एमसीसीको बहस रस सकिएको चुइगम झैँ भइसक्यो र मन्त्रीज्यू ?

 एमसीसीको बहस रस सकिएको चुइगम झैँ भइसक्यो र मन्त्रीज्यू ?

गुल्मी, २१ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीविरुद्ध बाहिर आएका कुरा अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन् । उनले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेको छ भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्ट«सँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने बताए । 

आजदेखि गुल्मीमा शुरु हुने स्वास्थ्य बीमा घोषणा कार्यक्रमका सन्दर्भमा गृहजिल्ला आउनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले प्रेस सङ्गठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालको राष्ट्रिय हित, जनताको लाभ र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ्ने छ भन्दै एमसिसीको विस्तृत रूप (फुलफर्म) थाहा नभएकाहरुले यसका विरुद्धमा बजारमा बहस शुरु गरेको टिप्पणी गरे । 

उनले चुइगम चपाउँदा रस सकिएर दाँतमा टाँसिने र त्यसको कुनै स्वाद नहुने जस्तै प्रकृतिको बहस एमसिसीका बारेमा अहिले बजारमा चलिरहेको बताए । 

पार्टीहरु लोकतन्त्रका आधारस्तम्भ भएको भन्दै उनले पार्टीहरु कमजोर हुँदा लोकतन्त्रसमेत कमजोर हुने  बताए । दुई वर्षको कार्यसम्पादनबाट वर्तमान सरकारको आत्मविश्वास बढ्दै गएको छ भन्दै मन्त्री ज्ञवालीले नेकपा अहिलेको सर्वाधिक लोकप्रिय दलका रूपमा स्थापित भएकोसमेत जिकिर गरे ।  

जनताको वर्षौदेखिको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउँदै मन्त्री ज्ञवालीले त्यसमा कोही पनि द्विविधामा नपर्न आग्रह गर । नेपाली जनताले वर्तमान सरकारलाई ठूलो जिम्मेवारी सुम्पिएको छ भन्दै उनले उक्त जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न सरकार दृढ रहेको बताए । 

मन्त्री ज्ञवालीको उक्त भनाइले आफूमात्र एमसीसीको बारेमा ज्ञाता र अन्य नेता तथा कार्यकर्ताहरु भने यो विषयमा केही पनि नजान्ने भन्ने संकेत गर्छ । आफूले लिएको तर्क चाहिँ रस भएको चुइगम र आफु बाहेकका नेताले एमसीसीबारे गरेको टिप्पणी चाहिँ रस सकिएको बेस्वादको दाँतमा टाँसिने चुईगम हो भन्ने आशयको मन्त्री ज्ञवालीको भनाईले संकेत गरेको छ । जनताको मतबाट सांसद बनेर त्यसैको जगमा मन्त्री बनेकाहरुले यसरी आफुलाई मात्र अब्बल ठान्नु र अन्य विचार र मत जाहेर गर्नेलाई एकलौटी रुपमा दपेट्न खोज्नुलाई लोकतन्त्रको सुन्दर पक्ष भन्न मिल्ला कि नमिल्ला यो प्रश्नको उत्तर सबैले खोज्ने कि ?