न्यायिक सफाईपछि महरा सभामुखमा पुनस्र्थापित किन नहुने ?

 न्यायिक सफाईपछि महरा सभामुखमा पुनस्र्थापित किन नहुने ?

कृष्णबहादुर महराको निजी जीवन र राजनीतिक करिआरमाथि लागेको ग्रहण धेरै हटेको छ । बलात्कार प्रयासको अभियोगमा दण्डित गर्ने प्रयासमा उनलाई अन्तिममा न्यायालयले नै सफाई दिएको छ । महराले आफूमाथि लागेको अभियोगमा पाँच महिने कानुनी लडाईपछि मात्रै सफाई पाए । असोज १२ गते आरोपित भएर असोज १४ मा सभामुखको पदबाट राजीनामा गर्न वाध्य महरामाथि लागेको ग्रहण फाट्न फागुन ५ सम्मको दिन कुर्न प¥यो । ढिलै भयो, तर अदालतले नै सफाई दियो तत्कालीन सभामुख महरालाई । महरालाई जेल पठाएर उनको जीवन करिअर र पूर्व माओवादी नेतृत्वको तेजोवध गर्न उद्धत राज्य शक्तिको एउटा तप्का हारेको छ । 

यो जीत महराको एक्लो जीत मात्रै होइन, १० वर्षे जनयुद्धमाथि लागेको आरोप र त्यो विद्रोहको औचित्यमाथि गर्न खोजिएको संगठित प्रहारको एक हदसम्मको पराजय पनि हो । महराको अप्रमाणित आरोपलाई देखाएर माओवादीको युद्धकालीन योगदान र नेतृत्वको खलनायकीकरणका अनेक तुरुप राज्यसत्ता निकटहरुबाटै नग्न रुपमा देखाइए । तर, पनि न्याय मरेन र न्यायले मारेन, महरा र महराको राजनीतिक विरासतलाई । यस अर्थमा महराको यो जीत निजी जीवनको खुसी मात्रै होइन, जनयद्धकालीन माओवादी बलिदान र संघर्षको पनि जीत र खुसी हो ।

न्यायलयबाटै आरोपको दाबी नपुगेको ठहर भई निर्दोष सावित भएपछि अब राजनीतिक करिअरमा लागेको उनको दाग सकिएको छ । न्यायिक रुपमा नै बेदाग साबित महरा फलतः निर्वाचित माननीयमा यथावत रहने छन् । महराको सांसद पद पनि खुस्काउन अनेक चुकुल र छिद्रा खोज्ने समूह पनि धुलोमा विलीन भएको छ । अब युद्धकालदेखिका सबैका सम्मानित महरा सर, माननीयको हैसियतमा त सिंहदरवारमा स्वतः पुनस्र्थापित भएका छन् ।

तर, महरा सभामुखमा बहाल रहेकै बेलामा आरोपित र पदमुक्त गरिएका हुन । यसकारण उनी पूर्ववत सभामुखमा पुनस्र्थापित हुन सक्छन कि सक्दैनन् ? पार्टीले उनलाई सभामुखको पूर्व हैसियतमा फर्काउँछ कि फर्काउँदैन ? महराले सफाई पाएपछि आम रुपमा उठेको अनुत्तरित राजनीतिक प्रश्न यही हो । जब आफूमाथि लागेको दागलाई न्यायालयले नै बेदाग प्रमाणित गरिसक्यो भने पार्टीले अब महरालाई न्याय दिनुपर्छ कि पर्दैन ? पार्टीका लागि जीवन सुम्पेका महरालाई अब न्याय दिने पालो उनैले हुर्काए, बढाएको पार्टी नेकपाको नै हो ।

महराले आफूमाथि लागेको आरोप छानबिन होस भनेर राजीनामा दिएका थिए असोज १४ मा । उनीमाथिको आरोप करीब पाँच महिने न्यायिक छानबिनपछि गलत साबित भयो । अब उनले पूर्ववतः हैसियतमा फर्कने बाटो न्यायिक रुपमा खुल्ला भएको छ । तथापि, यसबीचमा संसदले सभामुखमा अग्निप्रसाद सापकोटालाई निर्विरोध चयन गरिसकेको छ । त्यसैले व्यवहारतः प्राविधिक रुपमा भोलि नै महरालाई सभामुखको कुर्सीमा बस्न मिल्ने अवस्था छैन । तर यसको मतलव तत्कालिन सभामुखमाथि लागेको आरोप न्यायलयले निरुपण गरेकाले उनको तत्कालीन हैसियत कायम रहनु पर्ने प्राकृतिक न्यायको सिद्धान्त नै हो । यो विषयमा अब सत्तारुढ नेकपा बिना पूर्वाग्रह खुल्ला भएर महराको अवरुद्ध राजनीतिक करिअर र हैसियत स्पष्ट पार्न र उनलाई पूर्ववत हैसियतमा पुनस्र्थापित गर्न अग्रसर हुनुपर्छ ।

संकट बाजा बजाएर आउँदैन । ‘दशा’ लागेको कसैले देख्दैन । महराका सामान्य मानवीय कमजोरीका कारण यो स्तरको अकल्पनीय आरोपका मतियार बने वा बनाइए । मानवीय त्रुटी वा भूल केही भएका थिए भने पनि त्यसैमा टेकेर महरालाई यो हालतमा पु¥याउन देशी विदेशी संगठित र सुनियोजित षडयन्त्र थियो भन्ने सबैका सामु एक कान दुई कान मैदान भइसकेको छ । 

अरु सबै बनिबनाउ जवाफका लागि घटेका घटाइएका घटना थिए, सिनेमाका दृश्य जस्तै । तर एमसीसीका विपक्षमा उभिने महराको चट्टानी अडान नै उनलाई सभामुखबाट पदमुक्त गर्नेदेखि कारागार पु¥याउनेसम्मको भित्री खेलको मुख्य कारक र कारण थियो । अहिले एमसीसीका पक्षमा जसरी देश र स्वयम् नेकपा नै विभाजित छ, त्यसका सूत्रधार उनै उतिबेलाका सभामुख महरा थिए । जसोजसो सरकार, उसैउसै सदर गरिदिएका भए महराकाण्डको यो असफल अराजनीतिक नाट्य मन्चन नै नबुनिन सक्थ्यो । 

महाराले एमसीसी संसदको अघिल्लो अधिवेशनमा पारित नगराएर गल्ती गरे भन्ने प्रधानमन्त्री केपी ओलीको पटकपटकको रेकर्डेड भर्सनले नै महरामाथि एमसीसी पक्षधरहरुले योजनावद्ध षडयन्त्र गरेका थिए भन्ने तथ्य स्वयं स्थापित भइसकेको छ । महरालाई एमसीसी अघि नबढाएको प्रतिशोधमा नै कारागारसम्म धकेलिएको सत्य अब दिनको घाम जत्तिकै छर्लङ्ग भएको छ । 

पूर्व महान्याधिवक्ता समेत रहेका महराका पक्षका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले समेत इजलाशदेखि मिडियासम्म बारम्वार भन्दै आएका छन, महरा ठूलो षडयन्त्रको शिकार भएका हुन । एमसीसी नै महराको राजनीतिक करिअर र विरासत खुइल्याउने अस्त्र बनाइएको थियो । उतिबेला सभामुखका रुपमा एमसीसी खुरुक्क पास गरिदिएका भए महरा अहिले पनि सभामुखमा त कायम रहन सक्थे होलान, तर एमसीसीबारे सिंगो देश यति धेरै गम्भीर बहसमा सामेल हुन पाउँदैन थियो ।

युद्धकालदेखि शान्तिकालको राजनीतिमा सधै बदनामीको भारी आफूले बोकेर पार्टी र प्रमुख नेतालाई सधै शिरमा बोकी हिडेका महरालाई अभियोग लाग्ना साथ पार्टीले कुनै छानबिन नै नगरी उल्टो मानसिक र मनोवैज्ञानिक टर्चर दियो । पार्टीले महराकाण्ड व्यक्तिगत चारित्रिक कमजोरी हो भन्ने मान्यता स्थापित गर्ने गरी रहस्यमयी मौनता साँध्यो । यो राम्रो होइन ।

चौतर्फी असहयोगका वावजुद न्याय जीवितै रहेको नजिरसहित कारागारमुक्त भएका महराले अब निसन्देह उनको राजनीतिक उचाईमा पुनस्र्थापित हुन पाउनु पर्छ । उनलाई संवैधानिक र कानुनी उल्झनहरुलाई उछिनेर उनको पूर्ववत हैसियतमा फर्काउन मुलतः नेकपा नेतृत्वले विशेष पहलकदमी लिनै पर्छ । महराले पार्टीको, युद्धकालको र शान्तिकालका आफ्ना योगदान विरुद्धका लडाई पाँच महिने ग्रहण पार गरेसँगै जितेका छन् । यो सुखद पक्ष हो । समयबद्ध साप्ताहिकबाट