के मान्छेको पुनर्जन्म सम्भव छ ?

के मान्छेको पुनर्जन्म सम्भव छ ?

– योगेश खपाङ्गी
हिन्दू दर्शनले अवतार र पुनर्जन्ममा विश्वास गर्छ । यो दर्शनले मान्छेको चौरासी लाख जुनीको परिकल्पना गरेको छ । तर यसरी नै हुन्छ भन्ने शाक्ष्य–प्रमाण चाहि दिन सकेको छैन । जतिखेर हिन्दू दर्शनले स्वर्ग, नर्क र पुनर्जन्मको परिकल्पना गर्दै थियो, त्यसैबेला वृहस्पतीले स्वर्ग, नर्क र पुनर्जन्म सब झुट हो भन्दै हिँडेका थिए । त्यसैले उनलाई चार्वाक दर्शनका संस्थापक भनिन्छ । हुन त चार्वाकलाई चारुवाक पनि भन्ने गरिएको छ । चार्वाक वा चारुवाक कुनै व्यक्ति थिए वा कुनै दर्शनको नाम हो भन्ने कुराको यथेस्ट जानकारी खासै भेट्न सकिँदैन । चारुवाक बुद्धिज्मसँग सम्बन्धित नाम हो । त्यसैले कतिपयले चारुवाक कुनै एक बौद्ध व्यक्ति भएको अनुमान पनि गरेका छन् । जेहोस, चार्वाक दर्शन, जसलाई लोकायत दर्शन पनि भनिन्छ, ले भनेको छ – 
‘यावज्जीवेत्सुखं जीवेत् ऋणं कृत्वा घृतं पिबेत् ।
भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः ।।’
अर्थात् जतिन्जेल बाँच्छौ, सुखपूर्वक बाँच, ऋणै गरेर भए पनि घिउ खाऊ । भष्म भएर बितेर जाने शरीर फर्किएर आउँदैन ।
लोकायत दर्शनलाई वेद विरोधी दर्शन अर्थात् भौतिकवादी दर्शन भन्ने गरिन्छ । यदि यो वेदकालीन दर्शन हो भने यसलाई पहिलो भौतिकवादी दर्शन भन्न सकिन्छ ।
महामानव बुद्ध स्वयम् वेदविरोधी थिए । उनी पनि भौतिकवादी नै हुन् । तर पद्मसम्भवले हाल्दिए वा अरु कसैले बुद्धदर्शनमा घालमेल गरे, यकिनका साथ भन्न सकिन्न तर हाल प्रचलनमा रहेको बुद्ध दर्शनले पनि पुनर्जन्ममा विश्वास गर्छ । 
त्यसैगरी इशाइ धर्मले पनि इशा मसिह फेरि फर्किएर आउने आशा गरेको छ भने त्यसपछिको धर्म मुस्लिमले पनि पुनर्जन्ममा विश्वास गरेको पाइन्छ ।

१७ औं शताब्दीका जर्मनीका तर्कवादी विद्वान जर्ज विलियम फ्रेडरिक हेगेलले पनि बाइबलियन स्वर्ग, नर्क र पुनर्जन्मलाई अस्वीकार गरेका छन् । पछि १८ औं ताका जन्मिएका कार्ल माक्र्सले पनि हेगेलकै कुरालाई समर्थन गर्दै द्वन्द्वात्मक भौतिकवादको प्रतिपादन गरे । जसलाई माक्र्सवादी दर्शन भनिन्छ । यो दर्शनले पनि स्वर्ग, नर्क र पुनर्जन्मलाई इन्कार गरेको छ ।
हालसम्मको वैज्ञानिक खोज अनुसन्धानले पुनर्जन्म हुने कुराको तथ्य–प्रमाण फेला पार्न सकेको छैन ।
 

पुनर्जन्मको घटनाको वैज्ञानिक छानविन :
यसैबीच यदाकदा संसारका विभिन्न स्थानमा पुनर्जन्मका घटनाहरु पनि संसारभरिका सन्चार माध्यम मार्फत आइरहेका हुन्छन् । बुद्ध धर्ममा पनि कयौं अवतारी लामाहरुको जन्म भएको दाबी गरिएको छ । भारत निर्वासित भएका तिब्बती धर्म गुरु दलाई लामालाई पनि अवतारी लामा मानिन्छ । 

यसैबीच सन् १९७७ मा श्रीलंकाको तीन समाचारपत्र – सन्, विकेन्ड र राइविरेसामा पुनर्जन्मको भएको भनी समाचार प्रकाशित भएको थियो । समाचार अनुसार मटारा कचेरीको एक क्लर्क फ्रान्सिस कोदीतुवाकुको पुनर्जन्म भएको थियो । कोदीतुवाकु नामको एक व्यक्ति जसको १६ अप्रिल १९७३ मा ५२ वर्षको उमेरमा देहान्त भएको तर जो पछि आफ्नो घरभन्दा २ सय ७० माइल टाढा कंडामोडा भन्ने एक स्थानमा एक बालकको रुपमा पुनर्जन्म लिएका थिए । जो समाचार प्रकाशित भएको बखत तीन वर्षका भएका थिए ।

समाचारपत्रमा प्रकाशित खबर अनुसार धेरै अनुसन्धानकर्ताहरु, जसमा बोधी तपस्वी पनि सामेल थिए, ले यो पुनर्जन्मको घटनालाई सत्य साबित गरेका थिए । 
पुनर्जन्म सम्बन्धी खोजकर्ताले बालकलाई भेटेर कयौं प्रश्नहरु गरेका थिए, जुन फ्रान्सिसकोदीतुवाकुको पुरानो जीवन, उनको पूर्वपत्नी, मटारा कचेरी तथा उनका मित्रबारे सोधिएको थियो । यो सबै कुराको जवाफ बालकले दिएका थिए, त्यो पूर्णतया सत्य थियो –खबरले दाबी गरेको थियो ।

यो घटना अखवारमा पढेपछि कोलोम्बोका तर्कशील संस्थाका प्रमुख डा. अब्राहम टी कोबुरले पुनर्जन्मको उक्त खबर कति झुट, कति सत्य, छानविन गर्ने निर्णय लिए । उनलाई श्रीलंका रेशनलिस्ट एसोसिएशनका सदस्यसहित आमसर्वसाधारणलाई यस्तो कुराबारे सत्य–तथ्य उजागर गर्नु थियो । त्यसैले यो कामका लागि उनले अमुनूगोडा तिलक रत्ने, उनकी पत्नीलाई यो घटनाको जाँच गरि रिपोर्ट पेश गर्न जिम्मेवारी दिए । 
१३ मे, १९७७ मा तिलक रत्नेको अगुवाइमा अन्य पाँच व्यक्तिसहितको टोलीले उपरोक्त घटनामाथि अनुसन्धान सुरु गरे । मटारा कचेरीका केही कर्मचारी पनि त्यसमा सामेल थिए । उपरोक्त अनुसन्धान टोलीले जो–जो व्यक्तिलाई भेटी

अन्तर्वार्ता लिएको थियो, ती व्यक्तिहरुलाई निम्न प्रश्नहरु सोधिएको थियो –
१. फ्रान्सिस कोदीतुवाकुको पत्नी सुमनवती
२. पुनः जन्म लिएका भनिएका बालकको पिता मान एचपी सुगातपाल
३. दिवंगत कोदीतुवाकुका घनिष्ट मित्र तथा उनीसँग काम गर्ने क्लर्क साथीहरु एमए गुणवत्ता, ए आर्पदास, टिसी अमादोरु र माहिंद राणावीर
४. कोदीतुवाकुको तीन बच्चा
५. पुनर्जन्म लिएको भनी दाबी गरिएको बच्चाबारे ।
छानविनको बखत पुनर्जन्म लिएको भनी दाबी गरिएको बच्चाको उमेर साढे तीन वर्षको थियो । जो कोदीतुवाकुको मृत्युपश्चात सात महिनापछि जन्मिएका थिए । 
अन्य सबैको अन्तर्वार्ता लिइसके पश्चात पुनर्जन्म लिएका भनी दाबी गरिएको बालकलाई केही प्रश्न गरिएको थियो । बालकलाई सोधिएको र उनले दिएको उत्तर डक्टर कभुरले आफ्नो पुस्तक ‘गड्स, डेमन एन्ड स्पिरिट’मा लेखेका छन् । जुन आवश्यक टिप्पणीसहित यसप्रकार छ ः
प्रश्न : तपाईको नाम के हो ?
उत्तर : फ्रान्सिस कोदीतुवाकु ।
प्रश्न : तपाईंको आयु कति हो ?
उत्तर : ४९ वर्ष (तुवाकुको मृत्यु ५२ वर्षको आयुमा भएको थियो भने बालक त्यसबेला तीन वर्ष छ महिना उमेरका पुगेका थिए) ।
प्रश्न :के तपाईं विवाहित हो ?
उत्तर : हो ।
प्रश्न : आफ्नो आयु ४९ वर्ष हो भनेर तपाईंलाईंलाई कसरी थाहा भयो ?
उत्तर : मलाई थाहा भएन ।
प्रश्न : तपाईंले कति कक्षासम्म पढ्नु भएको छ ?
उत्तर : मलाई थाहा भएन ।
प्रश्न : के तपाईंको सन्तान पनि छन् ?
उत्तर : छन् ।
प्रश्न : तपाईंका छोरा र छोरीमा कुन बढी छन् ?
उत्तर : छोरी बढी छन् ।
प्रश्न : छोरा कति छन् ?
उत्तर : धेरै छन् ।
प्रश्न : के उनीहरुको नाम भन्न सक्नुहुन्छ ?
उत्तर : सुसीथा, पतीया ।
प्रश्न : त्यसमध्ये सानो चैं कुन हो ?
उत्तर : थाहा भएन ।
प्रश्न : तपाईंको पत्नीको नाम के हो ?
उत्तर : थाहा भएन ।
प्रश्न : के तपाईं कुनै जागिर खानुहुन्थ्यो ?
उत्तर : मलाई थाहा भएन, पछि भन्छु ।
प्रश्न : तपाईंको आमाको नाम के हो ?
उत्तर : इवालिन बादीसिन्हा (जुन नाम उनको हालको आमाको थियो)

उक्त टोलीले बालकलाई उपरोक्त प्रश्न लगायत जम्मा ७० वटा प्रश्नहरु सोधेका थिए । त्यसमध्ये बालकले ६१ वटा सही जवाफ दिन सकेनन् । त्यसलगायत बालकलाई कोदी तुवाकुको घरायसी तस्विरहरु देखाइएको थियो, त्यसमा उनले कसैलाई पनि चिन्न सकेनन् । उनलाई तुवाकुका मित्रहरु भेटाइएको थियो, जसलाई उनले चिन्न सकेनन् । 

बालकलाई तुवाकुको जीवनका कयौं महत्वपूर्ण घटनाहरुबारे पनि सोधियो तर उनले बताउन सकेनन् ।
अन्त्यमा जाँच कमिटीले पुनर्जन्मको कुरा झुटो हो भनी निश्कर्ष दिएको थियो ।

यस्ता अफवाह र झुट खबरको पछाडि थुप्रै व्यक्तिहरु कुदेको पाइन्छ । सत्य कुरो जसरी जमिन मुनि लुकेको हिरा जस्तो हुन्छ तर झुट जंगलमा लागेको आगो जस्तो हो । जस्लाई कसैले फैलाउनु पर्दैन, आफै फैलिन्छ । 
नेपालमा पनि गुगल ब्वाइ भनिएका आदित्य दाहालले भविष्य बताउन सक्ने भनी धेरै अफवाह फैलाइयो । सरकारी ढिकुटीको ब्रह्मलुट मच्चाएर करोडौं रकम उनलाई दिइसकिएको छ । उनको नाममा पुराण लगाएर वा भजाएर कयौंले उदरपूर्ति समेत गरिरहेका छन् ।

पुनर्जन्म, अवतार, चमत्कार जस्तामा मान्छे सहजै विश्वास गर्छन्, जसले गर्दा कतिपय चलाख माता–पिताले आफ्नो सन्तानले त्यस्तो अफवाह फैलाएर नगद कमाउने माध्यम बनाउँछन् ।
पुनर्जन्म हुने कुरा गैरवैज्ञानिक कुरा हो । यस्ता चमत्कार, अवतार, देवी चढ्ने, भुत उत्रिने जस्ता कुरामा विश्वास गर्नु अन्धभक्तता मात्र हो । 
अन्त्यमा, यदि हरेक जन्मिने मान्छे कसै न कसैको पुनर्जन्म हो भने बढ्दो पृथ्वीको जनसंख्या चाँहि कसको पुनर्जन्म हो ?