एसिड छ्याप्न उक्साउँदै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत

एसिड छ्याप्न उक्साउँदै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत

मोरङ, २४ माघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफू ‘छोरीमाथि छोराले होइन बरु छोरामाथि छोरीले एसिड खन्याउने’ अवस्था ल्याउने सोचमा रहेको भन्ने विवादास्पद अभिव्यक्ति दिएका छन् ।

जनकपुरमा महिला सशक्तिकरणका सम्बन्धमा महिला अगुवहरुसँग कुरा गर्ने क्रममा शुक्रबार यस्तो अभिव्यक्ति दिएका हुन् । 

महिला अगुवाहरुसँगको भेटघाटको क्रममा मैथिली भाषामा दिइएको प्रतिक्रियामा उनले भने, ‘तपाईँहरु छोरीको बारेमा सोच्दै हुनुहुन्छ । म सुरुदेखि छोरीलाई सशक्त बनाउन खोजिरहेको छु । म आफ्नो कार्यकालमा छोरीलाई यति कन्फिडेन्ट, क्यापेबल (सक्षम) र वारियर (लडाकु) बनाउने सोचिरहेको छु कि छोरीले अब छोराको मुखमा एसिड खन्याओस् ।’

मुख्यमन्त्री राउतले यस्तो प्रतिक्रिया दिएको भिडियो अहिले समाजिक सञ्जाल फेसबुकमा निकै भाइरल भइरहेको छ । आफ्नो पद र गरिमाको ख्याल नै नगरी मुख्यमन्त्री राउतले अपराध बढाउन तर्क दिन लागेको भनी आलोचना समाजिक सञ्जालमै हुन थालेको छ ।

जनकपुरधाममा रहेको स्थानीय नागरिक समाजका अगुवा अमरचन्द्र अनिलले मुख्यमन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति अपराधले न्यून गर्नुको सट्टा प्रोत्साहन दिने प्रतिक्रिया दिएका छन् ।