सभामुख बनेको तीन घण्टामै सापकोटाको चिनियाँ राजदूतसँग भेटवार्ता, यस्तो भयो छलफल...
काठमाडौं, १३ माघ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीबीच शिष्टाचार भेटवार्त भएको छ ।
उनीहरुबीच सभामुखको कार्यकक्ष सिंहदरबारमा सोमबार आधा घण्टा भेटवार्ता भएको हो। शिष्टाचार भेटमा राजदूत हउ यान्छीले चिनियाँ जनकंग्रेस (संसद) का अध्यक्ष ली झान्सुले पठाएको लिखित बधाई तथा शुभकामना सन्देश सभामुख सापकोटाज्यूलाई प्रदान गरिन् ।
सभामुख सापकोटाले शुभकामनाका लागि धन्यवाद दिँदै नेपाल र चीनबीचको सरकार–सरकार, जनस्तर र संसदबीचको सम्बन्ध भोलिका दिनमा अझै प्रगाढ हुने विश्वास व्यक्त गरे । विगतमा पनि नेपालको संसद र चिनियाँ जनकंग्रेसका बीचमा सम्बन्ध रहीआएको प्रसंग उल्लेख गर्दै दुवै देशका संसदीय मैत्री समूहका माध्यमबाट सम्बन्ध अझै बिस्तार गर्ने विश्वास दिलाए ।
सभामुख सापकोटाले चीनमा पछिल्लो समय फैलिएको कोरोना भाइरस र त्यसलाई नियन्त्रणमा लिन राष्ट्रपति सी जिनफिङसहित चीन सरकारले गरेको प्रयासको सराहना गर्दै नेपाल पनि यस सन्दर्भमा चीनको साथमा रहेको बताए ।
नेपाल चीन संसदीय मैत्री समूहको नेतृत्व नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नै नेतृत्व गर्नुले पनि दुई देशका संसदबीचको सम्बन्ध प्रगाढ रहेको सन्देश दिएको सभामु सापकोटाले बताए । सापकोटाले आगामी मार्चमा हुन गइरहेको चिनियाँ जनकंग्रेसको संयुक्त सम्मेलनको सफलताका लागि शुभकामना दिए ।
राजदूत हउ यान्छीले चिनियाँ जनकंग्रेसका अध्यक्षज्यूको तर्फबाट सभामुख सापकोटालाई चीन भ्रमणको निम्तो दिइन् । सभामुखको कार्यकाल सफलताको शुभकामना तथा बधाई दिँदै शपथ ग्रहण गरेको तीन घण्टाभित्रै शिष्टाचार भेटका लागि समय दिएको राजदूत हउ यान्छीले सभामुखलाई धन्यवाद दिइन्। राजदूतले यान्छीले दुई देशका संसदको बीचमा सम्बन्ध बिस्तार गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कोरोना भाइरसका कारण चिनियाँ पर्यटक नेपाल आउने कुरामा कमी आउन नदिन र नेपाल भ्रमण वर्षलाई असर पर्न नदिन चीन सरकार सचेत रहेको राजदूत हउ यान्छीले बताइन् ।
प्रतिक्रिया