मिनेन्द्र रिजालको प्रश्नः तपाईको घरले खड्गप्रसाद होइन नयाँ महाराजा सवारी भएछन् भन्यो होला ?
काठमाडौं, १३ फागनु । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुन लोकमा हुनुहुन्छ भनि प्रश्न गरेका छन् ।
प्रधानमन्त्री ओलीको जन्मदिनको तामझाम देखेर जन्मघरले पनि चिनेन होला भन्दै उनले भने, ‘घरलाई लाग्यो होला, आफ्नो खड्गप्रसाद यो होइन, नयाँ महाराजाको सवारी भएछ । यती होल्डिङको पैसा र हेलिकप्टरले पुर्याएको त्यो केक देख्दा त्यो घरले अपमानित महसुस गर्यो होला ।’
प्रधानमन्त्रीले जन्मदिनमा चार हजार बृद्धबृद्धालाई सारी र कोट बाँडेको आफूले सुनेको रिजालले बताए । उनले भने, ‘पहिले आफ्नो जन्मदिनमा केटाकेटीलाई मिठाई बाँडेर चित्त बुझाउनुपर्ने राजा महाराजालाई पनि इर्ष्या लाग्यो होला प्रधानमन्त्रीज्यू ।’
‘हिजो राजनीति गर्ने भए श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी । आज थरिथरीका श्रीपेच लगाएका कम्युनिस्ट आत्मजन मित्रलाई के भन्दै होलान मदन भण्डारी ? उनले प्रश्न गरे ।
सांसद रिजालले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रीको दाबीलाई निवर्तमान सञ्चारमन्त्रीको अडियो प्रकरणले गिज्याएको बताए ।
प्रतिक्रिया