केन्द्रीय समितिको वैठक नसकिदैं गुटको आधारमा नियुक्ति 

केन्द्रीय समितिको वैठक नसकिदैं गुटको आधारमा नियुक्ति 

२२ माघ, काठमाडौं । गुटबन्दी नगर्ने, पार्टीलाई संस्थागत र विधिमा चलाउने भनेर केन्द्रीय समितिको वैठकमा पार्टी अध्यक्षद्वयले प्रतिबद्धता व्यक्त गरेको मसी सुक्न नपाउँदै संगठन विभाग जस्तो महत्वपूर्ण विभागमा कुनै क्राइटेरिया नबनाई गुटको आधारमा नियुक्ति गरिएको छ । 

वामदेव गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुख रहेको सो विभागलाई १५ सदस्य बनाइएको छ । ३५ सदस्य बनाउने भनिएको सो विभागलाई तीन पटक थपेर १५ बनाउँदा पनि एकदमै असन्तुलित छ ।

कतै प्रदेश इञ्चार्ज, कतै एकदमै कनिस्ठ केन्द्रीय सदस्य र कतै संगठनात्मक जिम्मेवारी कतै नलिएकालाई गुटका आधारमा विभागको सदस्य नियुक्त गरिएको छ । 

साविक एमालेको भन्दा पनि साविक माओवादीमा बढी विसङ्गति देखिएको छ । 

संगठन विभागमा थपिएका सदस्यहरुमा भीम रावल, भीम आचार्य, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, मातृका यादव, सत्यनारायण मण्डल, खगराज भट्ट, सुदन राई, जगप्रसाद शर्मा र रेखा शर्मा छन् । पोखरेल प्रदेश ५ र सुब्बा गण्डकी प्रदेशका मुख्यमन्त्री समेत हुन् ।

प्रतिनिधिसभाका सदस्य सुदन राई निकै कनिस्ठ केन्द्रीय सदस्य हुन । पूर्वमा संगठनात्मक जिम्मेवारी पाएका अन्यलाई भन्दा पनि उनलाई ल्याउनुमा गुटको फेरो समातेर हो भन्नेमा सबै स्पस्ट छन् । 

प्रदेशसभामा हारेर भर्खरै राष्ट्रियसभामा ल्याएका जगप्रसाद शर्मा ‘अपार’ लाई पनि संगठन विभागमा ल्याइएको छ । अपार जनार्दन शर्माको नाता समेत पर्छन । संगठनात्मक जिम्मा नरहे पनि सांसद रेखा शर्मालाई महिला समावेशीको हिसावले ल्याएको भनेर मान्न सकिए पनि अपार र सुदनको राईलाई ल्याउनुमा गुटको नै प्रभाव रहेको चर्चा चलेको छ । 

गत साउन ३ गते बसेको सचिवालय बैठकले संगठन विभागमा बामदेव गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुख तोकेको थियो भने असोज २९ गते अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी थपिएका थिए ।