‘कसैको सिरानीमुनि लालपुर्जा, मुद्दा विजय गच्छदारलाई’ : कांग्रेस प्रवक्ता
२२ माघ, काठमाडौँ / ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियारले बुधबार दायर गरेको भ्रष्टाचार मुद्दामा कांग्रेसले उपसभापति विजय गच्छदारलाई मुद्दा दायर गरेकोमा विरोध गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै भनेका छन्, ‘श्री माधवकुमार नेपालको पालामा नीतिगत निर्णय। एक पूर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा। मुद्दा कसलाई विजय गच्छदारलाई ?’
उनले ट्विट संकेत गरेका पूर्वमन्त्री विष्णु पौडेल नेकपाका महासचिव हुन् । ललिता निवासको दुई कित्ता ८ आना जग्गा उनले छोरा नवीन पौडेलको नाममा किनेका थिए। तर, अख्तियारका अनुसन्धान अधिकृत समक्ष त्यो जग्गा सरकारको नाममा गर्न तयार रहेको बयान दिएपछि अख्तियारले उनलाई मुद्दा चलाउनु नपर्ने आरोप पत्रमा उल्लेख गरेको छ।
कांग्रेस उपसभापति गच्छदारविरुद्ध भने तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको हैसियतमा मुद्दा दर्ता गरिएको हो। उनीसँग अख्तियारले ९ करोड ६५ लाख विगो मागदाबी गरेको छ। मुद्दा दायर हुनासाथ गच्छदारको सांसद पद स्वत: निलम्बनमा परेको छ।
उनीसहित अन्य दुई तत्कालीन मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई पनि अख्तियारले भ्रष्टाचार मुद्दा लगाएको छ।
शर्माले ट्विटमा प्रसिद्ध लेखक जर्ज अरवेलको चर्चित पुस्तक 'एनिमल फार्म' को भनाई उद्धृत गर्दै लेखेका छन् 'अल एनिमल्स आर इक्वेल बट सम आर मोर इक्वेल देन अदर्स /'
प्रतिक्रिया