नेकपामा बढ्दो ‘खुच्चिङ’प्रवृत्ति

नेकपामा बढ्दो ‘खुच्चिङ’प्रवृत्ति

एनके दाहाल

कमिशन डिलको अडियो रेकर्ड सार्वजनिक भएपछि सञ्चार तथा प्रबिधि मन्त्री गोकुल बास्कोटा राजीनामा दिन बाध्य भए । बास्कोटाले राजीनामा दिएपछि सामाजिक सञ्जालमा उछित्तो काडियो । विभिन्न कथा र कहानी जोडेर उडाइयो । नेकपाकै चिनिएका नेता कार्यकर्ता पनि उपदेशसहितका भनाइ राखेर पाठ पढाउन तल्लिन रहे । बास्कोटाको पक्षमा एकाध ब्यक्तिको मात्र भनाइ सार्वजनिक भयो । प्रधानमन्त्री के.पी शर्मा ओलीको मन्त्रिपरिषदका एक मात्र उत्तराधिकारी भन्दै उनको गुणगान गाउने हनुमान शैलीका ब्यक्तिहरु पनि यो प्रकरणमा साखुल्ले पल्टिए । 

केही महिनाअघि तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि वलात्कारको आरोप लाग्यो । त्यस समयमा पनि समर्थन र विरोधको अवस्था बास्कोटाकै जस्तै थियो । महरामाथि षडयन्त्र भयो भन्नेहरुमाथि नै आरोप लगाउने काम भएको थियो । तत्कालीन कानुन मन्त्री शेरबहादुर तामाङको हालत पनि उस्तै थियो । अन्य नेताहरुका विभिन्न काण्ड तथा आरोपमाथि पनि यस्तै हुँदै आएको छ । देखिने घटनाको विरोध गर्नु स्वाभाविक हो । तर, हावादारी र अविश्वसनीय आरोपमा पनि नेकपाकै सदस्यहरु पनि रमाउँदै सामाजिक सञ्जालमा नैतिकवान देखिने गर्छन । 

यी उदाहरणले नेकपा एक ढिक्का नरहेको प्रमाणित गर्दछ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारमाथि भ्रष्टाचारको मुद्दा दर्ता भयो । गच्छदारले सम्बन्धित मन्त्रालयको क्षेत्राधिकार मिचेर मन्त्रिपरिषदमा प्रस्ताव लगी भ्रष्टाचार गरेका थिए । उनीमाथि मुद्दा दर्ता भएपछि नेपाली कांग्रेसले संसद अबरुद्ध ग¥यो । सबैले त्यसको बिरोध गरेपछि संसद त खुल्यो, तर कांग्रेसले गच्छदारमाथिको भ्रष्टाचार प्रकरणलाई राजनीतिक मुद्दा बनाउने निर्णय गरेको छ । भ्रष्टाचार मुद्दामा समेत कांग्रेस एकजुट भयो । संसदीय प्रणालीमा प्रतिपक्षको काम सरकारको खराब कामको बिरोध गर्दै खबरदारी गर्नु हो । तर बिडम्बना कांग्रेसले सरकार र संवैधानिक निकायको राम्रो कामको बिरोध गरेर जग हसाइरहेको छ । गुटैगुटको महासंघ नेपाली कांग्रेस आफ्ना नेताहरुले खराब काम गरे पनि एकजुट बनेर पार्टीमा संरक्षणको नीति लागू गर्न लागिपरेको छ । राजनीतिक हिसावले यो काम गलत हो भन्नेमा कसैको विवाद छैन । 

कांग्रेसको ठीक विपरीत नेकपामा भने माथिल्लो तहबाटै कुनै समस्या पर्दा ‘खुच्चिङ’ भन्ने प्रबृत्ति प्रकट हुने गरेको छ । आफू निकट नेता कार्यकर्ता ठीक बाँकी सबै बेठीक भन्ने शैलीमा प्रस्तुति देखिने गरेको छ । महरा पक्राउ परेपछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अन्तर्वार्ता दिएर एमसीसी सभामुख महराकै कारण टेबुल हुन नसकेको भन्दै अर्को अधिवेशनबाट पास हुने अभिव्यक्ति दिए । एमसीसीकै कारण महरामाथि षडयन्त्र भएको भनेर आवाज उठिरहेको बेला उनको यस्तो अभिब्यक्ति आएपछि महरामाथि ठूलै षडयन्त्र भएको भन्नेहरुलाई बल पुग्यो । बास्कोटा राजीनामा दिन बाध्य भएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि नछोडिने र कारबाही गरिने अभिब्यक्ति दिए ।

महराको केस व्यक्तिगत र एउटी महिलाको आवेशजन्य अभिब्यक्ति थियो । यद्यपि यो नैतिकतासँग जोडिएको मुद्धा हो । तर, बास्कोटाको व्यक्तिगतभन्दा पनि राष्ट्रलाई धोका दिने केस हो । दलालहरु नीति निर्माता र नेताहरुको ओछ्यानमा पुगेको बलियो प्रमाण हो, बास्कोटाको अडियो प्रकरण । महरा र बास्कोटाको केसलाई एउटै तुलोमा जोख्नै मिल्दैन । तर, नेताहरु भने किन फरक ? प्रश्न सोध्नैपर्ने हुन्छ । आफ्नो समूहका नेता पर्दा किन बचाउन खोजिन्छ र अर्को समूहका नेतामाथि किन ‘खुच्चिङ’ भनिन्छ ? प्रत्येक घटना र बिषय फरकफरक भएकाले फरकफरक दृष्टिकोण आउन सक्छ । तर आफू निकट र टाढाको छुट्याई किन व्यवहार हुन्छ ?

गुटगत समस्या

नेकपा दुई पार्टी मिलेर बनेको हो । यसमा दुई धार हुनु स्वाभाविक पनि हो । तर, नराम्रो काम र विवादमा पार्टी नेतृत्व र पार्टीको एउटै मापदण्ड तथा धारणा हुनुपर्ने हो । एमाले र माओवादी भनेर फरकफरक व्यवहार हुनलाई किन एउटै पार्टी भन्नु ? यतिखेर नेकपामा एमाले र माओवादी धार त छुट्टिन्छ नै त्योसँगै छुटिन्छ गुटगत पहिचान । एउटा धारले अर्को धार र एउटा गुटले अर्को गुटलाई गर्ने व्यवहार र दिने टिप्पणी विरोधी पार्टीको भन्दा कडा हुने गर्दछ । पूर्व एमालेमा माथिदेखि तलसम्म रहेको दुई गुट र धेरै स्वार्थ समूह तथा पूर्व माओवादीमा रहेका विभिन्न विचारधारा एउटै पार्टीमा छन्, तर फरकफरक आग्रहका साथ । स्वार्थको लागि पूर्व पार्टीको तुष अहिले आएर पोख्ने काम समेत हुने गरेको छ । नेकपामा एउटा पार्टी तर फरकफरक उद्देश्यको लागि फरकफरक कोणबाट अघि बढ्ने शैलीमा काम भइरहेको छ । त्यही गुटगत समस्याको कारण पार्टी नेतृत्वलाई होच्याउने, अपमान गर्ने र सिध्याउन षडयन्त्र गर्न बाहिर कतै खोज्नु पर्दैन, आन्तरिक पार्टी पङ्क्तिबाटै भइरहेको छ । नेतृत्वले समयमै नसोंच्ने हो भने गुटगत समस्याले पार्टी छिन्नभिन्न हुन र जनतालाई निराशा दिन समय लाग्दैन । 

समस्या नेतृत्वमै 

मुलुकको आवश्यकता अनुसार नेतृत्व नेकपा बनाउन तयार भयो । तर, पार्टी एक बनाए पनि एक अर्काप्रतिको अविश्वास र शंका छोड्न सकेनन् । सानो झुण्डमा रमाउने र कोठे प्रवृत्तिका ब्यक्तिहरुको कुरामात्र सुन्ने शैली छोड्न सकेनन् । पार्टी पद्धति र जनवादी केन्द्रीयता भुलेर अर्को धार या गुटको नेतामाथि भद्दा गाली एवम् बिरोध गर्ने ब्यक्तिहरुलाई पुरस्कृत गर्ने काममा झन् बढावा दिइयो । नेतृत्वको यो शैलीले फरक धार या गुटको नेताको विरोध गर्दा ठाउँ पाइन्छ भन्ने लोभले मझौलास्तरका नेता कार्यकर्ता फरक धार र गुटको नेतलाई खुइल्याउन लागिपरेको छ । नेतृत्वले चाकडी गर्ने, पार्टीको अर्को नेतामाथि गाली गरेर खुसी पार्ने जस्ता हर्कत गर्ने व्यक्तिलाई पुरस्कृत गरुन्जेल पार्टी सही ढङ्गले अघि बढ्नै सक्दैन । नेकपाको नेतृत्व तह संघर्ष गर्न साँच्चिकै सक्षम मात्र छैन, परम्परागत संरचना भत्काउन, विरोधीमाथि प्रहार गर्न र पार्टीभित्र पनि लड्न सक्षम भएकोले त्यस्तै ब्यक्तिहरुको साथ लिन पनि सक्छ । तर, यतिखेर सरकारको नेतृत्व गरिरहेकाले निर्माणको समय हो । तर, त्यस अनुरुप काम भएको छैन । त्यसैले भन्न सकिन्छ, नेकपा नेतृत्वले लड्न जान्यो बनाउन जानेन । अब यसो भनेर छुट पाउने अवस्था छैन । 

विधि र प्रक्रिया खोई ?

नेकपा निर्माण भएपछि जुन रुपमा निर्णय आउने गरेको छ, त्यो सर्वसहमतिको भनिए पनि धेरैको सहमति र केहीको बाध्यात्मक हुने गरेको छ । सञ्चार मन्त्री बास्कोटाको राजीनामाकै सवालमा पनि प्रधानमन्त्री ओलीले सुरुमा नमानेको र पछि मान्न बाध्य भएको बताइन्छ । अन्य सवालमा पनि त्यस्तै हुने गरेको छ । जसको कारण मौका पाउने बित्तिकै बिगतको भन्दा फरक समीकरण गरेर फरक निर्णय ल्याउने गरिएको छ । त्यो निर्णय पनि राम्रो भए त ठीकै हो, तर त्यसो हँुदैन । पार्टी सञ्चालनको विधि नै बनाइएको छैन । कम्युनिष्ट पार्टीको त कुरा छोडौं, बुर्जुवा पार्टीको शैलीमा पनि पार्टी सञ्चालन भइरहेको छैन । दुई नेता मिले जे पनि ठीक हुने र दुई नेता नमिलेमा सचिवालयमा जसले बहुमत पु¥याउँछ, उसैको चाहना अनुसार निर्णय हुने गरेको छ । पार्टीले कुनै बिधि बनाएमा त्यसको उल्लङ्घन नेतृत्व तहबाटै हुने गरेको छ । नेकपाले केही दिन आचारसंहिता सार्वजनिक गरेको थियो ।

त्यसको उल्लङ्घन तल्लो तहबाट होइन, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीकोे जन्मोत्सवमा भयो । तर प्रश्न सोध्ने कसले ? मुखको भरमा बिधि र प्रक्रिया लागू गर्ने नेतृत्वले आचारसंहिता अरुको लागि बनाएको आफ्नो लागि होइन भन्ने त होइन होला । जे भए पनि नेकपा एकले अर्कोलाई सिध्याउने, जसरी भए पनि पद पाउने, मुलुक र पार्टीको लागि नगरे पनि नेतृत्वलाई अनावश्यक चाकडी गर्नेहरुलाई स्थान दिने प्रबृत्तिको अन्त्य तथा पार्टीलाई बिधि र प्रक्रिया अनुसार सञ्चालन नगरुन्जेल नेकपा पार्टी होइन, पाटी र चौतारोमा मात्र सीमित रहने निश्चित छ । समयबद्ध साप्ताहिकबाट