१७ भाइ सम्पादक कान्तिपुरको घोडा बन्ने कि कोरोनाविरुद्धको योद्धा ?

 १७ भाइ सम्पादक कान्तिपुरको घोडा बन्ने कि कोरोनाविरुद्धको योद्धा ?

फणिन्द्र फुयाल

गजब देश नेपालका गजब सम्पादकहरु छन् । ती सम्पादकहरु नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको पछिल्लो विज्ञप्तिविरुद्ध कान्तिपुर मिडिया ग्रुपको समर्थनमा एक हुल भएर उभिन सक्छन । दूतावासको विज्ञप्तिले नेपाली प्रेसको वाक तथा प्रकाशन स्वतन्त्रता हनन हुने खतरा देख्न सक्छन । तर, विश्वभरकै मानव जातिका लागि बेमौसमको काल बनेर आइलागेको कोरोना भाइरसको संक्रमण विरुद्ध युद्ध लडिरहेको नेपालको घनिष्ठ मित्र देश चीनका पक्षमा कोरोना विरुद्धको लडाईमा हामी पनि सँगसँगै छौं भनेर एक शव्द पनि लेख्न सक्दैनन् ।

ती सम्पादकहरु कोरोनालाई समाचारका रुपमा बेच्न चीन विरोधी पश्चिमा मिडियाहरुको लोलीमा बोली मिलाउन आतुर छन् । तर, आतुर छैनन, मानवता विरोधी कुप्रचारको विरोधमा उभिन । ती सम्पादकहरुले दूतावासको विज्ञप्तिको खण्डन गरिरहदा र आफूहरु मात्रै प्रेस स्वतन्त्रताको असली मसिहा भएको दलील पेश गरिरहदा किन कोरोना भाइरस हामी सबैको साझा शत्रु हो भन्ने तथ्यवोध गर्न हिच्किचाइरहेका छन् ? यो विश्वभरकै मानव जातिको नयाँ शत्रुसँग लडिरहेको चीनको प्रयासको प्रशंसा विश्व स्वास्थ्य संगठन र राट्रसंघीय अंगहरुले समेत गरिरहदा नेपालका सम्पादकहरुलाई चीनले कोरोना विरुद्ध लडिरहेको लडाईं किन विज्ञप्तिको विषय अंश बन्न सक्दैन ?

सम्पादकहरु एउटा मिडिया हाउसको पक्षमा मात्रै किन खडा भएका छन ? के संविधानमा नै ग्यारेन्टी गरिएको नेपालको वाक तथा प्रेस स्वतन्त्रता त्यति लिखुरे र कमजोर छ कि त्यो चिनियाँ दूतावासको एउटा विज्ञप्तिकै बलमा धर्मराओस ? १७ भाइ सम्पादकहरुमध्ये अधिकांश कुनै न कुनै बेला कान्तिपुरमा जागिर वा जोडिएको भएका कारण कान्तिपुरको बचाउमा लागेका हुन कि ? कि कान्तिपुरले अहिले पनि उनीहरुको भरणपोषण गर्दै आएको भएर नूनको सोझो त पक्कै सम्पादकहरुले गरेका होइनन होला ?

सम्पादकहरुले बोल्ने, एकता प्रदर्शन गर्ने कोरोना भाइरसका फैलिदा संक्रमणहरुका विरुद्ध हो नि, न की दूतावासको विज्ञप्तिको खण्डनमा । त्यो पनि उनीहरुको विज्ञप्तिमा किन एउटा मिडियाको गलत समाचारको ढाकछोप गर्नु प¥यो ?

अफवाहपूर्ण गलत समाचार विचार वा कार्टुन छाप्ने कान्तिपुर । अनि दूतावासको  असहमतिपूर्ण विज्ञप्तिको खण्डन गर्ने कान्तिपुरसँग, त्यो केससँग सरोकार नै नभएका १७ भाइ सम्पादक किन ? यसले नेपालका सम्पादकहरु चीनविरोधी कुप्रचारमा कान्तिपुरकै मतियार रहेको सन्देश दिदैन र ? 

हो, कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी पत्रिका ‘द काठमान्डु पोष्ट’ मा प्रकाशित  एउटा लेखबारे काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार जारी गरेको विज्ञप्ति उक्त कार्टुन र लेख प्रकाशन गर्ने त्यो पत्रिकाका सम्पादक विरुद्ध मात्रै लक्षित छ । दूतावासले नेपाली प्रेसले गलत समाचार प्रवाह गरेको आरोप लगाएको होइन । एउटा पत्रिका विशेषका सम्पादकको गलत हर्कतको खण्डन गरेको हो । यो दूतावासको आफ्नो हक हो । 

बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमका १७ जना सम्पादकले चिनियाँ दूतावासको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको बताउँदै गर्दा चिनियाँ दूतावासले कूटनीतिक मर्यादा उल्लङ्घन गरेको त दाबी गरे । तर यसरी सम्पादकहरुले मोर्चावन्दी गरेर दूतावास विरुद्ध विज्ञप्ति जुलुस गर्ने चाहि स्वतन्त्र प्रेसको कुन धर्म हो भनेर आफ्नो अनुहार किन हेरेनन् ? स्वतन्त्र प्रेस वा पत्रकार आचारसंहितामा यसरी एउटा मिडिया हाउसको पक्षपोषण गर्दै छिमेकी दूतावास विरुद्ध वक्तव्यवाजी र कुुप्रचार गर्नु चाहिं सम्पादकहरुको व्यावसायिक धर्म र आचरण विपरीतको कदम हो कि होइन ? सम्पादकहरूले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको र त्यसको अभ्यास र रक्षा गर्न आफूहरू प्रतिवद्ध  रहेको पनि उल्लेख गरिरहदा आफ्ना सीमा र जिम्मेवारीपनालाई चाहिं चीन विरोधी दर्शाउन पाइन्छ भनेर कहाँ लेखिएको छ नि ? 

विज्ञप्ति जारी गर्ने सम्पादकहरू अखिलेश उपाध्याय, अमित ढकाल, अरूण बराल, किरण नेपाल, कृष्णज्वाला देवकोटा, गुणराज लुँइटेल, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, वसन्त बस्नेत, राजेन्द्र दाहाल, सुधीर शर्मा, शिव गाउँले, सुवास घिमिरे र हरिबहादुर थापाले आआफ्ना संचार माद्यम मार्फत कोरोना विरुद्ध भइरहेका चिनियाँ तथा बाँकी विश्वका प्रयासहरुबारे कति पनि विज्ञप्ति निकाले, विशेषांक छापे वा प्रसारण गरे ? त्यो कोरोना भाइरसविरुद्ध उनीहरु चीन विरोधी सूचना मात्रै बेचिरहेका छन् कि मानवीय धर्म पूरा गरेर रोगको विरुद्ध रियल जर्नालिज्म गरिहेका छन् ? 

तथ्य स्पष्टै छ कि मंगलबारको काठमान्डु पोष्टमा ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ शीर्षकमा एसिया न्युज नेटवर्कको आर्टिकल छापेर उसले चिनियाँ नेता माओ, चिनियाँ मुद्रा र चिनियाँ जनताको जानी बुझिकनै अपमानपूर्वक गलत सन्देश प्रवाह गरेको थियो । 

नाटोका लागि अमेरिकाका पूर्व राजदूत रहेका इभो ड्याल्डरको उक्त लेखमा चिनियाँ युआनमा भएको माओत्से तुङको तस्बिरमा मास्क लगाई उनलाई कोरोना जस्तै स्वरुपमा गलत मनसायका साथ कुप्रचार गरिएको थियो । यसले नेपालका १७ भाइ सम्पादक पनि इभो ड्याल्डरका उत्तराधिकारी झैं देखाएको छ । के सत्य त्यही हो त सम्पादक महोदयहरु ? समर्थन इभो ड्याल्डरको गलत अफवाहपूर्ण विचारको अनि विरोध चाहि चीनको अथक प्रयासको । आखिर किन ?

यो प्रकरणमा काठमान्डु पोष्टका सम्पादक अनुप काफ्लेले पहिलादेखि नै कुत्सित मनसायका साथ समाचारहरू छापिरहेको दूतावासको आरोप उपर कान्तिपुरको मौनता झन अटेरिपनाको नमूना हो । उसले क्षमायाचना गर्न किन नहुने ? १७ भाइ सम्पादकको काँधमा राखेर के अझै कान्तिपुरले चीन विरोधी निशाना साधिरहने हो ? 

सम्पादक काफ्ले पहिलादेखि नै चीनसम्बन्धी एकपक्षीय समाचार दिइरहेको र यसपालि हद नाघेको दूतावासको भनाइ खण्डन गर्न कान्तिपुर किन सकिरहेको छैन ? काफ्ले चीनविरोधी शक्तिको गोटी बनेको पनि दूतावासको आरोप छ भने कान्तिपुर किन भूतपूर्व भइसकेका सम्पादकको सति जान तयार देखिदंैछ रहस्यमय मौनताका साथ ? कान्तिपुरको गलत सूचना सम्प्रेणका लागि उसले मनासिव कारवाही गराउनै पर्छ राज्यले । यसरी घनिष्ठ छिमेकीलाई संकटका बेला चित्त दुखाउनु हुँदैन । चीन वा जो कोही छिमेकीलाई दुःखका बेला साथ दिनु सबै नेपालीको धर्म र कर्म हो । ती १७ भाइ सम्पादकले पनि अब कान्तिपुरको घोडा बन्ने होइन, कोरोना विरुद्धको योद्धा बन्न तयार हुनुपर्छ ।