माला संस्कृति र राजनीति व्यवसाय

माला संस्कृति र राजनीति व्यवसाय

गएको फागुन ४ गते नेपाली कांग्रेसका कोइराला परिवार का तीन नेतालाई एक सय २१ किलोको मालाले स्वागत गरियो ।

महामन्त्री शशांक र केन्द्रीय सदस्य शेखर र सुजाता कोइरालालाई गिरिजाप्रसाद कोइराला फाउण्डेशनको कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका बेला एक सय २१ किलोको एउटै मालाले स्वागत गरियो । कांग्रेसभित्र फरक–फरक अस्तित्व देखाउने प्रयास गरिरहेका कोइराला परिवारका तीन जना सदस्यलाई तीनतिर होइन, एकजुट भएर अघि बढ्न एउटै मालामा गाँसेको अर्थमा प्रस्तुत गरियो ।

कोइराला परिवारका तीन नेतालाई एउटै माला लगाइए लगत्तै फागुन ८ गते वीरगञ्जका लागि हिंडेका कांग्रेस सभापति शेरबहादुर देउवालाई बाराको सिमरामा एक सय ५१ किलोको मालाले स्वागत गरियो । 

पूर्व प्रधानमन्त्रीको हैसियतमा रहेका देउवा कुनै सरकारी वा पार्टीगत कामका लागि सिमरा गएका थिएनन् ।  वीरगञ्जमा सञ्चालनमा आउन लागेको दियालो होटल उद्घाटनका लागि पुगेका देउवालाई थामिनसक्नुको मालाले लगाइदिएर स्वागत गरिएको थियो । शुक्रबार सुदूर पश्चिममा पुगेका देउवालाई फेरि किलोमा जोखेर माला लगाइयो । 

फागुन ७ गते सुदूरपश्चिमको डोटी पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५१ किलोको मालाले स्वागत गरियो ।

सामान्यतः स्वस्थ्य र बलियालाई पनि ५१ किलोको वजन बोक्न सजिलो हुन्न । स्वास्थ्य र उमेर दुबै हिसावले प्रधानमन्त्री ओली आफूलाई लगाइदिइएको माला बोक्नसक्ने अवस्थामा थिएनन् । त्यही भएर उनलाई लगाइदिइएको माला अरुले सम्हालिदिनु परेको थियो ।

सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले पनि प्रधानमन्त्रीलाई लगाइएको मालाभित्र टाउको छिराएर फोटो शेसन गर्ने अवसर छुटाएनन् । प्रधानमन्त्रीलाई लगाइदिएको ५१ किलोको मालाभित्र घुसेर खिचिएको फोटोमा उनीहरुको अनुहारमा अर्थपूर्ण खुशी देखिन्छ । प्रधानमन्त्रीसँग एउटै मालामा गाँसिएर फोटो खिच्नुको शानशौकत र मज्जा शायद उनीहरुलाई नै थाहा होला ।

गत मंसिरमा ऊर्जामन्त्री वर्षमान पुन रौतहट पुगेका थिए । मन्त्री पुनलाई रौतहटमा दुई सय दुई किलोको मालाले स्वागत गरिएको थियो । रौतहट मन्त्री पुनको गृहजिल्ला पनि होइन र उनी सम्बद्ध पार्टी नेकपाले उनलाई सो क्षेत्र हेर्ने कुनै जिम्मेवारी पनि दिएको छैन । कुनै प्रसङ्ग र जिम्मेवारी नै नभएका मन्त्री पुनलाई आफूलाई सधैं शक्तिको वरिपरि रहेको देखाएर पदमा रमाउने नेकपाका नेता प्रभु साहले बोलाएरै माला लगाइदिएका थिए । डा. बाबुराम भट्टराई शक्तिमा हुँदा उनले बेलाबेलामा बाबुरामका माला पहिरिइदिने गर्दथे ।

केही समयअघि जनकपुरमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र दोमोदर दास मोदीलाई प्रदेश नं. २ का तर्फबाट उनको तौलभन्दा झण्डै पाँच गुणा बढी वजनको माला पहि¥याइएको थियो । झण्डै ७५ केजी तौल भएका मोदीलाई तीन सय ६३ किलोको मालाले गरिएको स्वागत चाकडीको भद्दा रुपभन्दा अरु केही थिएन ।

नेपाली समाजमा कुनै खुशियाली या चाडपर्वमा फूलमालाको प्रयोग गरिन्छ । कुनै कार्यक्रममा निम्त्याइएका अतिथिलाई फूलमालाले स्वागत गर्ने प्रचलन छ । स्वागत गर्न र खुशियाली मनाउन मालाको प्रयोग गरिनु गलत नहोला । तर माथि उल्लेख गरिएका घटनामा भएका मालाको प्रयोग स्वागतका लागि मात्र थिएनन् । यी स्वागत त रक्स्याहाले रक्सी पिउनका लागि गर्ने बहानाजस्तै एउटा बहाना थियो । यथार्थमा हाम्रो समाजमा रहँदै आएको सामन्तवादी चाकडी संस्कृतिको भद्दा रुपकै यो निरन्तरता हो । चाकडी गर्नेजस्तै चाकडी गरी माग्ने दुव्र्यशनीहरु पनि बढिरहेको यो प्रमाण हो । चाकडी–दुव्र्यशनीको बढ्दो प्रभावले पछिल्लो राजनीतिक परिवर्तनलाई भने खतराको सूचना दिएको छ ।

राणा र शाही कालमा आफ्नो स्वार्थ पूरा गर्नका लागि प्रयोग गरिने चाकडीका तुच्छ प्रयासले गणतन्त्रपछि पनि पाइरहेको बढावाले विचार, राजनीति र परिवर्तनलाई नै चुनौति दिइरहेको छ । कुनै समय आफूलाई समानता, भौतिकवादी र परिवर्तनका पक्षपाति दावी गर्नेहरुमा बढेको मालामोहले तिनको विगतलाई गिज्याइरहेको छ ।

अझ कुनै समय क्रान्तिकारी नारा लगाउने नेताहरुमा देखिएको यो चाकडीमोहले राणा, राजा र पञ्चहरुलाई उछिन्ने खतरा बढेको छ । नाम जेसुकै भए पनि सत्ता समानता होइन, विभेदको पक्षपाती हुन्छ भन्ने सन्देश दिने चाकडीका यस्ता रुपमा हाम्रा नेता र नेतृत्वको बढ्दो मोहले राजनीतिक परिवर्तनलाई संस्थागत होइन, यसको जग नै कमजोर बनाएको छ ।

कांग्रेसभित्र आ–आफ्नै अस्तित्वका लागि ध्रुवीकृत हुँदै गएका देउवा र कोइराला गुटको लडाइँमा आफ्नो प्रभाव देखाउनका लागि माला–राजनीतिको मञ्चन गरिएजस्तो देखिए पनि सारतः यो आफूभित्र रहेको सामन्ती संस्कृतिको उपज हो । आ–आफ्ना अस्तित्व देखाउन, धान्न र प्रभाव जमाउनका लागि गलत संस्कार र संस्कृति अवलम्बन गरिनु गणतन्त्र शब्दकै उपहास हो ।

आफूलाई आमूल परिवर्तनकारी र समानताको मसिहा मठान्ने ‘क्रान्तिकारी’ र ‘कम्युनिस्ट’हरुले देखाएको मालामोह त झनै अक्षम्य छ । राणाहरुले शासन चलाएको समयमा चाकडी गर्नेले बक्सिसबापत पद र सम्पत्ति पाउँथे । पञ्चायतकालसम्म पनि चाकडी प्रथा निरन्तर चल्यो । ०४६ को जनान्दोलनपछि यसको रुपमा परिवर्तन भयो । राणा र पञ्चहरुको सट्टा केही पार्टीका नेताहरुको जसले चाकडी गर्न सक्यो, उसको फलिफाप हुन थाल्यो ।

०५२ देखि आमूल परिवर्तनका लागि भन्दै माओवादीले सशस्त्र जनयुद्धको घोषणा ग¥यो । जनयुद्धको दश बर्षे अवधिमा समाजमा व्याप्त चाकडी सँस्कृतिमाथि सबैभन्दा बढी आक्रमण भयो । शान्ति–प्रक्रिया हुँदै संविधानतः गणतन्त्र घोषणा त भयो तर जनयुद्धकालमा सुषुप्तावस्थामा बसेको चाकडी र चाप्लुसी यतिबेला राणाकालीन शैलीमा प्रस्फुटन भएको छ ।

सभामुख कृष्णबहादुर महराले हालै दाङमा एकै दिन दुई कार्यक्रममा गएर ठाउँ अनुसार बोलिदिए । उनले एक ठाउँमा गएर भने म एक जमानामा विज्ञानको शिक्षक थिएँ, विज्ञान विषय पढ्न प्राथमिकता दिनुपर्छ । एक छिन उनले भौतिकवादको प्रशिक्षण दिए । फेरि अर्काे अध्यात्मवादी कार्यक्रममा गएर यसले समाजलाई अनुशासित र सकारात्मक दिशामा जान सहयोग गर्छ भने । उनले इसाई धर्मको शपथ खाएको त भाइरल नै भएको छ । 

राजनीतिक नेता भनेको निश्चित विचारको आधारमा समाजलाई अगाडि बढाउने हुन । एक समय प्रगतिशील विचार लिएकैले नेपाली कांग्रेस, नेकपा अगाडि शक्तिमा आएका हुन । सामन्तवाद र संस्कृतिमाथि उनीहरुको प्रहारले नै उनीहरु स्थापित भएका हुन । 

तर, आज उनीहरु आफ्नो राजनीतिक धन्दा चलाएर जनतालाई भोट बैंक ठानेर जता काफल पाक्छ उतै चरी नाच्छ भन्ने अवसरवादी चरित्रमा जाँदा राजनीतिक नेतालाई नेता भन्दा पनि राजनीतिक व्यवसायी, धन्दावालाको रुपमा बुझ्न थालिएको छ । यो राम्रो संकेत होइन ।