सीपी मैनाली चढेको गाडी दुर्घटनामा, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी

 सीपी मैनाली चढेको गाडी दुर्घटनामा, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी

महोत्तरी । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (माले) का महासचिव सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा महासचिव मैनाली सख्त घाइते भएका छन् । मैनालीको टाउकोमा गहिरो चोट लागेको छ भने दाहिने खुट्टा भाँचिएको छ ।

बीपी राजमार्गस्थित महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा दुर्घटना भएको हो । दुर्घटनामा महासचिव मैनालीका छोरा, बुहारी, नाती र चालक गरी पाँच जना घाइते भएका छन् ।

झापाबाट काठमाडौंतर्फ आउँदै गरेको मैनाली परिवार सवार रहेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मनौलीका छोरा, बुहारी, नाति र चालक घाइते भएका छन् ।

दुर्घटनामा मैनाली र बुहारी पूजा सख्त घाइते भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईंले जानकारी दिए । उनको बुहारीको दुवै खुट्टा भाँचिएको छ । घाइतेहरुलाई हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको नेकपाका केन्द्रीय सदस्य प्रकाश पोखरेलले जानकारी दिए ।

घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ ।