'एमसीसीमा नेपाललाई अपमान गर्ने र होच्याउने कुनै कुरा छैन'

'एमसीसीमा नेपाललाई अपमान गर्ने र होच्याउने कुनै कुरा छैन'

काठमाडौं, १५ माघ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले एमसिसीअन्तर्गत नेपालले करिब ५५ अर्ब रुपैयाँ (९५ सय मिलियन डलर) अनुदान प्रापत हुने बताएका छन् । यसमा नेपालले पनि १३० मिलियन डलर खर्च गर्नुपर्ने प्रावधान रहेको ओलीको भनाई छ ।
काठमाडौंमा बुधबारदेखि सुरु भएको नेकपाको केन्द्रीय समिति बैठकमा उनले सो रकम ५ वर्षभित्रमा विभिन्न आयोजनामा खर्च गरिसक्नुपर्ने प्रावधान रहेकाले यसमा कुनै शंका गर्नु नपर्ने बताए। प्रशारणलाइन तथा सडकका आयोजनामा सो रकम खर्च हुने र ५ वर्षभित्र खर्च नभए स्वतः फिर्ता जाने प्रावधान यसमा रहेको उनले बताए।

यो रकम सैन्य र हातहतियार क्षेत्रमा खर्च गर्न नपाइने प्रावधान रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। एमसिसीमा नेपाललाई अपमान गर्ने वा होच्याउने कुनै कुरा नरहेको र इन्डोप्यासिफिक रणनीतिसँग पनि कुनै सम्वन्ध नरहेको उनले बताए।

यो कार्यक्रम अस्वीकार गर्न नेपालले पनि सक्ने र अमेरिकाले पनि रद्द गर्न सक्ने व्यवस्था रहेको भन्दै उनले एमसिसी नेपालका लागि एउटा अवसर भएको उल्लेख गरे। 

‘सुशासन, स्वतन्त्रता, प्रजातान्त्रिक अभ्यास गरेका आधारमा विश्वका मुलुकहरु एमसिसीका लागि छनौट हुने हो’ प्रधानमन्त्री ओलीले भने। नेपाल स्वतन्त्रता, मानवअधिकार, सुशासन र लोकतान्त्रिक अभ्यासमा रहेकाले एमसिसीमा छनौट भएको उनले बताए । उ(नले एमसिसीमा नेपालसहित ४९ मुलुक छनौट भएको बताउँदै एमसिसी परियोजनामा २०७४ भदौ २९ गते एमसिसी र नेपाल सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले हस्ताक्षर गरेको स्मरण गराए ।