चीन जोडने सुरूङ मार्ग सम्भव
काठमाडौ । कम समय र दूरीमा चीन जोडने सुरूङ मार्ग सम्भव हुने अध्ययनले देखाएको छ । राजधानीबाट चीनको सिमाना रसुवागढी जोडने प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग प्राविधिक रूपमा सम्भव हुने देखिएको हो । यो सुरूङ मार्गको अध्ययन गर्ने चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदनमा यस्तो जनाइएको छ ।
एक महिना लगाएर तयार गरिएको सो प्रारम्भिक अध्ययनले सो सुरुङमार्गको निर्माण सम्भव हुने देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहहरूले जनाएका छन् । विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले यस्तो जानकारी सार्वजनिक गरेका हुन् ।
अध्ययनका लागि पुसको दोस्रो साता नेपाल आएका चिनियाँ टोलीले अध्ययन गरी फर्किसकेको छ । टोलीले सो प्रतिवेदन मार्चको अन्तिम साता चीन सरकारलाई बुझाउने छ । त्यसपछि चीन सरकारले नेपाल सरकारलाई त्यो प्रतिवेदन बुझाउने कार्यक्रम रहेको मन्त्रालयका अधिकारीहरूको भनाइ रहेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी भएको थियो । त्यस अनुसार काठमाडौं टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग निर्माणबारे अध्ययन शुरू गरिएको हो ।
काठमाडौको टोखादेखि नुवाकोटको छहरेसम्म सो सुरुङमार्गको कुल लम्बाइ सात किलोमिटर हुनेछ । चौडाइ डबल लेन तथा एकातिर ‘सर्भिस ट्र्याक’ हुनेछ । प्रतिकिलोमिटर साढे तीन अर्ब रुपियाँ लाग्नसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया