कतारको दोहामा अमेरिका र तालिवानबीच शान्ति सम्झौता हुँदै

कतारको दोहामा अमेरिका र तालिवानबीच  शान्ति सम्झौता हुँदै

अमेरिका रअफगानी तालिवान लडाकुबीच आज दीर्घकालीन शान्ति सम्झौता हुँदै छ । शान्ति सम्झौता कतारको राजधानी दोहामा हुँदैछ ।

सम्झौता हुनुभन्दा एक साताअघि नै अमेरिका, अफगान सुरक्षाकर्मी र तालिवानबीच एकअर्काविरुद्ध आक्रमण नगर्ने प्रारंभिक समझदारी भएको थियो । २२ फेब्रअरीदेखि सुरु भएको यो अस्थायी युद्धविरामलाई हेरेर २९ फेब्रुअरीमा दीर्घकालीन शान्ति सम्झौता गर्ने सहमति भएको हो ।

यसैलाई निरन्तरता दिँदै आज दोहामा शान्ति सम्झौतामा हस्ताक्षर हुन लागेको हो । शान्ति सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा १८ वर्ष चार महिना लामो युद्ध अन्त्य हुनेछ ।

दोहामा शान्ति सम्झौतामा हस्ताक्षर भएपछि शनिबार नै अफगानिस्तानको राजधानी काबुलमा युद्धविरामको संयुक्त घोषणा हुने बताइएको छ । संयुक्त घोषणा सभामा अमेरिकी रक्षामन्त्री मार्क एस्पर, उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का महासचिव जिन्स स्टेलनबर्ग, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलगायत बिभिन्न देशका प्रतिनिधिहरुको सहभागीता रहने छ ।