एमसीसी बहस : योगेश भट्टराई र शक्ति बस्नेत हुबहु लागू गर्ने तर महेश बस्नेत जस्ताको तस्तै लागू नगर्ने

एमसीसी बहस : योगेश भट्टराई र शक्ति बस्नेत हुबहु लागू गर्ने तर  महेश बस्नेत जस्ताको तस्तै लागू नगर्ने

समापन मन्तव्यमा प्रधानमन्त्री समेत रहेका एक अध्यक्ष केपी ओलीले भने जस्तै नेकपाका केन्द्रीय सदस्य कुनै नेताको नभई स्वतन्त्र रहेको प्रमाण केन्द्रीय सदस्यहरुले वैठकका दौरानमा व्यक्त गरेका विचारहरुमा पनि मुखरित भयो । विषय र मुद्धा अनुसार व्यक्तिका मतहरु फरक फरक हुनु एउटा स्वाभाविक प्रक्रिया भए पनि नेता अनुसार गुट बनाउने पूर्व परम्परालाई भने यसपटकको केन्द्रीय वैठकले पूर्णतः खारेज गरेको छ । जारी गुटगत रोगलाई निर्मुल पार्न सफल हुनु नै केन्द्रीय समिति वैठकको नयाँ एकता सन्देश र ऊर्जा बन्न सक्यो ।
 

कुनै अप्रत्यासित दुर्घटना वा व्यवधान भएन भने आगामी २०७७ साल चैत्र २५ देखि ३० सम्म सत्तारुढ नेकपा आफ्नो एकता महाधिवेशनमा जुटेको हुनेछ । पार्टी एकताको समीक्षा र भावी दिशा तय गर्न त्यही एकता महाधिवेशन कोशेढुङ्गा साबित हुनेछ । दुई वर्षअघि एकीकृत भएर झण्डै २१ म्हिनापछि मात्रै केन्द्रीय समिति वैठक सम्पन्न गर्न सकेको नेकपाको पछिल्लो केन्द्रीय समिति वैठकको मुख्य निर्णय यही नै हो । किनभने एकताका नाममा हुर्किएका सबै तदर्थवादी काम र व्यवहार तथा अन्य सबैखाले अस्पष्टताहरु महाधिवेशनबाट सम्वोधन हुनेछन ।

दुई अध्यक्ष बराबरी मानेर सुरु भएको पार्टी एकताको एक डेढ वर्षमा पार्टी कार्यकारी अध्यक्षको अभ्यासमा अघि बढ्ने गरी केही महिना अघि लिएको नीतिकै कारण थप गतिशील हुन सक्यो । केन्द्रीय समितिको वैठकको आव्हान र सफल समापन तथा अन्य कमिटीगत प्रक्रियाहरु प्नि पछिल्ला महिनाहरुमा मात्रै नियमित हुन सके । फलतः केन्द्रीय समितिको बिस्तारित वैठक पार्टीको एकता महाधिवेशनको तिथिमिति तय गर्ने हदसम्म निर्णय लिन सफल भयो ।

अबको महाधिवेशनले पार्टीमा थाती रहेका सबै विवाद र अस्पस्टताहरुलाई किनारा लगाउँदै गर्दा पार्टीको एकता सैद्धान्तिक र प्राविधिक मात्र नभएर भावनात्मक र व्यावहारिक हुँदै जानेछ । यो नै सत्तारुढ नेकपाका लागि नयाँ हर्ष र उपलव्धि हो ।

सबै खालका पूर्व समूह वा गुटहरुको समूल अन्त्यको वाचा गर्दै मुद्धाका आधारमा नेता र नेतृत्वबीचमा एकताको नयाँ सन्देश दिदै आइतवार सकियो नेकपाको पाँच दिवसीय केन्द्रीय समितिको वैठक । समापन मन्तव्यमा प्रधानमन्त्री समेत रहेका एक अध्यक्ष केपी ओलीले भने जस्तै नेकपाका केन्द्रीय सदस्य कुनै नेताको नभई स्वतन्त्र रहेको प्रमाण केन्द्रीय सदस्यहरुले वैठकका दौरानमा व्यक्त गरेका विचारहरुमा पनि मुखरित भयो । विषय र मुद्धा अनुसार व्यक्तिका मतहरु फरक फरक हुनु एउटा स्वाभाविक प्रक्रिया भए पनि नेता अनुसार गुट बनाउने पूर्व परम्परालाई भने यसपटकको केन्द्रीय वैठकले पूर्णतः खारेज गरेको छ । जारी गुटगत रोगलाई निर्मुल पार्न सफल हुनु नै केन्द्रीय समिति वैठकको नयाँ एकता सन्देश र ऊर्जा बन्न सक्यो ।

एमसीसी जस्तो जटिल र पेचिलो मुद्धामा पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको कार्यदल बनाएर सहज निकासको मार्ग तय गर्नु केन्द्रीय समिति वैठकको विवेकसम्मत निर्णय रह्यो । खासगरी एमसीसीका चर्का आलोचक नेता भीम रावल समेतलाई एमसीसी अध्ययन कार्यदलमा समेटेर एमसीसीको मुद्धामा पार्टीको गम्भीरता र नेताहरुको चासोलाई सही रुपमा सम्वोधन गर्न दल अग्रसर रहेको सन्देश दियो । विगतमा महाकाली सन्धिको मुद्धामा पार्टी विभाजनकै पीडा व्यहोरेका पूर्व एमाले नेताहरुले विगतको क्षतिबाट पाठ सिकेको उदाहरण पनि एमसीसी प्रकरणमा देखाए । एमसीसीलाई यथास्थितिमा पारित नगर्नका लागि महेश बस्नेत जस्ता ओली समूहका नेताहरुले धारणा राख्नु अनि एमसीसीका पक्षमा माधव नेपाल खेमाका मानिने योगेश भट्टराई, प्रचण्ड निकट मानिने शक्ति बस्नेत लगायतका नेताहरुको विचार मुखरित हुनुले केन्द्रीय नेताहरु नै अब नेताको अनुहार हेरेर होइन, विषय र मुद्धा अनुसार विचारहरु राख्न तथा समर्थन र विरोध गर्न योग्य हुँदैछन भन्ने उदाहरण प्रकट भयो । महिलालाई नेतृत्वमा विकास गराउनुपर्छ भन्ने मत यसपटकको वैठकमा निकै जोडतोडसँग उठ्यो । गजव त के भयो भने यो मुद्धा सबै महिलाको मात्र होइन धेरै पुरुषको पनि यसमा ऐक्यबद्धता देखियो ।

यसले पार्टी अब परिपक्व नेताहरुको सामूहिक विवेक र भावनामा अघि बढ्न अग्रसर रहेको पुष्टि गरेको छ । नेतामा आधारित पार्टी होइन कि नीतिमा आधारित पार्टी बनाउन केन्द्रीय नेताहरु दत्तचित्त छन् भन्ने उदाहरण पनि यसपटक स्थापित भएको छ । गुट वा उपगुटमा रम्ने÷रमाउने छुट अब नेतृत्ववा केन्द्र तहका नेता पङ्क्ति कसैलाई पनि छैन भन्ने उदाहरण दिन सक्नु यो केन्द्रीय समितिको ठोस उपलव्धि बन्यो ।

वैचारिक, साँगठानिक तथा पद्धतिगत रुपमा नेकपामा अझै पनि रुपान्तरण र जागरणको खाँचो छ भनेर नै मूल नेतृत्वप्रति केन्द्रीय सदस्यहरु आक्रामक हुँदै गर्दा मूल नेतृत्व पनि सहभागीहरुले उठाएका प्रश्नहरुमा कतिपय मामलामा सहमत, कतिपय मामलामा आत्मालोचित तथा कतिपय मामलामा जिम्मेवार भएको सन्देश दिन सहमत हुनुले पार्टीको बृहत्तर एकताप्रति सबैको एकमत दर्शियो । यसले पार्टीको एकता अभियान अरु झन् मजवुत हुँदै जान सक्ने संकेत गरेको छ ।

पार्टीमा महिला मुद्धा स्थापित गर्न र नेतृत्वमा महिलालाई अवसर दिन दबाब र जागरणको नयाँ कीर्तिमान राख्न सक्नु यो केन्द्रीय समिति वैठकले हासिल गरेको अर्को उपलव्धि हो । अब महिलाले पार्टी केन्द्रका सबै तहमा उचित प्रतिनिधित्वको अवसर हकका रुपमा प्राप्त गर्ने गरी सुनिश्चितता गर्न केन्द्रीय समिति वैठक दबाबी रहन सक्यो ।

पार्टीले तीनै तहका सरकारको अनुगमन र सहायताका लागि आधिकारिक संयन्त्र बनाउने नीति पास गरेर बेलगाम बनेका तीनै तहका सरकारका काम कारवाहीहरुलाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाएको छ । यसले स्थानीय, प्रदेश र केन्द्र सरकारको स्वच्छाचारी र भ्रष्टाचारउन्मुख सबै क्रियाकलापमा अंकुश लगाउँदै सुधार गर्न भूमिका खेल्ने छ । यसबाट सरकार जनुमखी बन्न अरु थप टेवा पुग्ने तथा पार्टी र सरकार तथा सरकार र जनताबीच बढेको दुरी कम हुने पक्का छ ।

विधानतः वैठकले नेता वामदेव गौतमलाई उपाध्यक्ष पनि बनाएको छ । यसैगरी अब महिलालाई पनि स्थायी समिति र सचिवालयमा स्थान दिन पार्टीले ढिलो नगर्ने हो भने नेकपामाथि लागेका महिलाविरोधी आक्षेपहरुको समुल अन्त्य हुनेछ । त्यस दिशामा नेतृत्वले केन्द्रीय समिति वैठकका दौरान व्यक्त गरेका विचारहरुलाई अब मूर्त रुप दिन सक्नैपर्छ । अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल जस्ता सिनियर, सक्रिय र सक्षम महिला नेतृहरुलाई जिम्मेवारी दिन अब पार्टी नेतृत्वले विलम्व गर्नु हँुदैन ।

वामदेव गौतमलाई पार्टीको शक्तिशाली उपाध्यक्ष बनाउने निर्णयले अन्ततः पार्टी संगठनमा नयाँ ऊर्जा थप्नेछ । किनभने दुबै अध्यक्षका प्रिय पात्रका रुपमा गौतमले संगठन बिभागसहितको उपाध्यक्षको गहन जिम्मेवारी पाएका छन् । उनले अब एकताको साँगठानिक पाटोलाई मजबुत बनाउन सकेमा पार्टी तल्लो तहदेखि नै अरु शक्तिशाली हुन सक्नेछ ।

अध्यक्ष प्रचण्डले वैठक समापनका क्रममा भने जस्तै कुनै चमत्कार नै त नहोला, तर निश्चित रुपमा नेकपामा रुपान्तरण र सुधार सम्भव छ । त्यसका लागि विधि र पद्धतिमा ढिलै भए पनि फर्किसकेको नेकपाले अब त्यसलाई इमानका साथ व्यवहारमा उतार्न सक्नुपर्छ । मूल पार्टी नेतृत्व सबैको साझा र केन्द्रीय नेताहरु कुनै अमुक नेताप्रति वफादार नभई सिङ्गो पार्टी, देश र जनताप्रति उत्तरदायी बन्ने अभ्यासले ढिलै र सुस्त गतिमा भए पनि नेकपालाई सही मार्गमा फर्काएको छ । यो नै सिङ्गो पार्टी पङ्क्तिका लागि सुखद उपहार हो, सम्पन्न केन्द्रीय समिति वैठकको ताजा आलोकमा । समयबद्ध साप्ताहिकबाट