानीमा सभामुख सापकोटाले आफ्ना विरुद्ध सडकमा भइरहेको प्रदर्शनलाई स्वभाविक रुपमा लिएको बताएका हुन् । सभामुख सापकोटाले लोकतान्त्रिक प्रकृयामा विरोध र समर्थन हुनु स्वभाविक भएको बताए। ‘यो लोकतन्त्र हो, लोकतान्त्रिक प्रकृयामा चलिरहने प्रकृयाको हो भनेर मैले यसलाई लिएको छु’, उनले भने ।
सापकोटा सभामुखमा निर्वाचित भएसँगै मानवअधिकारवादीहरुले विरोध जनाइरहेका छन् । सोमबार मात्रै सभामुख सापकोटा विरुद्ध प्रदर्शनमा उत्रेका केहीलाई प्रहरीले पक्राउ गरेको छ ।
सापकोटाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने विषयमा सबै सांसदहरुको धारणा समेटेर अगाडी बढ्ने बताए। एमसीसीका विषयमा बाहिर बहस चलिरहे पनि आफूले अध्ययन गर्नै बाँकी रहेको र अध्ययनपछि मात्रै केही भन्न सक्ने अवस्था हुने उनले बताए ।
प्रधानमन्त्रीलाई भेट्न कुदेर गएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको विषयमा सापकोटाले यसलाई अन्यथा नलिन आग्रह गरे । सपथग्रहणपछि सबैको साझा भए पनि सभामुख बनाउने पार्टीको अध्यक्ष, दलको नेतालाई भेट्नु स्वभाविक भएको उनको भनाई छ ।
संसदको मूल्य मान्यता अुनसार नै आफूले प्रधानमन्त्रीलाई भेटेको र सुरुमा उहाँबाट नै बधाई लिन चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘आज मैले सपथ ग्रहण गरे र आजबाट म सबैको साझा भए । यो भन्दा पहिले मेरा लागि प्रधानमन्त्री मात्र होइन् उहाँ मलाई सभामुख बनाउने पार्टीको अध्यक्ष र दलको नेता पनि हो । संसदमा त्यतिबेला मैले प्रधानमन्त्रीबाट बधाई लिन सुरु गर्न खोजेको थिए । यो स्वभाविक हो । संसदीय मूल्य, मान्यता र पद्धतिको गरिमासँग मेल खान्छ ।’’
प्रतिक्रिया