रवीन्द्रको क्षेत्रमा वामदेव !

रवीन्द्रको क्षेत्रमा वामदेव !

गएको बुधवार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी दिवंगत भएका पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पोखरामा हुने श्रद्धाञ्जली कार्यक्रममा भाग लिन नेकपाको तर्फबाट बामदेव गौतम र नारायणकाजी श्रेष्ठ गएका छन् । 

रवीन्द्र अधिकारीसँग बामदेवको भावनात्मक सम्बन्ध लगायतका कारण अधिकारीको अन्तिम कार्यक्रममा पार्टीले उनैलाई छानेको हुनसक्छ । यसरी नै पार्टीमा एकताको भाव देखाउन नारायणकाजी श्रेष्ठलाई पनि सहभागी गराएको हुनसक्छ । रवीन्द्र अधिकारी पूर्व नेकपा एमाले ०५४ सालमा विभाजित हुँदा बामदेवले नेतृत्व गरेको तत्कालीन नेकपा (माले) तिर लागेका थिए । त्यहीँदेखि गौतम र अधिकारीको सम्बन्ध घनिष्ठ रही आएको थियो ।

पोखराको श्रद्धाञ्जली कार्यक्रममा पूर्व नेकपा मालेका नेता वामदेवका अलावा योगेश भट्टराईसहितका नेता काठमाडौंबाट सहभागी भएका छन् । यसले उनीहरुको रवीन्द्रसँगको भावनात्मक सम्बन्ध गाढा रहेको नै देखाउँछ । 

पोखराको श्रद्धाञ्जली कार्यक्रममा गौतमको सहभगितालाई लिएर अनेक अडकलबाजी गर्न थालिसकिएको छ । संसदमा अधिकारीको निर्वाचन क्षेत्रबाट बामदेवलाई स्थापित गर्न सकिन्छ कि भन्नेको लागि उनको यो सहभागिता अर्थपूर्ण रुपमा लिएका छन् ।  

सरकारको बहालवाला मन्त्रीको अन्त्येष्टि कार्यक्रममा सरकारकै कुनै वरिष्ठ मन्त्रीको सहभागिता हुनु जायज हुने हो । यो कार्यक्रममा दुई अध्यक्षमध्ये एक अध्यक्ष आउने अपेक्षा पोखरावासीको थियो ।  तर, त्यसो नगरेर विगत संसदमा पराजीत गौतम र श्रेष्ठ दुवैलाई पठाएर यस्तो आशंका गने ठाउँ प्रसस्त गरिदिएको छ । निर्वाचनमा पराजय व्यहोरिसकेपछि पनि सांसद बन्न गौतमले पटकपटक प्रयास गरेका थिए । 

नारायणकाजी पनि सांसद बन्न लालायित भए पनि उनले मुखै भने फोर्न सकेका छैनन् ।