जनयुद्ध दिवसले उठाएका केही यक्ष प्रश्न

जनयुद्ध दिवसले उठाएका केही यक्ष प्रश्न

वसन्त पोखरेल

आ.... हा... त्यतिबेलाको त्यो स्पिड । कसैका हातमा पर्चा, कसैका हातमा पोष्टर, कसैका हातमा माड, कसैका हातमा इनामेल र ब्रस । कसैले देख्छ कि भन्दै बिरालोको चालमा लुपुक्क हिँडेर भित्ता खोजिन्थ्यो पोष्टर टाँस्नका लागि । पसलका सटरभित्र कुनै आवाज नआउने गरी पर्चा घुसाइन्थ्यो । घरको बार्दलीमा पुग्ने गरी ढुंगाका टुक्राहरु लोमेर पर्चा फ्याँकिन्थ्यो । इनामेल, कुचीसँग खेल्नेहरुलाई पालो बस्ने र सावधान तुल्याउँदै सडक, सार्वजनिक विद्यालयका पर्खालहरुमा नारा लेखिन्थ्यो । सबै बस्तु इतिश्री भएपछि भोक र थकाइले लखतरान हुँदै कसैका परालका थुप्राभित्र घुर्सेर श्वान निद्रा सुतिन्थ्यो । विहान कसैले नदेखोस् भन्दै झुसे अनुहार लिएर हाई..काड्दै डराइ डराइ गन्तब्यमा पुगिन्थ्यो । यस्तो थियो हाम्रो जनयुद्धको पहिलो दिनको रातचर्या । दिनचर्यामा भने हामी अनजानजस्तै बनेर अरुबाटै खबर सुन्थ्यौँ । २०५२ साल फागुन एक गतेको सानो अनुभूति हो यो ।

नेताहरुको स्कूलिंगले हामीलाईः हारे हत्कडी हातमा, जिते यो सिङगो सन्सार भन्ने सिकाएको थियो । मरे सहिदको माला, बाँचे हाम्रै हो रंगशाला भन्ने कुरा घोकाएको थियो । त्यसले हामीमा विशेष खालको ऊर्जा भरेको थियो । नेताहरुलाई फोटोमा देखे पनि ढोग्न मन लाग्थ्यो । मुट्ठी उचालेर लालसलाम गर्न मन हुन्थ्यो । एकपटक हात मिलाउन पाए अहोभाग्य सम्झन्थ्यौँ र कति दिनसम्म पनि शो जान्छ भनेर अरुलाई हात छुन दिन्नथ्यौँ । नेताजी आउँदै छन् रे भनेको सुनेपछि नाङ्गा खुट्टा र भोको पेटमा कार्यक्रमस्थलमा पुग्थ्यौँ । साम्राज्यवाद, बिस्तारवाद, घरेलु प्रतिक्रियावाद, सामन्तवाद, नवसंशोधनवादसँग घृणा उत्पन्न हुन्थ्यो । घृणा उत्पन्न हुने गरी ब्रेन वास नै गरेको थियो स्कूलिङले । जनयुद्धको विरोध गर्नेलाई आँखाले देख्न रुचाउँथेन । 


जनयुद्धको भट्टीमा आगो फुक्ने क्रम बढ्दै गयो । आगोमा फिलिङ्गाहरु थपिँदै गए । त्यो आगोको रापमा काँचो फलाम हाल्दा स्पात भएर निस्कन्थ्यो । मुट्ठी उचालेर जिम्मेवारी बहन गर्ने प्रतिज्ञा गर्दै काममा जोतिन्थ्यो । हामी पनि जोतियौँ आफ्नो गच्छेअनुसार । यसरी जाँदै गर्दा हजारौँले छातीमा प्रतिक्रियावादी सत्ताको गोली थापे । जेलका चिसा छिँडीमा आहत जीवन गुजारे । घर, परिवार, नातागोतामा केही दुर्घटना हुँदा पनि जान सक्ने अवस्था थिएन । कैयौँ महिलाहरु विधवा बने । अघोरी शासकका काला नंग्राले कैयौं युवती, नाबालिकाहरुका चोलीका तुना छिँदालिदिए । 

बलात्कारबाट रगताम्मे बने । अबैध आमा कहलिन बाध्य भए । बालबालिका टुहुरा भए । बाबुआमा साहाराविहीन भए । होनहार दशौँ हजार युवा युवतीको तातो रगत बगी नै रह्यो । गोलीका घाउबाट बगेका रगतमा लत्पतिएका मित्रहरुका घाइते शरीर उपचार नपाएर ढल्थ्यो । कैयौँ अपाङ्ग हुन्थे । यो अबस्थालाई शोकलाई शक्तिमा बदल्ने ऊर्जा मानेर अघि बढेको अवस्था हो । यस्तो कष्टकर जीवनको चलचित्र दिब्य दश बर्षसम्म यी आँखाले देखेका हुन् । 

जिते यो सिंगो संसार, बाँचे हाम्रै हो रंगशाला भनेर हिँडेका हामीहरुले अहिले के जित्यौँ ? सहिदहरुले के जिते ? घाइतेले के जिते ? टुहुरा बन्न वाध्य बालबालिकाले के जिते, बेपत्ताहरुले कुन चपरी मुनिको बास पाए ? नेता, कार्यकर्ता, योद्धाहरुलाई गाँस काटेर ख्वाउने, आफू सेण्ट्री बसेर बलिदानी बन्ने हिम्मत राख्दै नेताहरुलाई आफ्नो विछौनामा सुरक्षित सुताउने जनताले के पाए ? उही घरेलु प्रतिक्रियावाद, उही विस्तारवाद, उही सामन्तवाद, उस्तै सार, उस्तै रुप । 

हात्ती भने पनि गज भने पनि सार एउटै हुन्छ । श्वान भने पनि कुकुर भने पनि अर्थ एउटै हुन्छ । हामीले अहिले पाएको थोरै फरक भनेको हात्तीलाई गज भनिएको र कुकुरलाई श्वान भनिएको फरकमात्र पाएको हो । नाम फेरिए, पात्र फेरिए । सार फेरिएन । संस्कार फेरिएन । शोषक, सामन्त, सुदखोरहरुको बढोत्तरी नै भयो । जनता तातो ताबाबाट भुँग्रामा परेमात्र । बरु त्यसको साटो गाउँघरमा ऐँचोपैँचोमा पाइने लसुन अहिले साढे सात सय रुपैयाँ तिरेर एक किलो खान पाएका छौँ । तीन सय रुपैयाँ किलो प्याज र सय रुपैयाँ किलो आलु खाने सौभाग्य पाएका छौँ । त्यो पनि आयातित । कतिबेला अरु बढ्छ अनुमान छैन । हो, आम्दानी विनाको करको दायरा बढ््यो । जनताले उपभोग गर्ने हरेक चिजको मूल्य बढ्यो । 

समग्र देश र जनताको सुख, सुबिधा, सार्बभौम अधिकार, गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारीको ग्यारेण्टी दिने भावकासाथ जनयुद्ध शुरु भएको थियो । त्यसमाथि उठेर सैद्धान्तिक रुपमा भन्नुपर्दा जनताको सत्ता, सांस्कृतिक, सामाजिक रुपान्तरण, लिंगभेद, जातिभेद, बर्णभेदको अन्त्य, क्रान्तिको निरन्तरताको लागि सर्बहारा बर्गको अधिनायकत्वको भाव लिएर शुरु भएको थियो । युद्धले आफ्नो गति लिइरहेकै बेला, जनताले आफ्नो रगतको आहुती दिएर एउटा निश्चित गन्तब्यमा जाने अवस्था तुल्याइरहेकै बेला दिल्ली वार्ताले दिशा मोड्यो । कथित संयुक्त जनआन्दोलनको सहमतिले युद्धले धपक्क बलेको आगोको भट्टीमा पानी खन्याइदियो । भट्टी चिस्याइदियो । ऊर्जा सिथिल बनाइदियो । बन्दुकहरुमा खिया लागे । सत्ता जित्ने सपनामाथि टुकुचाको जल टाउका माथि छर्कने काम भयो । रणनीति कार्यनीतिमा परिणत भयो । अहिले त कार्यनीति पनि बाँकी रहेन । हजारौँ भोल्टेजको विद्युतीय फ्युज उडेर राजनैतिक फ्युजनमा झर्यो । सिद्धान्त, दर्शन, कार्यनीति, नेपाली जनयुद्धले स्थापित गरेको पथ (प्रचण्ड) सबै पथभ्रष्ट भए । उतिबेलाका प्रचण्डपथका कमाण्डर आज उही फेरिएको नयाँ नाम थरको प्रतिगामी÷यथास्थितिवादी चुनावको पछि दौडेका छन् । आफू र आफ्ना परिवारलाई चुनावमा जित्न र जिताउनका लागि धाँधली र गठबन्धनका चरहरु खोज्दै र फराकिलो बनाउँदै छन् । प्रतिगामीहरुमात्र हैन, विस्तारवादी र साम्राज्यवादीसँग सत्तामा बस्न पाउँ भन्दै घुँडा टेकेर धनुष बनेका छन् । 

उता अर्का सिद्धान्तकार बैद्य बा टालाटुली बटुली कति राम्री पुतलीको गीतमा रमाएका छन्  । टाला बटुल्छन् । पुतली बनाउँछन् । पुतलीलाई साडी लगाइदिन्छन् । चोली भिराइदिन्छन् । त्यसैसँग खेल्छन् । अहिले पनि फेरि खिइएका, बुक्रा बारेर बसेका नौ दल बटुलेर पुतली बनाउँदै छन्ः लिम्पियाधुराको नक्सा सोझ्याउन र एमसीसी भगाउन । उनीसँग रहेको पुरानो दर्शन, सिद्धान्तका दिमागी पानाहरुमा धमिरा लाग्दैछ । मुसाले धुजाधुजा हुने गरी काट्दै छ । सार भन्ने चिज रहेन । रुपमा रमाउने बानी पार्दैछन् । अर्का बौद्धिक हस्ती, योजनाकार डा. बाबुरामको अन्तरमुखी स्वभावले पनि फड्को मार्ने, छलांग हान्ने, सर्पिल हैन, भ्यागुतोजस्तो फड्को मार्ने भन्ने अवस्था तुहियो । काँग्रेसी गठबन्धनको आधारमा जितेको सांसदको सिरक ओढेर भत्ता बुझ्दै गोडामा... न्यानोको अत्मरति लिँदैछन् । हिउँदमा जाडो हुन्छ । गर्मीमा पसिना आउँछ । बर्षामा पानीले भिजाउँछ । कतिबेला उनको दिवासपनाको संगठन बन्छ र राजनीतिले छलाङ हान्छ ? अर्का बाबुसाहेब नेत्र विक्रम चन्दले पनि सहिदको खेती गर्ने र त्यही खेतको फसल काटेर खाने बाहेक अर्को उपलब्धी देखिएको छैन । सत्ता बार्गेनिंगको लागि उनको हुँकार हो भन्ने धेरैतिरबाट पुष्टिँदै छ । 

जनयुद्धका यी हस्तीहरु सेलाएपछि जनयुद्धको सार र मर्म सेलाउने नै भयो । सत्ता कब्जाको रणनीति अहिले अर्थ कब्जामा सिमटियो । करोडौँ नेपाली जनताको बुद्धि भुटेर जनयुद्धलाई यसरी नाम, थर फेरिएको प्रतिक्रियावादी कित्तामा मिसाएर टुकुचा बनाउनु थियो त किन शुरु गरियो ? त्यत्रा मानिसलाई अकालमा किन मारियो ? नेपाली जनक्रान्तिको जाज्वल्यमान इतिहास खडा गरेको ओजपूर्ण झण्डालाई किन मुसालाई ओछ्यान बनाउन सिंहदरबारका कुनामा फालियो ? त्यसको स्पष्टीकरण दिने हिम्मत छ ? यो आजको जनयुद्ध दिवसले उठाएको यक्ष प्रश्न हो । जनयुद्धसँग जोडिन पुगेका रामे, श्यामे, हरि, महेश, आइती, मंगली, देबकी चुनमायाँ आदिको मन, मस्तिष्कमा सुल्झनै नसकेको प्रश्न हो । उत्तर कसले देला प्रतिक्षा गरौँ ।