मोहनविक्रम सिंह: विगतका सोफिष्ट, आजका डेमोगोग

मोहनविक्रम सिंह: विगतका सोफिष्ट, आजका डेमोगोग

सरोजा

हालै ‘तमसोमा ज्योतिर्गमय’मा मोहनविक्रम सिंहसँग टीकाराम यात्रीले लिएको दुर्लभ अनि प्रथम टिभी अन्तर्वार्ता हेर्न पाएँ । समग्र अन्तर्वार्तामा पत्रकार यात्रीले राखेका जिज्ञासा र मोहनविक्रमले दिएको जवाफले मलाई खण्डन गर्न बाध्य बनाएको छ । मैले बुझेको मोहनविक्रम सिंहको कोणबाट मेरो धारणा लेख्ने प्रयास गर्नेछु् । मैले शीर्षकमा झनेझैं उनी विगतका सोफिष्ट र आजका डेमोगोग हुन् भन्ने निष्कर्षमा पुग्नुको कारणबारे यहाँ व्याख्या गर्न चाहन्छु । मोहनविक्रमजीले राजनैतिक जीवन कांग्रेस पार्टी– जसको विश्वदृष्टिकोण, सिद्वान्त, अर्थनीति र कार्यनीति प्रजातान्त्रिक समाजवाद थियो– का लागि सुरु गरेका रहेछन् । उनले त्यो पार्टी छोड्नुको कारण एक विद्यार्थी चिनियाँकाजीको हत्या र उनलाई न्याय दिलाउन नसक्नु भनिएको छ । तर, तत्पश्चात् सिंहले आफू प्रवेश गरेको कम्युनिस्ट पार्टीको दर्शन, सिद्वान्त, अर्थनीतिको भिन्नताबारे व्याख्या गरेनन् । आज उनी प्रत्यक्ष–अप्रत्यक्ष केही पुरातन प्रजातान्त्रिक समाजवादको राजनीतिको दलदलमा फसेका छन् । उनी केवल शब्दको जालले आफूलाई कम्युनिस्ट नेता भनेर चिनाउँछन् ।

उनी आफूलाई कहिले भूमिगत त कहिले अद्र्धभूमिगत बताउँछन् । हो, भूमिगत अथवा अद्र्धभूमिगत विधि भनेको आफ्नो दुश्मन शक्तिबाट सुरक्षित रहेर आफ्नो उद्देश्य पूरा गर्न अपनाइने विधि हो । म मान्छु, उनले अपनाएको राजनीति अनुरुप ०४६ सालसम्म जायज होला तर तत्पश्चात् उनी भूमिगत हुनु एउटा ढोंग मात्र हो । मेरो बुझाइ अनुसार हुनसक्छ जनयुद्धकालमा क्रान्तिकारीहबाट र आज सर्वहारा, शोषित–पीडित जनसमुदायबाट असुरक्षा महसुस गरेर अद्र्धभूमिगत भएका होलान् । र, आफूलाई अरु समूहभन्दा यो जड्सूत्रवादी यान्त्रिक विधि अपनाएको महसुस हुन्छ । यो विषयलाई लिएर बारम्बार शब्दको हेरफेर गरेर अन्तर्वार्ताकर्तालाई आश्वस्त पार्न खोज्नु भनेको आज २१ औं शताब्दीका जनतालाई थाङ्नामा सुताउन खोज्नु हो, जुन निकै कठिन छ ।

मोहनविक्रमजीले अत्याधिक प्रयोग गर्ने शब्द रणनीति अर्थात् (स्ट्राटिजी) र कार्यनीतिलाई बुझ्न जरुरी छ । यसलाई नेपाली समाजमा गलत ढङ्गबाट बुझ्न लगाइएको छ । वास्तवमा रणनीति र कार्यनीति भनेको पूर्ण र अंश हुन् न कि रणनीति भनेको हाम्रो दीर्घकालीन उद्देश्य र कार्यनीति भनेको दुश्मनलाई छक्याउने कार्य । नेपालमा नयाँ जनवादी क्रान्ति विस्थापित हुनुमा तत्कालीन नेकपा (माओवादी)ले लिएका विभिन्न गलत नीतिमध्ये रणनीति र कार्यनीतिलाई बुझ्ने तरिका पनि हो । उदाहरणका लागि तपाईँको उद्देश्य रोटी खानु (रणनीति) हो । अनि त्यसका लागि तपाईँले पिठोको जोहो गर्नु, पिठो मुस्नु, आगोको जोहो गर्नु, पकाउनु यी सबै कार्यनीति हुन् । जो सबै रोटी खाने (रणनीति)सँग सम्बन्धित हुन्छ । तर उद्देश्य रोटी खाने रणनीति, जोहो गर्नुहुन्छ बालुवा र सिमेन्ट; कार्यनीति दुश्मनलाई झुक्याउने संज्ञा दिनुहुन्छ भने तपाईँ दुश्मनलाई होइन, आफ्नो कार्यकर्ता अनि जनतालाई गुमराह गर्दै हुनुहुन्छ, यो सरासर गलत अनि घातक हुन्छ । ठीक त्यसैगरी मोहनविक्रम सिंहज्यूको नयाँ जनजादी क्रान्ति रणनीति भन्नु र बुर्जुवा संसदीय अभ्यास (कार्यनीति) सैद्वान्तिक रुपमा मेल खाँदैन । मात्र लफ्फाजीमा कम्युनिस्ट तुष्टि लिन खोज्नु कहुन्छ ।

सिंहले नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको एकीकरण सन्दर्भलाई लिएर गलत पनि भन्नु र त्यसको समर्थन र स्वागत पनि गर्छन् । मैले विगतमा यी दुई कम्युनिस्ट भनाउँदा संशोधनवादी पार्टीबीच एकीकरणबारे विश्लेषणात्मक लेख लेखिसकेको हुँदा म यहाँ केबल संक्षिप्तमा मात्रै के भन्न चाहन्छु भने माक्र्सवादको कुन सिद्वान्तले दुईको एकमा समायोजन सही सावित गरेको छ ? र, यदि त्यो गलत हो भने स्वागत र समर्थन केका लागि ? यो आफैलाई मूर्ख बनाउने अभिव्यक्ति भएन र ? गलत प्रक्रियालाई माक्र्सवादी नीति नभई उदारवादी अनि अवसरवादी नीति भनिन्छ । र,यसले के देखाउँछ भने मोहनविक्रम सिंह शब्दमा माक्र्सवादी र व्यवहारमा अवसरवादी हुन् ।

अन्तर्वार्ताकारले सिंहकी श्रीमती भएकै कारण दुर्गा पौडेलले पदलाभ लिएको भन्ने जिज्ञासा राखेका थिए । सिंहले शब्दको हेरफेर गरेर नकारे । यसबारेमा मेरो आफ्नो अनुभव राख्न चाहन्छु । विश्व महिला सम्मेलनको एशिया प्यासिफिक निर्वाचितसंयोजकको हैसियतले विभिन्न महिला नेतृहरुसँग काम गर्ने र चिन्ने मौका पाएँ । त्यो अवधिमा विभिन्न दल निकटका महिला संगठनका नेतृमध्ये नेकपा (मशाल) निकट संगठनकी नेतृ मीना पुन तत्कालीन सम्मेलनको व्यवस्थापनलगायतको समग्र तयारीमा निकै खटिइन् । विश्वमहिला सम्मेलन २०१६मा नेपालमै गर्ने निर्णय भयो । प्रावधानस्वरुप जुन देशमा सम्मेलन हुने हो त्यो देशबाट दुई अतिरिक्त संयोजकहरु नियुक्त गर्न पाइने भयो । महिला संगठनबीच छलफल गरेर एक अनेमसंघ (क्रान्तिकारी) र अर्को अनेमसंघ निकट संगठनलाई दिने निर्णय भयो । त्यहाँ विडम्बना के देख्नु प¥यो भने निरन्तर खटिनुहुने मीना पुनलाई नभई रत्ति पनि काम नगरेकी सिंहकी श्रीमती दुर्गा पौडेललाई नियुक्ति गरेर पठाइयो । तीतो यथार्थ यही थियो बाँकी मूल्याङ्कन र समीक्षा पाठकहरुले नै गर्नु हुनेछ ।

अन्तर्वार्ताको क्रममा आफूलाई कम्युनिस्टमात्र भनेर हुँदैन भन्ने उदाहरण पुष्पकमल, ख्रुश्चेभ र केशरजङ्ग रायमाझीको नाम उच्चारण गरे तर त्यही लाइनको केपी ओलीको नाम भने उनले लिएनन् । यसले निकै महत्व राख्छ । यसले उनको अवसरवादी चरित्र छर्लङ्ग पारेको छ । उनी आफूलाई सघीयताविरोधी भन्छन् । यो कुनै सैद्धान्तिक विषय होइन मात्र आफूलाई फरक देखाउनका लागि प्रयोग गरिएको लफ्फाजी हो । यही बुर्जुवा संसदीय व्यवस्थाअन्र्तगत संघीयता रहनु या नरहनुमा केही फरक पाउँछन् ? माक्र्सवादका सिद्धान्तमध्ये एक आधारभूत सिद्धान्त (चार सम्पूर्ण) हुन् । यी सिद्धान्तले के भन्छन् भने समाजमा रहेका हरेक विभेदहरु जो उत्पादन सम्बन्धमा आधारित छन्, त्यसको अन्त्य गर्ने जसले नयाँ सामाजिक सम्बन्धको निर्माण गर्छ र त्यसबाट आएका विचारहरुलाई क्रान्तीकरण गर्दै लाने ।

मेरो विचारमा सिंह कुनै कोणबाट पनि यो आधारभूत सिद्धान्ततर्फ उन्मुख देखिंदैनन् । धर्मप्रति सिंहको विचार अत्यन्तै गैरमाक्र्सवादी देखियो । उनी भन्छन्, हरेक धर्मको संरक्षण र रक्षा गर्नुपर्छ । धर्मनिरपेक्षता भनेको सबै धर्मको संरक्षण र रक्षा नभइकन हरेक धर्ममा आस्था राख्ने धर्मावलम्बीहरुलाई समान अधिकार दिनु हो । माक्र्स स्वयम्ले भनेका छन्– धर्म अफिम हो । माक्र्स विभिन्न रोगबाट ग्रसित हुँदा उनलाई अत्याधिक पीडा हुन्थ्यो र उनी स्वयम् अफिम सेवन गर्थे जसले उनको रोग निको त हुँदैन थियो तर यसले रोगबाट हुने पीडालाई कम गरिदिन्थ्यो, शायद त्यसैकारण भनेका होलान् । उनले यो या त्यो नभइकन समग्र धर्मलाई भनेका छन् । 

इतिहासका हरेक कालखण्डमा भएका हरेक सामाजिक क्रान्तिमा विज्ञान र धर्मको टकराव भएको देखिन्छ । एनेक्सो गोरसले सूर्य ग्रहणको विषयमा बोल्दा नास्तिक भनेर एथेन्सबाट देश निकाला हुनुप¥यो । सुकरातले न्यायप्रणाली देवीदेवताको आधारमा हुनु हुँदैन भन्दा विष सेवन गर्न बाध्य पारियो । कपरनिकस, ग्यालिलियो आदि धेरै धर्मविरोधीको नाममा प्रताडित भए भने विश्वइतिहासमा जति धर्मको नाममा नरसंहार भएको भेटिन्छ अरु कारणवाट कम छ ।

माक्र्सवाद भनेको विज्ञान हो र धर्म भनेको आस्था हो । माक्र्सवादीले धर्म रक्षा होइन, धर्मावलम्बीलाई क्रान्तिकारी विचारद्वारा लैस गर्दै धर्म उन्मूलनतर्फ उन्मुख हुन्छन् । यात्रीजीले शायद समय अभावका कारण अन्तर्राष्ट्रियसँग सम्बन्धित प्रश्न उठाएनन् तर मैले सिंहलाई बुझ्ने मौका पाएको उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा खेलेको भूमिकामार्फत् नै हो । त्यसकारण यस लेखद्वारा जानकारी गराउन उपयुक्त र जरुरी ठानेको छु । कमरेड माओको निधनपश्चात् महिना दिन नपुग्दै चिनियाँ कम्युनिस्ट पार्टीभित्रकै संशोधनवादी धारले कु ग¥यो र क्रान्तिकारी धारलाई परास्त ग¥यो । विश्वभरकै क्रान्तिकारीहरु रनभुल्लमा परे । आ–आफ्नो दृष्टिकोणवाट व्याख्या गरेर विभिन्न खेमामा बाँडिए ।

निकै संघर्षपश्चात् संगठित हुने जमर्को गरेर १९८४ मा विश्वका कयौं देशबाट माक्र्सवाद–लेनिनवाद र माओवादलाई पथप्रर्दशक सिद्धान्त स्वीकार गर्ने पार्टी, संगठन, समूहहरु मिलेर रिभ्युलुुुुुसनरी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) को स्थापना गरियो । रिमले घोषणापत्र जारी ग¥यो । जसमा भनिएको छ– कमरेड माओद्वारा सञ्चालित साँस्कृतिक क्रान्तिलाई प्रस्थानविन्दु मानेर सदस्य पार्टीहरुले एउटै ‘लाइन’ निर्माण गर्ने र पार्टी नभएका ठाउँहरुमा पार्टी निर्माण गर्न प्रयत्न गर्ने ।

उक्त घोषणापत्रमा नेपालबाट हस्ताक्षरकर्ता तत्कालीन नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह उर्फ (दमदम) हुनुहुन्थ्यो । सन् १९८० देखि सञ्चालित पेरुको जनयुद्धले विश्वभरका क्रान्तिकारीलाई आशाको किरण, ऊर्जा अनि हौसला प्रदान गरिराखेको थियो । विडम्बना भन्नुपर्छ अध्यक्ष गोञ्जालो (अबिमाइल गुजमान) को गिरफ्तारी अनि त्यहाँ उत्पन्न भएको अन्यौलको स्थितिले फेरि एकपटक क्रान्तिकारीहरुमा नैरास्यता छायो । त्यो विषम घडीबाट गुज्रिँदै गर्दा फेरि एकपटक पुष्पकमल दाहाल (प्रचण्ड) ले दुई लाइन संघर्षद्वारा क्रान्तिकारी लाइन पास गरेर बडो हिम्मतका साथ जनयुद्धको नेतृत्व र सञ्चालन गरे । र, उनी विश्वभरिका क्रान्तिकारीहरुका आशाका केन्द्रविन्दुसमेत बने ।

मोहनविक्रम सिंह जनयुद्ध गर्ने समय नभएको भन्दै आफू अनुकूल मनोवादको व्याख्या गर्दै क्रान्तिकारीहरुलाई पिठयूँ फर्काउँदै मैदानबाट भागे । हाल जर्मनीका एमएलपीडी पार्टीले सञ्चालन गरेको संशोधनवादी धारको प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय आइकोरमा समायोजन भए । आइकोरमा रहेको भारतीय पार्टी अनि एमएलपीडी जर्मनीले उपप्रधानमन्त्री भएलगत्तै तीब्र आलोचना गरिरहेका छन् । हुन त बुर्जवा राजनीतिमा दर्शन र सिद्धान्तभन्दा पनि आफ्नो स्वार्थ अनुकूल आलोचना र समर्थन गर्ने गर्छन् । जनयुद्धकालमा एमएलपीडीमार्फत् सिहंले क्रान्तिकारीहरुलाई हतोत्साही गर्ने निकै प्रयास गरे । किनकि उनलाई आफ्नो मनोवादी लफ्फाजी स्थापित गराउनु थियो । नेकपा (माओवादी) स्वयम्ले अख्तियार गरेको गलत लाइनका कारण नेतृत्वले आत्मसमर्पण ग¥यो र संशोधनवादी भासमा फस्यो ।

आज सिंह र एमएलपीडी भाइचारा शक्ति बन्न पुगेका छन् । अन्तर्वार्ताको अन्तिममा मोहनविक्रम सिंहले गीताको श्लोक बाचन गरेर उपदेश दिएका छन्– ‘कर्म गर, फलको आशा नगर’ । शायद उनले आफ्ना कार्यकर्तालाई अर्ति दिएका होलान्– कर्म गर, फल दुर्गाले खान्छिन् भनेर । हामीहरु एक्काईसौं शताब्दीमा सचेतढंगबाट राजनीतिमा लागेका राता मान्छे हौं । हामी गरिव, दुःखी, मजदुर, किसान र हरेक शोषित–पीडितले कर्म अनुसारको फल पाउनुपर्छ भनी पक्षपोषण गरेर लड्ने यौद्धा हौं । हामीले गरेको कर्मको फल समाजवादी व्यवस्थाको आशा हो । यो फल प्राप्त नभएसम्म निरन्तर लडिरहने माक्र्सवादी योद्धा हौं । यो लेख मैले युवावर्गलाई सचेत गर्न लक्षित गरेर लेखेकी हुँ ।

आज पनि युवाहरु यो दल वा त्यो दल, यो नेता वा त्यो नेता भनेर मर्न र मार्न तयार हुन्छन् तर सही र गलत के भनेर छुट्याउन सक्दैनन् । लेनिनको एउटा सुप्रसिद्ध भनाइ छ– राजनीति सचेतनाका साथ यो वर्ग वा त्यो वर्गको प्रतिनिधित्व गर्ने भनेर गरेनौ भने तिमी पीडित बेवकुफ बन्छौ । अनि निरन्तर आफूले आफैलाई बेवकुफ बनाइराख्छौं । समाजका मोहनविक्रम सिंहजस्ता डेमोगोग डेट एक्सपाएर नेताहरु प्रशस्तै छन् । युवा पिंढीले त्यस्ता नेताहरुको पहिचान गरौं अनि बहिष्कार गरौं र नेतृत्व स्वयम् लिने अठोट एवम् सङ्कल्प गरौं ! समयबद्ध साप्ताहिकबाट