मुद्धाविहीन कांग्रेस

 मुद्धाविहीन कांग्रेस

नेपाली कांग्रेस गणितीय हिसावले कमजोर प्रतिपक्ष भए पनि संसदीय व्यवस्थामा छाया सरकारको भूमिकामा हुनु पर्दथ्यो । तर, कांग्रेसको एक वर्षको भूमिका रचनात्मक त हुँदै भएन । प्रतिपक्षले देखाउने गुणस्तरीय भूमिकासम्म रहेन । यसरी कांग्रेस राजनैतिक रुपले एक वर्ष ‘पूरै डिप्रेसन’ मा रह्यो । कांग्रेसले यसबीच अस्थायी मुद्धामा प्रतिक्रिया देखाउने बाहेक अरु थोक भूमिका दिन सकेन । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त बोकेको कांग्रेस यही क्रियाकलापबाट उसको गुणतरीयता र रचनात्मकतामा चार चाँद लाग्न नसकेको हो । 

डा. गोविन्द केसी, निर्मला पन्त र कलाकारले गाएको व्यंग्य गीत ‘लूट कान्छा लुट’ मा रत्यौली खेल्यो । तर, मुलुकको जल्दोबल्दो समस्यामा उसको कुनै भूमिका देखिएन । यसरी कांग्रेसले राजकीय गम्भीर भूमिकालाई उपेक्षा गरेकोले राजनीतिमा शून्य भएको हो ।

सरकारले अगाडि सारेको नीति तथा कार्यक्रम, बजेटमा मात्र होइन कतिपय राष्ट्रिय मुद्धालाई बहसमा पनि ल्याउन सकेन । बजेट र नीति तथा कार्यक्रम ल्याउँदा पहिलो पटक सरकारलाई सोझो समर्थन गर्नु उसको बाध्यता हो भन्न सकिन्थ्यो तर त्यस यताका कैयौं मुद्धाहरुमा पनि उसको अवधारणा आउन सकेन । प्रदेश स्तरमा पनि कांग्रेस सबै प्रदेशमा विपक्षमा छ तर त्यहाँ पनि उसको कुनै भूमिका रहेन । 

वाइडबडी, अख्तियार आयुक्त प्रकरण, संवैधानिक आयोगको नियुक्ति, प्रदेश पाँचको सवारी साधन खरिद प्रकरण लगायतको यावत मुद्धामा कांग्रेस मुर्छित नै बन्यो । वाइडबडी प्रकरणको सवाल र लाउडा, धमिजा प्रकरणका वीचमा उसले भेद गरेन । यो एक प्रकारले नेपाली जनताको सुसूचित हुने अधिकारलाई पनि कांग्रेसले कुण्ठित ग¥यो । यो खास प्रकारको कांग्रेसको अराजनैतिक यात्रा हो एक वर्षको ।

कांग्रेसले यसबीच सांगठानिक सुदृढीकरणसम्म गर्न सकेन । फुर्सदको समयलाई कांग्रेसले भूमिका गर्न नसक्दा उसको भातृ संगठन लथालिङ्ग भताभुङ्ग हुँदै गएको कुरा त नेविसंघको भाँडभैलोमा देखिएको छ । 

नेताहरुको गुटवन्दीमा लागेर भोलिका देशका कर्णधारलाई एक अर्का विरुद्ध युद्ध मैदानमा उतारिएका छन् । यहीँबाट बुझ्न सकिन्छ कांग्रेसको अबको यात्रा कस्तो हुन्छ भनेर । लथालिङ्ग विधान, विभाग कांग्रेसको बाँकी भूमिका कसरी अगाडि आउँछ भन्नेमा स्वयम् कांग्रेसी नेतृत्वमै अलमल छ । यस्तो कांग्रेसले किसानका समस्या, जनजीविकाका समस्यामा समाजवादी रंगढङ्गमा सोच्ला भन्नु नै बेकार छ । 

कांग्रेसको चाहना नयाँ संविधनले पूर्ण गरिदिएको छ । संवैधानिक राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा आउनु नै नेपाली कांग्रेसको अधिकतम लक्ष्य हो । कांग्रेसको लक्ष्य यो भन्दा टाढा जाने हुँदै होइन । 

कांग्रेसको समाजवाद उदार आर्थिक नीति, दलाल नोकरशाही पुँजीवाद तथा बजार अर्थतन्त्रमा पतन भइसकेको छ । राजनैतिक लक्ष्य पूरा भइसकेपछि पार्टी क्लबमा रुपान्तर हुनु नौलो कुरो होइन । इतिहासमा प्रजातन्त्रको मात्र अधिकतम लक्ष्य लिएको प्रजापरिषद जसरी प्रजातन्त्र स्थापना भएपछि पतन भयो, कांग्रेसले पनि त्यही बाटो अख्तियार गर्ने संकेत गरेको कुरा आजको सत्य हो । समयबद्ध साप्ताहिकबाट