अमेरिकी राष्ट्रपति ट्रम्प भारतमा, यस्तो छ भारत आउनुको खास कारण...

अमेरिकी राष्ट्रपति ट्रम्प भारतमा, यस्तो छ भारत आउनुको खास कारण...

काठमाडौं, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि आज भारतको अहमदाबाद आएका छन् । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

ट्रम्पले अहमदावादमा आयोजित ‘नमस्ते ट्रम्प’ समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । सो समारोहमा लाखौं भारतीय नागरिक सहभागी हुने बताइएको छ ।

श्रीमती मेलानियासँगै भारततर्फ उड्नुअघि उनले भारत पुग्न आफू आतुर भएको प्रतिक्रिया दिएका थिए । राष्ट्रपति ट्रम्पको भारत भ्रमणबाट दुई देशबीच रक्षा र रणनीतिक सहयोग बलियो हुने विश्वास गरिएको छ ।
अहमदावाद विमानस्थलदेखि ‘नमस्ते ट्रम्प’ समारोह आयोजना हुने स्थान नवनिर्मित मोटेरा क्रिकेट रंगशालासम्मको सडकको दुवै किनारमा भारतीय नागरिकहरु उभिएर स्वागत गरेका छन् ।

अहमदावादपछि ट्रम्प आगरास्थित ताजमहल पुग्नेछन् । त्यसपछि उनी भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गर्न ट्रम्प राजघाट जाने छन् । त्यसपछि हैदरावाद हाउसमा ट्रम्प र मोदीबीच प्रतिनिधिस्तरीय वार्ता हुने छ ।