आफ्नै गलत फण्डाले आलोचित प्रधानमन्त्री 

आफ्नै गलत फण्डाले आलोचित प्रधानमन्त्री 

अघिल्लो दिन भिजन टु एक्सन किताव सार्वजनिक गरेका प्रधानमन्त्री केपी ओलीले शनिवार जन्मोत्सव मनाए । जन्मोत्सवका अवसरमा प्रधानमन्त्रीको गाउँपालिकामा बिदा घोषणा भयो । हेलिकप्टरमा चार्टर गरेर केक गाउँ पु¥याइयो । नेपालको नक्सा आकारको केक काटेर जन्मोत्सव मनाइदा सामाजिक सञ्जालमा धुवाधार विरोध भइरहेको छ । यसअघि केही साता अघि सरकारी निवासमा प्रधानमन्त्रीले बाँसुरी रेट्दा पनि चर्को विरोध र आलोचना भयो ।

के गर्छस, मंगले आफ्नै ढंगले भने जस्तो प्रधानमन्त्री काण्ड, फण्डा र फण्डैफण्डाका उद्यमी जस्ता बनेका छन्, बनाइएका छन् । सामाजिक सञ्जालको जालोले विश्व नै मान्छेको हत्केलामा सीमित भइरहेका बेलामा अनि त प्रधानमन्त्रीका हर जसो कदम आलोचनाको भुङ्ग्रोमा परिहाल्छन । चुनावी वाचा एकातिर, सरकारको नीति तथा कार्यक्रम अर्कोतिर अनि प्रधानमन्त्रीका दैनिकी र भाषण तथा कर्म झनै अर्कोतिर भइरहदा, सरकार प्रमुख ओली आफै चौतर्फी आलोचनाको निशाना बनिरहेका छन् । 

उसै त सामूहिक नेतृत्व भावनाबाट सरकार संचलान भएन, पार्टीको निर्देशनमा सरकार चलेन भन्ने तहबाट पार्टी नै सरकारको कामबाट सन्तुष्ट नभइरहेका बेला झन् प्रधानमन्त्री स्वयम् अशोभनीय फण्डाहरुमा रमाउन थालेपछि विरोधी र आलोचकहरुलाई त के खोज्छस कानो आँखा भने झै भइहाल्यो । त्यसमाथि अघिल्लो महिना मात्रै मातहतका कमिटी र नेतालाई कडा लिखित आचारसंहिताको उर्दी थमाएका पार्टी अध्यक्ष समेत रहेका ओलीको जन्मदिन पूर्व राजा महाराजको ठाँटबाँटलाई नै बिर्साउने स्तरको भएपछि त आलोचकको मात्रै होइन, पार्टीभित्रैको सदाचारपन्थी तप्का मुख बन्द गरी शिर झुकाउन वाध्य नै भयो । 

देशको एउटा वामपन्थी प्रधानमन्त्रीले जन्मोत्सव मनाउँदा गरीव जनसँग रचनात्मक सेवा वा दानको नमूना पनि बनाउन सकिन्थ्यो होला । अरु हजार उपाय थिए होलान जसले प्रधानमन्त्रीको जन्मोत्सवलाई युग परिवर्तनको प्रतिकात्मक रुपमा जनतासँग जोड्न सकिन्थ्यो होला । तर, हेलिकप्टर चार्टर गरेर राजधानीबाट नेपालको नक्सा अंकित केक बोक्ने र देशको नक्सा अङ्कित केक काटेर खुसियाली मनाउने प्रधानमन्त्रीको कदमले अन्ततः उनकै देशभक्तिपूर्ण बिगतको अडान र रटानलाई धुलोमा मिलाउने काम गरेको छ ।

एउटा केकको मात्रै सवाल रहेन, नेपालको नक्सा आकारको केक एउटा भावनात्मक बिम्ब हो, देश वा केक । नेपालको नक्साकै आकारको केक केवल प्रधानमन्त्रीको जन्मोत्सवमा काटिदा नै भावुक स्वभावका नेपाली जनको मन कुँडिएको छ । प्रधानमन्त्रीको जन्मोत्सवमा जनता बेखुसी भएका हुन भने मात्रै जन्मोत्सव बनाउने गलत शैलीसँग हो, प्रवृत्तिसँग हो । बेमौसमका तडकभडकका कारण नै सधैं प्रधानमन्त्री आलोचनाको अचानोमा पर्नु, पारिनु सर्बथा गलत हो । 

त्यसैले कार्यकारी प्रधानमन्त्रीको हैसियतमा रहुन्जेल ओलीले आफ्नो व्यक्तिगत रोजाई वा रहरभन्दा माथि उठेर प्रधानमन्त्री संस्थाको ओझ र गरिमालाई कुनै पनि जोड र कोणबाट प्रश्न नउठ्ने गरी आफ्ना कर्महरु अघि बढाउन जरुरी देखिन्छ । घरघरका जनले प्रधानमन्त्रीलाई सत्तो सराप गर्ने होइन, हाइ हाइ गर्ने एक्सन, आफूलाई भिजनरी प्रधानमन्त्री दाबी गर्ने प्रधानमन्त्रीबाट हुनुपर्ने हो, हुनु नै पर्छ । 

ज्ञातव्य छ कि दशक बढीदेखि प्रधानमन्त्री केपी ओली आफैं मृगौला पीडित बिरामी हुन । केही समयअघि मृगौला पीडितहरुको जुलुश बालुवाटार घेर्न पुग्यो । प्रहरीले मृगौला पीडित प्रदर्शनकारीलाई बल प्रयोग गरेरै तह लगाइ दियो । तर, प्रधानमन्त्री ओलीले ती प्रदर्शनकारीलाई भेटेर मनको शान्ति दिलाउन उचित ठानेनन् । मृगौला पीडितहरुले सरकारबाट उपचारमा थप राहतको याचना गरेका थिए । त्यो याचना पूरा हुन पाएन । 

ओली सरकारविरुद्ध डा. गोविन्द केसी जुम्लादेखि डडेल्धुरासम्म दुई पटक अनसन बसे । अनसन बसेका केसीलाई त्यही रोक्ने गरी सरकारले त्यहाँका अस्पतालको क्षमता र सुविधा बढाउन रातारात कुनै काम गरेन । बरु, उनलाई सैनिक सहायतामा राजधानी ल्याइयो । हाम्रा अस्पतालहरुको विकेन्द्रित सेवा बिस्तारमा सरकारले नयाँ चमत्कार गर्न सक्थ्यो, त्यतातिर ध्यान दिएन । राजधानीका सुविधा सम्पन्न अस्पतालहरु जुम्ला वा डडेल्धुरामा पु¥याउन सरकारले चाहेको भए असम्भव थिएन । 
वारम्वार सुत्केरीको हेलिकप्टरबाट उद्धारका खबर आइरहन्छन । तर, तततत गाउँ ठाउँमा मान्छेलाई सहज सुत्केरी हुने अवस्था बनाउन वा दूरदराजका सुत्केरीलाई अब सकेसम्म स्थानीय तहका स्वास्थ्य चौकीमा नभए पनि सदरमुकाम भन्दा पर राजधानीसम्म ल्याउनै नपर्ने वातावरण अझै बनेन । स्थानीय स्वास्थ्य चौकीहरुलाई दरिद्र बनाएर, सुत्केरी विरामी बोक्ने पौरखमा नै सरकार रमाइरहको छ । 

कोरोना भाइरसको चुनौतिसँग लडिरहेको चीनबाट नेपाली विद्यार्थीको उद्धारमा सरकारले काम पनि ग¥यो जस पनि पाएन । कारण सही काम समयमा गरेन । प्रेससँग सरकार अनावश्यक सिंगौरी खेलिरहन्छ । तर, प्रेसलाई मुख बुझो लगाउन सक्ने गरी कामको हिसाब दिन सक्दैन । 

यी केही प्रतिनिधि प्रसङ्गहरु सानो ऐना हुन, जसले सरकार र जनतावीच आशा र अपेक्षाको पहाड देखाउँछ । हो, प्रधानमन्त्री ओलीसँग जनताको ठूलो आशा रह्यो किनकि  उनले निराश जनलाई आशावादी बनाए, नाकाबन्दीकालीन नेपालको अडान भएको प्रधानमन्त्रीका रुपमा । उनले जनतालाई सपना देख्न सिकाए । तत्कालीन नेकपा एमाले र नेकपा माओवादीको सुझबुझपूर्ण पार्टी एकताको घोषणाले कालान्तरमा ओलीलाई दुईपटक सरकार प्रमुख बनायो । अनि त जनताको आशा र भरोशा झन बढ्यो ओलीप्रति ।

अढाई वर्षअघि एमाले र माओवादी नमिलेका भए के हुन्थ्यो ? यो अब काल्पनिक प्रश्न मात्रै हो । यथार्थ चाहि को हो भने ओली देशका लगभग दुईतिहाई बहुमतवाला वाम सरकारका शक्तिशाली प्रधानमन्त्री भए । एकीकृत नेकपा विश्वलाई नै चकित पार्दै जननिर्वाचित सत्तारुढ दल बन्यो । हिमालयको देशमा कम्युनिष्टको दुई तिहाईको सरकार । यो नै आफैमा युगीन रेकर्ड रहयो ।

सरकारमा आलोपालो प्रधानमन्त्री हुने अर्का अध्यक्ष प्रचण्डसँगको सहमति पनि उल्टिएपछि अब ओली नै पाँच वर्षे प्रधानमन्त्री हुने निश्चित भएको छ । दुई वर्ष त उनले पूरा नै गरिसके । अहिले अब ओली सपना बाँड्ने वा आशा जगाउने तहमा मात्रै छैनन्, ती सब वाचा पूरा गर्ने कार्यकारी सरकारको मध्यावधि चरणमा छन् । ओलीले प्रधानमन्त्रीका रुपमा गरेका काममा पाउनुपर्ने स्यावासी भन्दा बढी आलोचना र विरोध झेलेका छन् । कारण सरकार विवादास्पद काममा बढी फस्यो । 

जनता मालपोत, नापी, खानेपानी, बिजुली अफिस जस्ता सरकारी सेवा प्रदायक निकायमा दिनहुँ झुल्छन । त्यस्ता निकायमा सरकारका कर्मचारीको काम गर्ने शैली पंचायतकालको भन्दा पनि ज्यादा निरंकुश छ । झन डिजिटल कामको नाममा नेट भएन, आजको काम हुन्न भनेर यस्ता सरकारी निकायले जनतालाई सताउने शैली त अति नै छ । अनि सरकारी कर्मचारीको हैरानी खेपेका जनता सुस्केरा हाल्दै सरकारलाई सराप्छन । सरकार प्रमुखका हिसाबले प्रधानमन्त्री ओलीलाई गाली गर्छन । सामाजिक सन्जालमा आशु र पीडा ओकल्छन ।

जनतालाई चुल्होमा नै ग्यास पाइप अहिले नै ओली सरकारले देला भन्ने विश्वास थिएन शायद । तर बजार महंगीको कारण र समाधानमा यो सरकार समस्याको जरासम्म पुगिदिएको भए जनताले नुन, तेल, लसुन, प्याज, ब्रोईलर वा तरकारीको मोलमोलाई गरिरहदा सरकारलाई गाली गर्नुपर्ने अवस्था आउँदैन थियो । सरकारलाई जनताले गाडी चढ्ने बेला व्यहोर्ने सास्तीका बीच गाली गर्छन । गृहमन्त्रालयले सिन्डिकेट खारेज ग¥यो । जनताको वाहवाही पनि पायो । तर, त्यसपछिको अवस्थामा फेरि निजी गाडी संचालकहरुको मनपरी यथावत रह्यो । सार्वजनिक सवारी चढ्ने जनतालाई चाहेको गन्तव्यमा पुग्नु अहिले पनि युद्ध जिते जस्तो अवस्था हुन्छ ।

यस्तै यस्तै सामान्य दैनिकीहरुमा जनता सरकारलाई सम्झिन्छन, विशेषगरी सपना देख्न सिकाउने प्रधानमन्त्री ओलीलाई सम्झिन्छन । जनतालाई सरकारको काम धुलाम्य सडकमा सम्झना हुन्छ । बजारको महङ्गीमा हुन्छ । सडक, पानी, ढल, मल, बिउ आदिका प्रसङ्गमा पनि जनता उनै ओलीलाई सम्झिन्छन ।

यसको तात्पर्य के हो भने सरकार ठूला ठूला काममा केन्द्रीत भएको दाबी गरिदै गर्दा जनतालाई मन छुने गरी उनीहरुको पीरमर्काको बेलामा सरकार साथमा देखिएन । सरकारका कर्मचारी प्रधानमन्त्री वा मन्त्रीहरुले गर्न खोजेका काममा सहयोगी भएनन् । सरकारले आफ्नो लिकमा कर्मचारी हिडाउन, परिचालन गर्न सकेन । यहाँनेर सरकार चुक्यो ।

देशको राजसंस्था बिस्थापित गरेर गणतन्त्रमा जाँदा स्थायी सरकार बने त जनतालाई रातारात राम्रैराम्रो हुन्छ भनेर बढी उत्तेजित र आशावादी बनाइयो । अनि नयाँ वाम सरकारले काम गर्ने शैली र प्रवृत्तिमा गुणात्मक सुधारको पहल नै गरेन । फलतः कुलो, पुल, बजार, सडक, ठेक्का सबैमा जनताले सुविधा नपाएपछि सरकारलाई गाली गर्ने अघोषित संस्कार नै बन्दैछ । 

खासमा सरकारले तुलनात्मक रुपमा नराम्रो गर्न खोजेको होइन । नीतिगत रुपमा सरकार प्रष्ट नै छ । युगीन परिवर्तनलाई संस्थागत गर्न उसले निभाएको भूमिका खराब होइनन् । तर, यतिले पुगेन । सरकारले साना मसिना भनेका कामलाई उच्च प्राथमिकता दिएर कामको शैलीमा एक सय ८० डिग्रीको फरकपना ल्याउने हो भने पक्का छ, सरकारले छिट्टै जनताको मन जित्न सक्छ ।

प्रधानमन्त्री वा मन्त्रीहरुका वरिपरिका टिमले कामकुरो एकातिर भने झैं अनावश्यक विषयमा विवाद झिकेर पनि सरकारलाई आलोचित बनाउन भूमिका खेलिरहेका छन् । सरकारलाई बिचौलिया वर्गले प्रभावमा पारेकै कारण पनि सरकार आलोचित छ । अब सबै तरिका बदल्नु नै सरकार स्वयम्को हितमा हुनेछ ।

वाम सरकार उसै पनि जनवादी हुनुपर्छ । यो सरकार त झन जनवादी केन्द्रीयतामा अभ्यस्त नेकपाको सरकार पर्यो । अब सरकारले कामको तरीका बदलेर जनताको टुट्दै गरेको आशा भरोसालाई पुनः विश्वासमा लिन सक्नुपर्छ । के त्यो तत्परता यो सरकारमा छ त ?