आजको सचिवालयमा वामदेव र नारायणकाजीको जुहारी
काठमाडौं, फागुन १४ । स्थान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार । समय मध्यान्ह । कार्यक्रम, नेकपा पार्टी सचिवालयको वैठक । उपस्थिति, दुबै अध्यक्षसहित सबै सचिवालय सदस्यहरु । मुख्य एजेण्डा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपति समक्ष लेखी पठाउन सरकारलाई निर्देशन दिने निर्णय सम्वन्धमा ।
तर, यो सबालमा भन्दा बढी रोचक बहस उपाध्यक्ष गौतम र पार्टी प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठबीच चल्यो, वालुवाटार सचिवालय वैठकमा, वुधवार । प्रतिनिधि सभाको चुनावमा हारेर पनि राष्ट्रिय सभामा सदस्य बन्ने जो कोहीलाई पनि मन्त्री, उपप्रधानमन्त्री बन्न सहज छ छैन, भन्ने विषयमा उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठबीच लामै बहस चल्यो ।
संगठन बिभाग प्रमुख समेत रहेका उपाध्यक्ष गौतमले आफूले धेरै वकिलहरुसंग मिहीन रुपमा छलफल गर्दा एक पट्क प्रतिनिधि सभाको चुनावमा हारेका कुनै पनि उम्मेदवार राष्ट्रिय सभामा गए पनि विद्यमान प्रतिनिधिसभाको कार्यकालभरि मन्त्री हुन पाउने व्यवस्था संविधानले नदिएको जिकिर गरे । उनले प्रतिनिधि सभाको प्रत्यक्ष चुनाव एकपल्ट हारिसकेपछि फेरि त्यो संसदको कार्यकालभरि मन्त्री, उपप्रधानमन्त्री हुनै नस्कने संवैधानिक व्यवस्थाबारे धेरै थरि वकिल साथीहरुले आफूलाई सुझाएको, सम्झाएको स्पष्ट पार्न खोजे । आफै राष्ट्रिय सभाका लागि उम्मेदवार बनाइन लागेको बेला यो संवैधानिक अप्ठ्यारोबारे जानकार देखिएका थिए उपाध्यक्ष गौतम ।
तर, गएको आम चुनावमा गोरखाबाट प्रत्यक्षतर्फको चुनाव हारे पनि केही समय अघि राष्ट्रिय सभामा गण्डकी प्रदेशबाट निर्वाचित भइसकेका प्रवक्ता श्रेष्ठले उपाध्यक्ष गौतमको बुझाई गलत रहेको भन्दै प्रतिवाद गरे । राष्ट्रिय सभामा सदस्य भइसकेपछि मन्त्री हुन संविधानले नछेक्ने जिकिर थियो, प्रवक्ता श्रेष्ठको । उनले यो उल्झन छैन, म त अब मन्त्री बन्ने नै हो भन्ने पारामा निकै लामै गलफत्ती गरे वैठकमा ।
यो बहस टुंगोमा पुग्न नसक्ने स्थिति देखेपछि अन्य सदस्यहरुले यस सवालको अन्तिम व्याख्या सर्वोच्च अदालतलाई गर्न दिउँला भन्दै बहसको बिट मारे । मन्त्री हुनैका लागि आफ्नो पूर्व घोषणा विपरीत प्रत्यक्ष चुनाव हारेर पनि राष्ट्रिय सभामा उम्मेदवार भइकन, जितिसकेका प्रवक्ता श्रेष्ठले आफू मन्त्रीको आकाँक्षी रहेको तथ्योद्घाटन, उपाध्यक्ष गौतमसँगको बहसका क्रममा स्पष्ट बुझिने गरी व्यक्त गरे । यसले प्रवक्ता श्रेष्ठलाई संविधान मिचेरै भए पनि मन्त्री बन्न हतारो रहेको देखायो । एक जना सचिवालय सदस्यले भने, नारायणकाजी श्रेष्ठको ब्याख्याले ....भन्दा देख्नेलाई लाज जस्तो भयो ।
प्रतिक्रिया