ग्यास भन्दा बिजुलीमा खाना पकाउन सस्तो हुने गरी नयाँ दर तोक्दै प्राधिकरण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ग्यासमा खाना पकाउनु भन्दा बिजुलीमा सस्तो हुने गरी बिजुलीको नयाँ महशुल दर तोक्न लागेको छ । हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्ने विषयमा प्राधिकरण सञ्चालक समितिले बैठक गरी एक प्रस्ताव अगाडि बढाएको हो ।
यो प्रस्तावलाई प्राधिकरणले मगंलबार विद्युत् नियमन आयोगमा पठाउने भएको छ । सो प्रस्तावमा १० युनिटसम्म खपत गर्ने आम नेपालीका लागि निःशुल्क व्यवस्था गर्न लागिएको हो । १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको संख्या आठ लाख जति रहेको छ ।
प्राधिकरण सञ्चालक समितिका सदस्यहरूका अनुसार बिजुली महसुल दरलाई आठ किसिमले वर्गीकरण गरिएको छ । बिजुलीको घरपरिवार उपभोगमा बृद्धि गराउने उद्देश्यले यो महशुल दरको प्रस्ताव गरिएको हो ।
प्रस्तावित नयाँ दर ११ युनिटदेखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि १५० र १५१ देखि २००, २०१ देखि ४०० र ४०० देखि माथि गरी आठ वर्गीकरण गरिएको छ ।
गार्हस्थ्य उपभोक्ताले उच्चतम प्रति युनिट १३ रूपियाँसम्म तिर्दै आएकोमा यो दरलाई घटाउने निर्णय गरिएको छ । आगामी ५ वर्ष भित्र गार्हस्थय उपभोक्ताको वार्षिक खपत ७०० युनिट पु¥याउने गरी योजना बनाइएको छ ।
अहिले प्रतिव्यक्ति वार्षिक युनिट २४६ युनिट रहेको छ । यो आर्थिक वर्षको अन्त्यसम्म ४२६ युनिटसम्म बढाउने लक्ष्य लिइएको छ । प्राधिकरणले यो आर्थिक वर्षभित्र ४० जिल्लामा पूर्ण विद्युतीकरण गर्ने योजना पूरा गर्नेछ ।
यो वर्ष नै थप तीन लाख ५० हजार घरपरिवारमा बिजुली लक्ष्य पूरा गर्ने योजना छ । अहिलेको भन्दा ४० प्रतिशत सस्तो हुने गरी बिजुली दर तोक्न लागिएको हो । यसबाट खपत बढी भएर लाभ बढी लिने योजना रहेको छ ।
सरकारले खाना पकाउन प्रयोग हुने एलपी ग्यास खपत घटाएर बिजुली चुलो प्रयोग गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । शहरी क्षेत्रका डेरावाल एकल परिवारले इन्डक्सन चुलो प्रयोग गर्दा मासिक करिब ५० युनिट खपत हुने अनुमान प्राधिकरणको छ । यस आधारमा ग्यास खपत गर्नुभन्दा बिजुलीको खपत सस्तो हुने गरी नयाँ दर तोकिएको प्राधिकरणका अधिकारीहरूको दाबी रहेको छ ।
प्रतिक्रिया