चीनविरुद्ध ‘मिडिया प्रोपोगाण्डा’

चीनविरुद्ध ‘मिडिया प्रोपोगाण्डा’

फणीन्द्र फुयाल ज्वाला

विषय प्रवेश :

नेपालको एक अंग्रेजी दैनिक पत्रिका ‘काठमाडौं पोष्ट’ मा भर्खरै प्रकाशित लेखमा विश्व सर्वहारा बर्गका नेता माओत्सेतुङको तस्बिर र चिनियाँ पैसा (युआन) को दुरुपयोग गर्दै कोरोना भइरस र मानवीय समवेदनालाई कुल्चिदै प्रहार गरिएको विषयले अहिले नेपाली समुदाय, समग्र प्रेस जगत, नेपाल सरकार र नेपालस्थित चिनियाँ दुतावासको ध्यान आकर्षित गरेको छ । आफूलाई व्यावसायिक पत्रकारिताको मसिहा ठान्ने केही कथित मिडिया ‘टाइकुन’ हरुले कसरी आफ्ना ‘कन्टेन्ट’ हरुमार्फत जनतामा भ्रम फैलाउँदै गएका छन् र अमेरिकी साम्राज्यवादको पक्षमा खुलेआम वकालत गरिरहेका छन् भन्ने यो पछिल्लो ज्वलन्त उदाहरण हो । यसैलाई भनिन्छ ‘मिडिया प्रोपोगाण्डा’ । 

के हो प्रोपोगाण्डा ?

प्रोपोगाण्डाको अर्थ प्रचार हो । ‘प्रोपोगाण्डा’ तीन प्रकारको हुन्छ । सेतो प्रोपोगाण्डा, कालो प्रोपोगाण्डा र खैरो प्रोपोगाण्डा । सेतो भनेको जस्ताको तस्तै सत्यतथ्य प्रचार, कालो भनेको शतप्रतिशत झुटको खेती र खैरो भनेको आधा सत्य र आधा झुटको मिश्रण । कान्तिपुर प्रकाशन प्रा.लिको अंग्रेजी दैनिक पत्रिका ‘काठमाडौं पोष्ट’ले साभार गरी प्रकाशित गरेको लेख र त्यहाँ प्रयोग गरिएको तस्बिर भने कालो मिडिमा प्रोपोगाण्डा हो । जुन सफेद झुट हो । यस्तो प्रोपोगाण्डा विगतमा हिटलरको शासनसत्ताका बेला ग्वेबल्स नामक एक सञ्चारमन्त्री नियुक्त गरिएको थियो, जसले आफ्नो शासनसत्ता टिकाउन जनतामा यसैगरी भ्रम छर्थे । एउटै झुट समाचारलाई सयौँ पटक ‘यो सत्य हो’ भन्दै प्रचार गर्दा त्यसले सत्यताको मान्यता प्राप्त गर्दछ भन्ने त्यतिबेलाको बुझाइ थियो । त्यही बुझाइ आजको युगमा नेपाली समाजमा प्रयोग गर्न खोज्नु भ्रम र मुर्खता हो । किनकि अहिलेको २१ औँ शताब्दीको समाज शिक्षित, चेतनशील छ । अहिले एउटा मात्र मिडियामा भर पर्नुपर्ने र उसकै मात्र ‘कन्टेन्ट’को विश्वास गरिहाल्नु पर्ने स्थिति छैन ।  

के भएको थियो ?
केही थान सम्पादकहरुले वक्तब्य जारी गर्दै कोकोहोलो मच्चाउँदै सामाजिक सञ्जाल फोहोर गर्नुलाई त झन् तिनीहरु मुटु मात्र होइन चेतनशील मस्तिष्क नै नभएका सम्पादकहरु भएको प्रमाणित गर्दछ । अहिले कोरोना भाइरसले छिमेकी देश चीन आक्रान्त छ । नेपाल र नेपालीहरु कुनै पनि राष्ट्रिय रोग, भोक, शोक र संकटमा पर्दा अर्को छिमेकी मुलुकले हामीमाथि यसैगरी गलत प्रचार गरी अपमान गरेको भए त्यो नेपाल र नेपालीहरुलाई सह्य हुने थिएन । ‘एशियाका तारा’को उपमाले चिनिएका र नेपालमै जन्मिएका गौतम बुद्धका बारेमा भारतले बेला बेलामा भ्रम सिर्जना गर्दा हाम्रो मन मुटु कति दुख्छ ? त्यो प्रत्येक नेपालीले भोगेकै पीडा हो । 

जसरी चीनले अर्थिक बृद्धि गर्दै अमेरिकालाई टक्कर दिएर विश्वमा आफ्नो बजार बिस्तार गर्दै गएको छ र विश्व बजारमा प्रथम स्थान ओगट्दै गएको छ, त्यसका बिरुद्ध अमेरिकाले आफ्ना एजेन्टहरुमार्फत चीन बिरुद्धका गतिबिधिहरु, चीनलाई हेप्ने, खेद्ने, खुइल्याउने र एक्ल्याउने रणनीति अख्तियार गरेको छ । त्यसको ज्वलन्त उदाहरण हो काठमाडौं पोष्टमा प्रकाशित उक्त लेख र त्यसमा विकृत पारी छापिएको माक्स लगाएको माओको तस्बिर र चिनियाँ मुद्रा युआन ।

भौतिक रुपमा मरेर गए पनि सैद्धान्तिक र दार्शनिक रुपमा युगौँसम्म बाँचिरहेका एक महान नेता माओको कोरोना भाइरसका नाममा अपमान भएको उक्त लेखमा प्रयोग गरिएको तस्बिरबाटै प्रस्ट हुन्छ । त्यसैगरी अर्को गम्भीर प्रश्न कोरोना भाइरसले चीन प्रताडित भइरहँदा उक्त महामारीका बारेमा मजाक गरेको विषय धर्तिको कुनै पनि कुनामा बस्ने जुनसुकै जात, धर्म, लिंग, समुदाय, र राष्ट्रियता बोकेको मानव जातिका लागि सह्य छैन । यो मानवीय भावनामाथिको गम्भीर चोट हो । पत्रकारिताको नैतिकताले पनि कसैको भावनामाथि खेलवाड र मजाक गर्न नपाइने उल्लेख गरेको छ । यसप्रकारको भ्रामक तस्बिर प्रयोग गरी सामाग्री प्रकाशित भइरहँदा नेपाली प्रेस जगतलाई आचासंहिताको पाठ सिकाउने प्रेस काउन्सिल नेपालले कस्तो कदम चाल्ला त्यो भने आम मिडिया रिडर, मिडिया स्कलर र मिडिया कन्जुमरहरुको लागि चासोको विषय बनको छ ।

नेपालको असंलग्न परराष्ट्र नीति हो । यस्तो नीति अबलम्बन गरेको नेपालले आफ्ना सबै कूटनीतिक सम्बन्ध भएका मुलुकहरुसँग समान सम्बन्ध कायम गर्नुपर्छ र नेपाली मिडियाले पनि देशको नीति, नियम र कानुनको पूर्ण रुपमा पालना गर्नु पर्छ । नेपालमा अहिले केही थान यस्ता पत्रकारहरु छन् जो आफूलाई यो देशको सम्पादक आफूहरुमात्र हो बाँकी अरु कोही केही होइनन् भन्ने अहम्का साथ बक्तव्यबाजी गरिरहेका छन् । लाग्छ, उनीहरुले मात्र यो देशको पत्रकारिता क्षेत्र धानिरहेका छन् । 

कान्तिपुर पब्लिेशन प्रालिको सहप्रकाशन ‘काठमाडौ पोष्ट’मा प्रकाशित उक्त समाचार अन्य विदेशी मिडियाबाट साभार गरिएको भएता पनि उक्त समाचारमा प्रकाशित विषयबस्तु भन्दा पनि तस्बिर घोर आपत्तिजनक छ । यो तस्बिरले चिनियाँ जनताले उच्च रुपमा सम्मान प्रकट गर्ने नेता माओको घोर अपमान गरेको छ र चीनको सार्वभौमसत्तामाथि नै प्रश्न चिन्ह खडा गरेको छ । चिनियाँ जनबैंकले निस्काशन गरेको १०० को नोटमा नेता माओको फोटो अंकित छ, जसलाई माओको मुखमा मास्क लगाएर फोटो कोलाज गरी तस्बिर प्रकाशन गर्नुलाई पत्रकारिताको कुन सिद्धान्त भन्ने ? नेपालको प्रेस स्वतन्त्रताको वकालत गर्ने केही थान सम्पादकहरुले पत्रकारिताको सिद्धान्तलाई पनि आत्मसात गरे पत्रकारिता पेशा कत्ति मर्यादित, जिम्मेवार र सुगन्धित हुन्थ्यो होला !

रहलपहल 

यदि कोरोना भाइरस बिरुद्ध लडिरहेका चिनियाँ जनताले मास्क लगाएको फोटो उक्त सामाग्रीका साथ प्रकाशित गर्न चाहेको भए त्यस्ता तस्बिर चिनियाँ समाचार एजेन्सी सिन्ह्वा, चिनियाँ सरकारी वेबसाइट र गुगल सर्च इन्जिनमा पनि पर्याप्त मात्रामा उपलब्ध थिए । पत्रकारिताको मर्यादा विपरीत अमेरिकी दूताबासको स्याबासी र तथास्तु प्राप्त गर्ने उद्देश्यले नेपालका कुनै पनि मिडियाहरु आफ्नो नौतिकतालाई रछ्यानमा फाल्दै पत्रिकाका पानाहरु भर्नुलाई जनताले सत्य थाहा नपाउन्जेल त अत्मीयता र न्यानो होला तर सत्यको पर्दाफास भए पनि त्यो केवल पिसावको न्यानोमा परिणत हुने छ । पछि त्यस्ता सामाग्री प्रकाशित गर्ने मिडिया र उक्त सन्देश पढ्ने जनताबीचको सम्बन्धमा चीसोपना देखापर्ने छ र त्यस्ता मिडियाप्रति क्रमशः जनविश्वास  घट्दै जाने छ । 

त्यसैले मिडियाको धर्म भनेकै निश्पक्ष र स्वतन्त्र रुपमा कलम चलाउनु हो । चीन, चिनियाँ सरकार, चिनिया जनता र चिनिया दूतावासलाई चिढ्याएर शक्तिशाली मानिएको अमेरिका, अमेरिकी दूतावास र अमेरिकी सरकारको पक्षपोषण गर्नु पत्रकारिताको कुन सिद्धान्तभित्र पर्छ १७ भाइ सम्पादकज्यू ? के यो देशमा अन्य सम्पादक छैनन् ? के यिनै १७ जनाले लेखेको मात्र सत्य अरु चाहिं गलत ? सबैभन्दा शक्तिशाली त आम सचेत पाठक हुन् । अब यो बहसलाई दूधको दूध पानीको पानी छुट्याउने जिम्मा आम पाठक वर्गको स्थानमा पुगेको छ । जय पत्रकारिता ! समयबद्ध साप्ताहिकबाट