कोरोनाले विश्वका साथै नेपालको अर्थव्यवस्थामा कति खतरा ?

कोरोनाले विश्वका साथै नेपालको अर्थव्यवस्थामा कति खतरा ?

काठमाडौ । सरकारले देशको समृद्धिका लागि बनाएको योजना चीनमा फैलिएको प्राणघातक कोरोनाभाइरसले प्रभावित हुने भएको देखिएको छ । नेपाल र चीनबीचका विभिन्न पूर्वाधार परियोजनासम्बन्धी पूर्व निर्धारित दुई पक्षीय बैठकहरू ओझेलमा परेका छन् ।

सरकारी अधिकारीहरूका अनुसार नेपाल चीनबीचका आधा दर्जन यस्ता परियोजनाहरूको बैठक तत्काल ओझेलमा परेका छन् ।  दुई देशबीच फेब्रुअरी र मार्चमा हुने बैठकहरू तत्काल खारेज गरिएका छन् ।  चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला भएको सम्झौता अनुसार हुनुपर्ने बैठक पनि स्थगित गरिएका छन् ।

यसमा नेपाल चीन व्यापार सहयोग समितिको पहिलो बैठक पनि सामेल रहेको सरकारी अधिकारीहरूको भनाइ रहेको छ । नेपालको कृषि क्षेत्रलाई सहयोग गर्ने बैठक मात्र नभइ  चीनको आर्थिक सहयोगमा बन्ने विशेषरूपले ४५६ मेगावाटको तामाकोशी जलविद्युत परियोजनालाई समेत असर पार्ने भएको छ ।

दोलखाको यो परियोजना झण्डै पूरा भइसकेको अवस्थामा पुगेको छ । केही दक्ष चिनियाँ कामदारको अभावमा यो परियोजनाको अन्तिम काममा समस्या हुने देखिएको सम्बद्ध अधिकारीहरूको भनाइ छ ।

यसका अतिरिक्त १४० मेगावाटको तनहु जलविद्युत परियोजना, १११ मेगावाटको रसुवागढी जलविद्युत परियोजना,१२० मेगावाट रसुवा भोटेकोशी जलविद्युत परियोजना, १०२ मेगावाट मध्य भोटेकोशी जलविद्युत परियोजना र ३७ मेगावाटको उपल्लो त्रिशुली जलविद्युत परियोजनाहरूको निर्माण चिनियाँ ठेकदारले बनाउने भएको छ ।

यसैगरी चिनियाँ ठेकदार कम्पनीको संलग्नता  पाँच विद्युत प्रसारण लाईन विस्तारमा पनि रहेको छ । २२० केभी भरतपुर बर्दघात, चिलिमे त्रिशुली, रामेछाप गज्र्याङ समेत गरी पाँच विद्युत प्रसारण लाइन परियोजनामा चिनियाँ ठेकदारले काम गर्नुपर्ने हुन्छ ।

नेपालमा चिनियाँ जनशक्तिमा क्रियाशील परियोजनाको गति सुस्त हुने देखिएबाट सरकारको समृद्धिको योजना प्रभावित हुने देखिएको पर्यवेक्षकहरूको भनाइ रहेको छ । कोरोनाभाइरसले नेपाललाई मात्रै प्रभावित नभइ विश्व अर्थतन्त्रलाई पनि प्रभावित पार्ने भएको हो । चीनमा क्रियाशील ठूला ठूला कम्पनीहरूले कारखाना बन्द गरेका छन् ।

आइफोन बनाउने कम्पनी एप्पलले कोरोना भाइरस महामारीका कारण चीनमा ९ फेब्रुअरीसम्म आफ्नो स्टोर, कर्पाेरेट कार्यालय र सम्पर्क केन्द्र बन्द गर्ने घोषणा गरेको छ । टोयोटा मोटरले पनि ९ फेब्रुअरीसम्म चीनमा रहेको कारखाना बन्द गर्ने निर्णय गरेको छ ।

हुण्डाई मोटरले पार्ट्स आपूर्तिमा भएको बाधाका कारण दक्षिण कोरियामा उत्पादन बन्द गरेको जनाएको छ । केही बर्गर रेस्टुरेण्ट मेनलैण्ड चीनमा अस्थायी रुपमा बन्द भएका छन् भने काल्र्स बर्गले पनि कोरोना भाइरसका कारण नोक्सान भएको जनाइसकेको छ । 

हयात र सांग्रिलाले चीनबाट यात्रा गर्नेको यात्रा विना चार्ज २९ फेब्रुअरीसम्म होटेल बुकिङ रद्धको अनुमति दिएजस्तै  चीनको सबैभन्दा ठूलो अनलाइन बुकिङ प्लेटफर्म सीट्रिपले पनि उसको प्लेटफर्ममा तीन लाखभन्दा बढीले होटेल २२ जनवरीबाट ८ फेब्रुअरीसम्म बुकिङ फिर्ता लिन तयार भएको जनाएको छ । अलीबाबा बुकिङ साइट फ्लिगीले  पनि यस्तै घोषणा गरेको छ ।
चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । यसको चोट वहुराष्ट्रिय कम्पनीलाई हुनुका साथै विश्व अर्थतन्त्रलाई नराम्रो असर पर्ने छ ।

विश्व टुरिज्म अर्गनाइजेशनका अनुसार सन् २०१४ बाट चीन इण्टरनेशनल टुरिज्म एक्सपेंचिरको सबैभन्दा ठूलो स्रोत हो ।  कोरोना भाइरस फैलिन अघि विश्व अर्थतन्त्रमा चीन र अमेरिकाबीचको व्यापार युद्ध चलिआएको थियो । एकले अर्काको उत्पादित वस्तुमा अतिरिक्त भन्सार महशुल बढाइ व्यापार युद्ध चर्काइरहेका थिए ।

यसको समाधानका लागि पहिलो चरणको सम्झौता गरे लगतै कोरोनाभाइरसले व्यापारलाई प्रभावित पार्ने भएको छ । यसले विश्व अर्थतन्त्रलाई थप प्रभाव पार्नेछ । खाद्यान्न, कपडासहित सुनदेखि नुनसम्मको आयात हुने चीनका कारण नेपालको अर्थतन्त्रमा धेरै ठूलो धक्का लाग्ने भनाइलाई अन्यथा लिन नहुने  देखिएकोछ ।