एमसिसी अनुमोदनका लागि छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

एमसिसी अनुमोदनका लागि छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं, १० फागुन । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदानका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । बैठक दिउँसो ३ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बालुवाटार श्रोतले जनाएको छ । 

नेकपाको एमसिसी अध्ययन कार्यदलले एमसिसी सम्झौता यथास्थितिमा अनुमोदन नगर्न पार्टीलाई सुझाव दिएपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा कार्यदलको सुझावसहितको प्रतिवेदन र अब के गर्ने भन्ने विषयमा निर्णय हुनेछ । कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हिजो सुझावसहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा सम्झौता नसच्याई संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई सुझाव दिइएको छ । 

कार्यदलका संयोजक झलनाथ खनालले एमसिसीको अहिलेको प्रावधानअनुसार अनुमोदन गर्न नसकिने जानकारी दिएका छन् । एमसिसी सम्झौता नसच्याई अनुमोदन नगर्न आफूहरुले सर्वसम्मत सुझाव दिएको उनले भनाई छ ।