एकताको डेढ वर्षपछि नेकपाको केन्द्रीय समिति बैठक सुरु
काठमाण्डौ, १५ माघ । पार्टी एकता भएको डेढ वर्षपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठक काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रय सभागृहमा बुधबारदेखि सुरु भएको हो ।
नेकपाको गएको मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरे बमोजिम बैठक बसेको नेकपाका एक सचिवालय सदस्यले बताए ।
केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
यस्तै महासचिव विष्णुप्रसाद पौडेलले साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने र सातै प्रदेशका अध्यक्षहरूले आ–आफ्नो प्रदेश कमिटिको साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको पार्टी स्रोतले जनाएको छ ।
विसं २०७७ चैतको मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने स्थायी कमिटीले पेस गरेको प्रस्ताव केन्द्रीय कमिटीमा रहने छ ।
यसअघि गएको पुस २३ मा बस्ने भनिएको बैठक राष्ट्रिय सभाको निर्वाचनका कारण सारिएको थियो ।
विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाल) र नेकपा (माओवादी केन्द्र) बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो । पहिलो बैठकमा केन्द्रीय सदस्यलाई शपथ खुवाइएको थियो । त्यसयता बैठक हुन सकेको छैन ।
पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक ६ महिनामा एक पटक बस्ने व्यवस्था भए पनि डेढ वर्षमा पहिलो पटक बसेको हो । विधानमा २५ प्रतिशत सदस्यले लिखित माग गरेको अवस्थामा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र बस्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया