कान्तिपुर मिडिया ग्रुपको निन्दनीय हर्कत

कान्तिपुर मिडिया ग्रुपको निन्दनीय हर्कत

संसार जानकार छ कि कोरोना भाइरसको आक्रमण विरुद्ध हाम्रो घनिस्ठ मित्र देश चीन सम्पूर्ण शक्ति खर्चेर लडिरहेको छ । अप्रत्याशित रुपमा विपत्ति सरह कोरोना भाइरस फैलिदै गर्दा राज्यशक्तिको सम्पूर्ण प्रयास कोरोना विरुद्ध परिचालन गरेकै कारण यो भाइरस महामारी हुन पाइरहेको छैन । चीनले भाइरस नियन्त्रणमा आशातित सफलता हासिल गर्दै गइरहेको छ । चीनले भाइरस नियन्त्रणमा गरेको अथक प्रयासलाई विश्व स्वास्थ संगठनदेखि सिङ्गो अन्र्तराष्ट्रिय जगतले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । 

यही रोग संसारका अरु कुनै देशमा सुरु भएको भए संसारभर यो महामारीकै रुपमा व्याप्त भइसकेको हुन सक्थ्यो । तर प्रविधि, औषधि र उपचार तथा रोगको पहिचान र नियन्त्रण तथा उन्मुलनमा चीन अत्यन्तै आक्रामक रुपमा सक्रिय हुनुकै परिणाम हो कि आज कोरोना भाइरस नियन्त्रण उन्मुख छ । चीन केही महिनाभित्रै यो भाइरस उन्मुलन पार्ने गरी विशेष कोरोना विरोधी अभियान रातदिन महाअभियान संचालन गरिरहेको छ ।

अकस्मात आइलागेको प्रकृतिक बिपत्ति सरह कोरोना भाइरसको संक्रमण विरुद्ध राज्यस्तरमा नै चीन लडिरहेको र क्रमिक रुपमा भाइरसलाई सखाप पार्न समेत सफलता नजिक भइरहेको बेला पश्चिमा मिडियाहरु यसलाई अतिरञ्जित गरेर चीनलाई बदनाम गर्न उद्धत देखिदै आएका छन् । रोगको संक्रमण भन्दा पनि ज्यादा पश्चिमा मिडियाहरुको गलत कुप्रचारले कोरोनाको संक्रमणलाई मानवजातिको ठूलो हाउगुजी बनाइरहेको छ । 

तिललाई पहाड बनाउने पश्चिमा मिडियाहरु यही निहुँमा चीनलाई चिथोर्न र बदनाम गर्न लागिरहेकै छन् । कम्युनिस्ट देशको सत्ता र शासकको विरोधलाई मूल धर्म मान्ने पश्चिमा मिडियाको यो शैली त पुरानै प्रवृत्ति हो, जसलाई चीनले सामना गर्दै र उचित प्रतिवाद पनि गर्दै आएको छ ।

यसै मेसोमा नेपालको पनि आफूलाई नम्वर १ दाबी गर्ने कान्तिपुर मिडिया ग्रुपको दैनिक अंग्रजी प्रकाशन द काठमाण्डु पोष्टले फागुन ६ गतेको अंकमा विचार पृष्ठमा कोरोनाको संक्रमणको गलत प्रचार गर्नमा नेपालबाट पनि योगदान दिएर आफ्नो साम्राज्यवादी चरित्र र चीन विरोधी हर्कतको नग्न नमूना देखाएको छ ।

शाही मन्त्रिमण्डलका उपाध्यक्ष डा. तुलसी गिरीले जनआन्दोलनका बेला आठौं दलको संज्ञा दिएको मिडिया हाउस कान्तिपुरले आफ्नो अंगे्रजी संस्करणको अखबारमा चीनलाई कोरोना भाइरसका चुनौति विरुद्धको लडाईलाई सघाउने गरी होइन, झन बदनाम गर्ने गरी विचार, फोटो र कार्टुन निरन्तर प्रकाशन गरिरहेको छ ।

नेपालको घनिस्ठ मित्र उत्तरी छिमेकी चीनलाई संकटका बेला सहानुभूति प्रकट गर्दै कोरोना विरुद्धको लडाईमा नेपाल पनि सँगसँगै छ भन्ने सन्देश दिने गरी ऐक्यवद्धता जाहेर गर्नुपर्ने बेलामा कान्तिपुर मिडिया ग्रुपले आधुनिक चीनका निर्माता तथा विश्वका उत्पीडित वर्गका महान आदर्श माओको बदनाम गर्ने गरी कार्टुन प्रकाशित गरेको छ । 

आजको विशाल चीनको जग हाल्ने विश्वविख्यात साम्यवादी दर्शनमा आफ्नो मौलिक विचारधारा पस्केका महान् चिनियाँ नेता माओको मुखमा कोरोना भाइरसको कारण मास्क लगाएको काल्पनिक कार्टुन बनाएर गरिएको बदनामीलाई काठमाण्डु पोष्टले किन उच्च प्राथमिकताका साथ प्रकाशन ग¥यो ?

एकातिर महान चिनियाँ नेता माओको बदनामी अर्कोतिर चिनियाँ मुद्रा युआनमा कोरोनाको भयावह चित्र । यसरी एकैपटक चिनियाँ महान नेता माओ र चिनियाँ मुद्राको अपमान हुने गरी बनेको कार्टुनलाई महत्वका साथ छापेर विश्वभर चीन विरोधी सन्देश दिन नेपालबाट काठमाडौं पोष्टले अतिरञ्जित गलत संचार गरेको छ ।

नेपाल जस्तो भूगोल जोडिएको छिमेकीले संकटमा परेका बेला चीनका महान नेता र उसको देशको करेन्सीलाई कार्टुन बनाउन वा कुनै पनि स्वरुपमा बदनाम गर्न हँुदैन । यो कुरा कैलाश सिरोहिया जस्ता पुराना मिडिया मालिक र उनको पत्रिकामा काम गर्ने पत्रकार, सम्पादकलाई राम्रै ज्ञान हुनुपर्ने हो । बिपत्तिका बेला छिमकीलाई साथ दिने नेपालीको पुरानो परम्परा हो । राणा र पञ्चायती शासनका बेलामा पनि नेपालले छिमेकी तथा अन्तर्राष्ट्रिय संकटहरुमा गच्छे अनुसार पैसा, सामान वा सकेको मद्धत गरेका घरेलु परोपकारी इतिहासका प्रसंग बग्रेल्ती छन् ।

चीन सधैं नेपालको हित चिताउने र कुनै पनि हिसाबले द्विपक्षीय सम्बन्धमा समस्या नरहेको असल छिमेकी हो । नेपालमा भूकम्प जाँदा चीनले पहिलो मोर्चामा रहेर सघायो । नेपालको पूर्वाधार, उद्योग वा सम्पदा हरेक खालको विकास निर्माणमा निस्वार्थ सहयोगी र उदार दाता देश पनि हो चीन ।

यसरी संकटमा परेको चीनलाई चिढ्याउन र घाउमा नून चूक छर्कने गरी मिथ्या सन्देश अन्र्तराष्ट्रिय दुनियाँमा पस्कन नेपालको अग्रणी संचार गृह खुलेर लाग्नु नेपाली मिडिया, जनता र देशकै लागि लज्जाको विषय हो ।

लामै समय अमेरिकामा बसेर दुई वर्षअघि सम्पादकमा नियुक्त अनुप काफ्लेले पत्रिकाको सम्पादकीय नेतृत्वबाट फागुन ७ मा औपचारिक बिदाई लिनु ठीक एकदिन अगाडि फागुन ६ मा चीनलाई खुइल्याउने सामाग्रीलाई महत्वका साथ प्रकाशन गरेर आफ्ना अमेरिकी प्रभुहरुको राम्रै सेवा गरेको देखिन्छ ।

तर पनि सम्पादकहरु अस्थायी र मिडिया स्थायी संस्था हुने तथ्यका आधारमा अब यो गलत प्रचारबाजीको सम्पूर्ण जिम्मेवारी कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले नै लिनु पर्छ । नेपालको तटस्थ परराष्ट्र नीति समेतमा प्रश्न उठ्ने गरी गरिएको यो अमानवीय र गैर व्यावसायिक कुप्रचारको लागि अध्यक्ष सिरोहिया नै मुलतः जिम्मेवार ठहरिनुपर्छ ।

यस्ता छिमेक सम्बन्धमा दख्खल पार्ने तथा अमानवीयताको पराकाष्ठा देखाउने प्रकाशनहरु गरेबापत प्रेस काउन्सिल नेपालले कान्तिपुरलाई हजार प्रश्नहरुका साथ उसको निहित नियतलाई उजागर गरिकन कार्वाहीका लागि कदम चाल्नु पर्छ । चीन सम्बन्धमा बढी जानकार र निकट पत्रकार किशोर श्रेष्ठ नै प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष भएका बेलामा यो प्रकरणलाई त्यसै सेलाउन दिनु हुँदैन । पत्रकार आचार संहिता उल्लङ्घन भएको, छिमेकीलाई अकारण चिढ्याएको, विदेश नीति विपरीत प्रकाशन गरेको, अमानवीय रुपमा सन्त्रास फैलाउन भूमिका खेलेको तथा समग्रमा घनेपालको घनिस्ठ मित्र चीनको हुर्मत लिने नाममा नेपाल र नेपालीको शिर झुकाएको अभियोगमा प्रेस काउन्सिलले कान्तिपुर मिडिया ग्रुपका मालिक सिरोहियालाई स्पष्टीकरण लिने र अन्य जायज कारवाही गर्ने हिम्मत देखाउन सक्नैपर्छ । किनभने यहाँ एक देशको स्वाभिमान र आदर्शमाथि संगठित र सुनियोजित रुपमा नै जानी जानी प्रहार भएको छ । 

चीनलाई बदनाम गर्ने र द्विपक्षीय सम्बन्धमा नै दरार आउने गलत प्रचारवाजी विरुद्ध नेपालस्थित चिनियाँ दूतावास मौन रहन सक्छ । तर, नेपालीहरुले नै यसको प्रतिवाद गर्नुपर्छ, जनस्तरदेखि सरकारी तहसम्मबाट । कोरोना भाइरस भनेको विशुद्ध मानव जीवनमाथिको प्राकृत्तिक विपत्ति हो । यो चीनले जानी जानी झिकेको रोग होइन । रोग विरुद्धको लडाई संसारभरका मानिसको साझा मुद्धा र चुनौति हो । त्यसलाई हसिमजाक वा खिसीटिउरीको विषय बनाउनु हुँदैन ।

सीमित अंग्रेजी अखबर चल्ने मुलुक नेपालबाट प्रकाशित हुने कान्तिपुरको प्रकाशनले समग्रमा देशकै हुर्मत लिएर चिनियाँ जनताको मनमा चिसो पसाएको छ । यसविरुद्ध सूचना तथा सञ्चार प्रविधि मन्त्रालय मात्रै होइन आवश्यक परे प्रधानमन्त्री स्तरबाट पनि सोधी खोजी र सजग गराउने लगायतका एक्सनहरु तत्काल लिइनुपर्छ । नेपाल चीन सम्बन्ध जसरी बिबादरहित र निष्कपट छ, त्यसलाई यो कोरोना संकट विरुद्धको लडाईको बेला झन मजबुत र दीगो तथा अरु विश्वसनीय बनाउनै पर्छ । नेपालीको शिर झुकाउने र चीनलाई चित्त दुखाउने कान्तिपुरको हर्कतको यसै कारण सबैले भत्र्सना र विरोध गर्नैपर्छ ।