शेयरबजारमा उछाल आउनुको कारण यस्तो !

शेयरबजारमा उछाल आउनुको कारण यस्तो !

शेयरबजारमा आज पनि उछाल आएको छ । नेप्से परिसूचक दोहोरो २१ अंक बढ्दा कारोबार रकम पनि २ अर्ब सात करोड माथी भएबाट नेप्से अझै उक्लिन खोजीरहेको छ । आजको कारोबारमा विशेषगरी बैंकिङ्ग इन्डेक्सले बजार लिड गरिरहेको देखिएबाट पनि नेप्सेको दिगो बृद्धिलाई टेवा पुगेको देखिन्छ । भन्ने गरिन्छ जवसम्म बैकिङ्ग इन्डेक्स उचालिँदैन तवसम्म नेप्सेको बृद्धिलाई दिगो मान्न सकिँदैन अर्थात् बुल आएको हो भन्न सकिँदैन । 

यस अगाडीको नेप्सेको चरित्र हेर्नेहो भने इन्डेक्स बढ्न खास कुनै कारण चाहिँदैन । विना खास कारण नै नेप्सेमा बुल आएको देखिन्छ । यो बेलामा पनि त्यस्तो खासै कारण भने छैन । यस अघि विनाकारण नै नेप्सेमा बृद्धि आएकोले त्यो बृद्धि दिगो हुन सकेन । यस पटक पनि त्यसकै निरन्तरता बुझ्न सकिन्छ । 

विशेषगरी यसअघिका बुल ०५७, ०६३ र ०७३ साललाई  हेर्नेहो भने त्यतिबेलाको बुललाई अर्थतन्त्रले सहयोग नगरेको कारण फेरी शेयर बजारमा करेक्सन भएको देखिन्छ । त्यतिखेर पनि बैंकहरुले लगानी गर्ने उपर्युक्त अवसर नपाएर उक्त पैसा शेयरबजारतर्फ मोडिएको थियो । अहिलेपनि ठ्याक्कै त्यस्तै अवस्था सृजना हुन लागेको छ । बैंकहरुमा ऋणको माग घट्दो क्रममा रहेको र ब्याजदरसमेत घट्न थालेको र अझै घट्ने अवस्था देखिएपछि चलाख लगानीकर्ता विस्तारै शेयरबजारतर्फ आकर्षित भएका छन् । 

अहिले पनि उत्पादन मुलक क्षेत्रमा लगानी भैरहेको छैन । ब्याजदर महंगो भयो भनेर चौतर्फी आलोचना भईरहेको छ । घर जग्गाको कारोबार ठप्पप्राय छ । सरकारले गर्ने पूँजीगत खर्च निराशाजनक छ, ठूला प्रोजेक्टमा ऋण गएका छैनन् त्यसैले बैंकहरुले अव गर्ने लगानी भनेकै शेयरबजारमा हो भनेर एकथरी लगानीकर्ता भने अव पालो शेयरबजारको हो भन्दै खरिदलाई बढाइरहेका छन् । 

यद्यपी अर्थतन्त्रले साथ नदिएसम्म शेयरबजारको बृद्धि केही समयको लागि मात्र हुने विगतको अनुभवबाट देखिन्छ । बजारले उचाइ छुनुपर्छ त्यसमा कसैको दुईमत छैन तर उक्त बृद्धिको टिकाउ हुनु जरुरी छ । बढेपछि बढीरहने र घटेपछि निरन्तर घटिरहने पीडादायी खालको हुनु हुँदैन । त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । फेरीपनि ‘साँढेको जुधाइमा बाच्छाको मिचाई’ भन्ने नेपाली उखान जस्तै साना लगानीकर्ता जोगिन आवश्यक छ ।