गोकुल बास्कोटाको बचाउ गर्दै बोले प्रधानमन्त्री
१५ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वतमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका छन् । प्रम ओलीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बाँस्कोटाले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएकोमा सो अडियोमा बाँस्कोटाकै आवाज हो भन्ने प्रमाणित नभएको दावी गरे ।
बिहीबार नेकपाले काठमाडौंमा आयोजना गरेको वाग्मती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, अनाधिकृत मान्छेले ल्याएको टेप उचालियो। यसमा कुनै प्रमाण छैन।
स्वीस कम्पनीका एजेन्ट भनिएका ती व्यक्तिलाई स्वीस दूतावासले एजेन्ट होइन भनेर विज्ञप्तिसमेत निकालेको ओलीले भने। प्रम ओलीले भने, ‘नाम जोडिएकाले उनले नैतिकताको आधारमा राजीनामा गरे। भ्रष्टाचार गरेको प्रमाणित भएको जस्तो गरी प्रचार भयो।’ प्रधामन्त्री ओलीले अडियो प्रकरणमा बाँस्कोटाको दोष देखिए कारबाही पनि हुने र सजाय पनि भोग्नुपर्ने बताए।
प्रतिक्रिया