धन्दा, व्यवसाय होइन राजनीति

धन्दा, व्यवसाय होइन राजनीति

राजनीतिमा भ्रष्टाचार, अपराधीकरण नरोकी सुखी र समृद्धिका कुरा केवल नारामा मात्र सीमित हुन्छ । अझ समाजवादको स्थापना गर्छु भन्नु त राजनीतिक व्यङ्ग्य नै हुन्छ । पछिल्ला समयमा राजनीतिक पार्टीमा सत्ता र सुविधाका लागि जस्तोसुकै हत्कण्डा प्रयोग गर्ने तरिकामा कमी होइन वृद्धि नै भइरहेको छ । यसको विरोध गर्ने, त्यस्तो कार्यलाई अनैतिक भनेर त्यसबाट निकै टाढा रहनेहरु पछाडि धकेलिदैं वा पारिदैं छन् । सबै नीतिलाई नेतृत्व गर्ने राजनीति दुषित भएका कारण समाजका विभिन्न तहमा कर्पाेरेट, उपभोक्तावादी संस्कृति हावी बन्दै गएको छ ।  

नेपालको ८० वर्षको इतिहास केलाउँदा पटकपटक विभिन्न राजनीतिक शक्ति, दलबाट लोकतान्त्रिक संघर्ष भएका छन् । संघर्षकै बलमा राजनीतिक परिवर्तन पनि भएका छन् । तर, विडम्बना ! तिनै संघर्षकारीकै गलत भूमिकाका कारण संघर्षबाट प्राप्त उपलब्धिहरु पटकपटक गुम्ने र नयाँ संघर्ष गर्नुपर्ने अवस्था दोहोरिइरहेको छ । यो आठ दशकको संघर्षको उतारचढाव अनि त्यसबाट प्राप्त शिक्षाले पनि लोकतन्त्रको ‘भाग्य’ बदलिएको छैन । 

देशका अधिकांश समस्याको मुख्य जड आन्दोलनकारी शक्तिमा आउने वैचारिक विचलन, भ्रष्ट आचरण नै हो । अपराधी, माफियाको राजनीतिमा जवर्जस्त प्रभाव या तिनीहरुलाई प्राथमिकता दिएर पद कब्जा गराउनु त्यसैको परिणाम हो । समय, परिवेश अनुसार अपराधी, गलत व्यक्तिहरुको भूमिका भने फरकफरक छन् ।  

गलत स्रोतबाट सम्पत्तिको आर्जन, धन्दावालाहरुलाई पार्टी र सरकारको प्रभावकारी पदमा पु¥याउने कुरा पछिल्ला वर्षहरुमा स्वाभाविक, सामान्य नै मान्न थालिएको छ । भ्रष्ट, अपराधी चरित्र वा दागी व्यक्तिलाई चुनावमा टिकट दिने रोग सबैजसो पार्टीमा छ । हिजो जोखिमपूर्ण संघर्ष गरेका कतिपय प्रभावकारी नेता पनि तिनै दागी, माफियाको प्रभाव र चङ्गुलमा फस्दै गएका छन् । तिनकै मतियार बनेका छन् । राष्ट्रिय पार्टीमा त यो अघोषित राष्ट्रिय सहमति नै बनेको छ । भ्रष्टाचार र भ्रष्टाचारीहरुलाई पार्टी विशेष फरकफरक परिभाषा गर्नु, आआफ्नालाई जोगाउने प्रतिस्पर्धा हुनुले ठूलो संघर्षबाट स्थापित लोकतन्त्रलाई कमजोर नै बनाइरहेको छ । 

भ्रष्ट कार्यमा कमसेकम सुधार गर्न पार्टीभित्र नै वैचारिक अभियान थालनी गर्नुपर्छ । योसँगै विद्यमान निर्वाचन प्रणालीमा पनि सुधार गर्न जरुरी छ । निर्वाचनमा जित्नेलाई टिकट दिने नाममा पैसावाल, गलत धन्दामा जोडिएकालाई टिकट दिने असाध्य रोगको निदान गर्नैपर्छ । 

वास्तवमा राजनीति सेवा हो । राजनीतिक पार्टीले मापदण्ड बनाएर भ्रष्ट, दागी नेताहरुलाई टिकट दिनु हुँदैन । यो विषय फेरि निर्वाचनसँग मात्र जोडिएको विषय होइन । विभिन्न तहका सरकार, संसदीय समिति अनि पार्टीका सानाभन्दा साना पदमा समेत इमान्दार व्यक्तिलाई नै प्राथमिकता दिन आवश्यक छ । राजनीतिलाई धन्दा, व्यवसाय होइन उच्च नैतिकता, संस्कार, जन र राष्ट्रसेवामा समर्पित स्वयम्सेवी कर्म हो भन्ने कुरालाई स्थापित गर्नुपर्छ । यसो हुँदा नै समाज अगाडि बढ्छ । -समयबद्ध साप्ताहिकबाट