राष्ट्रिय सभामा तत्काल कसैलाई नपठाउने रणनीतिमा प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि राष्ट्रिय सभा सदस्य नियुक्त गर्न कसैलाई पनि सिफारिस नगर्ने रणनीतिमा पुगेका छन् ।
यसअघि बामदेव गौतमको नाम आफू उपस्थित सचिवालय बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने गरी निर्णय गरेपनि ओलीले खतिवडालाई नै निरन्तरता दिन चाहेपछि पार्टीभित्रै विवाद शुरु भएको थियो । त्यसलगत्तै प्रचण्ड लगायत नेताहरूले वामदेवलाई सिफारिस गर्नैपर्नेमा अडिग भएपछि प्रधानमन्त्री ओलीले तत्काल दुबै जनालाई सिफारिस नगर्ने भएका हुन्।
युवराज खतिवडाले दुई बर्ष अघि फागुन २५ गते सपथ खाएकाले उनको म्याद २० गतेनै नसकिने भएकोले २१ गते नै सपथ लिनुपर्छ भन्ने नभएकोले उक्त विषयमा पार्टीभित्र अझ ब्यापक छलफल गर्ने सोचमा प्रधानमन्त्री रहेको श्रोतले बतायो ।
गत माघ ९ गते भएको राष्ट्रिय सभा चुनावका निर्वाचित सदस्यहरूको सपथ फागुन २१ गतेका लागि तोकिएपनि राष्ट्रपतिबाट मनोनित हुने सदस्यको भने पछि पनि सपथ गर्न सकिने गरि प्रधानमन्त्रीले अहिल्यै भने मनोनितको लागि सिफरिस नगर्ने सोचाइमा रहेको बताइन्छ । प्रधानमन्त्री ओली भने युवराज खतिवडालाई नै राष्ट्रिय सभामा निरन्तरता दिन चाहन्छन्। सचिवालयले बुधबार सर्वसम्मत रुपमा राष्ट्रिय सभामा गौतमलाई लैजाने निर्णय गरेकाले त्यो निर्णय विपरित खतिवडालाई लैजान नसक्ने भएपछि अहिले कसैलाई पनि मनोनितको लागि सिफारिस नगर्दा केही चलखेल गर्न सजिलो हुने प्रधानमन्त्रीलाई लागेको हुनसक्छ ।
सिफारिस नगरेपनि खतिवडालाई अर्थमन्त्रीमा थप ६ महिनाको लागि निरन्तरता दिन प्रम ओलीले उनलाई पुनः मन्त्री नियूक्त गर्नेछन्। मन्त्रीको रुपमा नयाँ सपथ खाएपछि खतिवडा ६ महिनाका लागि संविधान अनुसार मन्त्री रहन पाउँछन्। यसो गर्दा सचिवालयको निर्णय उलंघन गरेको पनि नहुने र थप छलफल गर्न पर्याप्त समय प्राप्त हुने बालुवाटारको रणनीति देखिन्छ ।
प्रतिक्रिया