सबैलाई रुवाउँदै विदा भए रवीन्द्र 

सबैलाई रुवाउँदै विदा भए रवीन्द्र 

काठमाडौं । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत दिवंगत भएका सातै जनालाई शुक्रबार काठमाडौंको सैनिक मञ्चमा अन्तिम श्रद्धाञ्जली दिइयो । मन्त्री रवीन्द्रको गृह जिल्ला पोखरा अत्येष्टि भयो । श्रद्धाञ्जली सभामा उपस्थित आफन्त, नेकपाका कार्यकर्ता, तथा शुभचिन्तकहरुलाई रुवाउँदै अस्ताए उनी ।

उनको अन्तिम दाहसंस्कारमा पोखरामा उपस्थित रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाए भने नेकपाका सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए । 

मन्त्री अधिकारीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री पद्ममा अर्याल, नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारी, गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपाका नेता योगेश भट्टराई, श्रममन्त्री गोकर्ण विष्ट, काङ्ग्रेस नेता यज्ञबहादुर थापालगायतले श्रद्धाञ्जलि दिएका थिए । 

रवीन्द्रकी श्रीमती विद्या भट्टराई र दुई छोराहरुलाई सात्वना दिन नेतृ रामकुमारी झाँक्री, रविन्द्रका जेठान तथा प्रधामन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई लगायतका अन्य आफन्तजनको पनि उपस्थिति रहेको थियो । श्रद्धाञ्जलि अर्पण गर्नका लागि हजारौँ सर्वसाधारण घण्टौँ लामबद्ध भएका थिए ।