'छोटे राजा' जता 'सवारी' उतै सार्वजनिक विदा !

'छोटे राजा' जता 'सवारी' उतै सार्वजनिक विदा !

काठमाण्डौ, १५ फागुन । राजाको प्रत्यक्ष शासनकालमा राजाको जयजयकार खुबै हुने गथ्र्यो । २०४७ सालको संविधानले राजालाई संविधानभन्दा माथि राखेको थियो । संविधानको संरक्षक नै राजा थिए । त्यही भएर राजा विदेश जाँदा र स्वदेश फर्किदा मात्र होइन कुनै जिल्ला भ्रमणमा जाँदासमेत उनको धुमधामकासाथ जयजयकार र भक्तिगान हुन्थ्यो । चौतारीमा राजा भेटिए, चौतारीमा रानी भेटिए... जस्ता गितहरु रेडियो नेपालले पनि खुबै बजाउँथ्यो । नेपालका राष्ट्रगान यिनै थिए कुनैताका ।

जिल्ला भ्रमणमा गएका राजा रानीको सम्मानका खातिर जिल्ला प्रशासन कार्यालयले जिल्लामा सार्वजनिक विदा घोषणा गर्थे । राजाका पाउमा फुलका गुच्छा चढाउन तत्कालिन सरकारी कर्मचारीहरु, सरकारी विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई अनिवार्य उपस्थितिका लागि उर्दि जारी हुन्थ्यो । राजाको स्वागतमा उपस्थित नहुने कार्यालय प्रमुखहरु तथा कर्मचारीहरुको बिभिन्न तौर तरिकाबाट मुल्यांकन हुन्थ्यो र सिडिओले स्पष्टिकरणसमेत सोध्थे र कारवाही पनि ठोक्थे ।

देशमा अहिले राजतन्त्रात्मक ब्यस्था छैन । हजारौँ जनताले दशकौँ वर्ष संघर्ष, बलिदान गरेर संविधानसभाले समावेशी, र समाजवादउन्मुख संविधान निर्माण भएको छ । देशमा अहिले एउटा श्रीपेच लगाउने राजा हटाइए पनि श्रीपेच नभएका सयौँ राजाहरुले शासन गरिरहेको उनीको ब्यबहारबाटै पुष्टि हुँदै आएको छ । कहिले स्थानीय सरकार प्रमुख राजा जस्तो बन्न खोज्छन् त कहिले मेयर, उपमेयर, वडा अध्यक्ष, मुख्यमन्त्री र मन्त्रीहरु नयाँ राजा बन्न खोजेको देखिन्छ ।

बेलाबखत राष्ट्रपति स्वयम् बिभिन्न कृयाकलापबाट राजा बनिरहेको झल्को जनताले महशुस गर्ने गरेका छन् । राष्ट्रपति जुन जिल्ला र जुन स्थानीय तहमा पुग्यो त्यहाँ सार्वजनिक विदा घोषणा हुनु र राष्ट्रपतिले त्यसबारेमा केही नबोल्नु पनि उतिबेलाको राजाकै जस्तो शैली भएको स्थानीय जनताले बताउने गरेका छन् । 

यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको बैतडी र दार्चुला भ्रमणमा छिन् । भण्डारीको भ्रमणका लागि बैतडी र दार्चुलाका चार वटा पालिकामा बिहीबार बिदा दिइएको छ ।

पूजाआजा र भवन उद्घाटनका लागि राष्ट्रपति आउने भएपछि बैतडीको पाटन र दशरथचन्द नगरपालिका तथा दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् । पालिकाले विद्यार्थी, शिक्षक र कर्मचारीलाई राष्ट्रपतिको स्वागतमा अनिवार्यरुपमा उपस्थित हुन निर्देशन दिएको छ ।

राष्ट्रपति भण्डारीले बिहीबार पाटन नगरपालिकामा भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको भवन र छात्रावास उद्घाटन, दशरथचन्द नगरपालिकाको त्रिपुरासुन्दरी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ । पाटन र दशरथचन्द दुवै नगरपालिकाले राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि राखेका छन् ।

राष्ट्रपति भण्डारी शुक्रबार बिहान १० बजे डडेलधुराको उग्रतारा मन्दिरको दर्शन गरी १ बजे कञ्चनपुरमा हुने शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ  ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विभिन्न ठाउँमा जाँदा बिदा दिने कामको चौतर्फी विरोध हुने गरे पनि यस्तो काम न त रोकिएको छ न त राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालयले यसबारेमा केही बोलेको छ । राष्ट्रप्रमुख वा सरकारप्रमुख भ्रमणमा जाँदा बिदा दिइनु, स्वागतका लागि विद्यार्थीलाई घण्टौँ टाढासम्म लैजानु र लाइन लगाइनु, गलत भएको र यसले पञ्चायतकालीन झल्को दिएको भन्दै विरोध हुनु स्वाभाविक हो ।

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मदिन मनाउन केही दिनअघि तेह्रथुमको आठराई गाउँपालिकाले गाउँपालिकाभरि बिदा दिएर विद्यार्थी र शिक्षकलाई जन्मदिनको कार्यक्रममा उपस्थित गराउँदा चर्को आलोचना भएको थियो । यस बारेमा प्रधामन्त्रीले केही पनि बोलेका छैनन ।

के हामीले चाहेको गणतन्त्र यस्तै राजषी ठाँट, शैली र परम्पराको निरन्तरताको लागि हो ? यस बारेमा सम्बन्धित निकाय किन मौन ? यदि यसबारेमा सम्बन्धित निकाय अझैपनि चुप लागेर बस्ने हो भने जनताको बोली नेता, नेतृत्व र शासन व्यवस्थालाई महंगो पर्न सक्छ । यसबारे गम्भिर हुने हो कि ?