शिवरात्री मनाउन देशभरका शिवालयहरुमा दर्शनार्थीको भीड
काठमाण्डौ, ९ फागुन । आज हिन्दू धर्मावलम्बीले शिवरात्रि पर्व मनाउँदैछन् । शिवरात्री मनाउन देशभरमा शिवालयहरुमा दर्शनार्थीको भीड लागेको छ । फागुन कृष्ण चतुर्दशीका दिन पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दु धर्मावलम्बीहरुको विश्वास रहेको छ।
शुक्रबार बेलुकी ५ बजेर ४० मिनेटसम्म त्रयोदशी तिथि रहेको र त्यसपछि चतुर्दशी प्रारम्भ हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा आराधना गरिरहेका छन् । पशुपतिनाथ मन्दिरमा शुक्रबार बिहानैदेखि दर्शनार्थीको घुईँचो लागेको छ ।
पशुपतिनाथको दर्शन गर्न आज बिहान तीन बजे नै पशुपतिका चार ढोका खोलिएको थियो । यस वर्ष शिवरात्रिका दिन १० लाखभन्दा धेरै दर्शनार्थीले लाइन लागेको २ घण्टामै दर्शन गरिसक्ने गरि व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले बताए ।
अहिले पशुपतिमा दर्शनका लागि पाँचवटा लाइन लगाइएको छ ।
मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीमा रहेको फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एकरएक लाईन गरी दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव ढकालले जानकारी दिए ।
प्रतिक्रिया