प्रिय साथी, भौतिक रुपमा गयौ तर म भित्र तिमी सधै रहिरहनेछौ !

 प्रिय साथी, भौतिक रुपमा गयौ तर म भित्र तिमी सधै रहिरहनेछौ !


योगेश भट्टराई


हिजो फाल्गुन १५ गते दिउसो साढे १ बजेतिर ताप्लेजुङ जिल्लाको फुङलिङ्गनगरपालिका – १० सिस्ने भीरमा एआर डाइनेस्टिकको हेलिकप्टर दुर्घटनामा परी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रवीन्द्र अधिकारी, हवाई उड्डयन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर के.सी. र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु ।

यो दुर्घटनाबाट देशले आशा लाग्दो, भरोसायोग्य, विश्वासिलो र दूरदृष्टि भएको एक युवा राजनीतिकर्मी मेरा अत्यन्तै घनिष्ट मित्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य रवीन्द्र अधिकारीलाई गुमाउन बाध्य भएको छ । पृथ्वीनारायण क्याम्पस पोखराको मुखपत्र “माछापुछ्रे” को प्रकाशनको तयारीका सिलसिलामा २०४५ सालमा कीर्तिपुर छात्रावासमा मेरै कोठामा केही समय रवीन्द्र अधिकारी बस्नुभयो । त्यहीबाट हाम्रो चिनजान भयो । त्यहाँदेखि आजसम्म तीन दशक लामो सहयात्रामा मैले 

रवीन्द्र अधिकारीलाई अत्यन्तै सहृदयी मित्र, सरल स्वाभावका, जनप्रिय कार्यशैली, सकारात्मक सोच, देशभक्तिपूर्ण भावना, विकासप्रेमी, दूरदृष्टि र बहुआयामिक संभावना अन्तरनिहित रहेका आत्मीय साथी, प्रिय कमरेड र हाम्रो पुस्ताको भरोसायोग्य राजनीतिक नेताका रुपमा बुझेको छु ।

राजनीतिका अत्यन्तै अप्ठ्यारा र अनकण्टार क्षणमा उहाँ र म सँगै बसेर सम्भावनाको खोजी गर्दथ्यौ । हामीले देखेको सपना र बनाएका योजनाको कार्यन्वयनमा उहाँको सक्रियता, गतिशीलता तथा सिर्जनात्मकता मेरा लागि सदैब अनुकरणीय रहे र रहिरहने छन् । पारिवारिक रुपले पनि हामी अत्यन्त निकट रह्यौ । “राजनीतिकको अपराधीकरण र अपराधको राजनीतीकरण” विरुद्ध रवीन्द्र अधिकारीको अभियान म र नयाँ पुस्ताका लागि प्रेरक बनिरहने छन् । 

संविधान निर्माण र संसदमा उहाँले खेल्नुभएको भूमिकाले रवीन्द्र अधिकारीलाई अनुभवी र सफल विधायकका रुपमा स्थापित गरेको छ । नेपालको संसदमा उहाँको अनुपस्थिति खड्किरहनेछ । नेपाल सरकारको मन्त्रीका रुपमा गएको एक बर्षमा उहाँको सक्रियता र जिम्मेवारी पूरा गर्ने हुटहुटीको मैले कुनै बयान गर्न सक्दिन। सायद आफ्नो यात्रा छोटिदै गएको नियतिप्रति उहाँलाई संकेत थियो कि ! म स्तब्ध छु । प्रिय साथी, भौतिक रुपमा गयौं तर म भित्र तिमी सधै रहिरहनेछौ ।

प्रिय बहिनी विद्या ! तिम्रो पीडामा म कुनै शब्दले सहानुभुति ब्यक्त गर्न सक्दिन । तिम्रो आफ्नै अनुभव, साहस र लाखौ लाख शुभचिन्तकको मायाले तिम्रो यात्रा निरन्तर अघि बढ्ने छ । आमा÷बुवा छोराहरु, भाइ÷बुहारी लगायत समस्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

दुर्घटनामा नेपालको हवाई उड्डयन तथा पर्यटनको क्षेत्रका सुपरिचित व्यक्तित्व आङछिरिङ शेर्पा, नेपाल सरकारका कुशल प्रशासक उपसचिव युवराज दाहाल, हवाई प्राधिकरणका अनुभवी र बरिष्ठ कर्मचारी वीरेन्द्रप्रसाद श्रेष्ठ, ध्रुवदास भोछिभया, युवा पाइलट प्रभाकर के.सी. र कर्तव्यनिष्ठ अंगरक्षक अर्जुन घिमिरेले जीवन गुमाएका छन् । म सबैप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

दुर्घटनाको खवर पाउना साथ घटनास्थलमा पुगेर परिस्थितिको सूचना दिने, मृतकका शवहरु संकलन गरी सुकेटार विमानस्थलमा पठाउने काममा ताप्लेजुङ जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार, व्यवसायी तथा जनसमुदायको साहसिक कार्यको म मुक्त कण्ठले प्रशंसा गर्दछु । अनकन्टार भौगोलिक अवस्था, प्रतिकूल मौसम, रातभरिको हिमपात, बर्षा,  असिना अनि भोक तिर्खाको पर्वाह नगरी उपरोक्त कार्यमा जुट्ने सुरक्षाकर्मी, राष्ट्रसेवक तथा स्थानीय जनसमुदायलाई सम्मानित गर्न म नेपाल सरकार समक्ष माग गर्दछु । 

साथै, अत्यन्त प्रतिकुलताका बीचमा पनि आफ्नो साहस र कौशल प्रर्दशन गर्ने नेपाली सेनाका पाइलट तथा स्टाफहरुको उच्च कदर गर्न समेत सरकारको ध्यानाकर्षण गर्दछु ।