कोरोना भाइरसका कारण पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित
काठमाडौं, १७ फागुन । सरकारले नेपाल भ्रमणवर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरेको छ ।
कोरोना भाइरस नामले चिनिएको कोभिड–१९ ले विश्वका धेरै देशहरुमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
शनिबार पर्यटन प्रवर्द्धनका निम्ति काठमाडौंमा भएको एक पदयात्रा कार्यक्रमपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचारप्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवर्द्धनको काम सरकार केन्द्रित भएको बताए । परिस्थिति अनुकूल नहुँदासम्म आन्तरिक पर्यटनलाई जोड दिँदै नीतिहरु अगाडी बढाउने तयारी मन्त्रालयले गरेको उनले बताए ।
कोरोनाका कारण नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई असर गरेको मन्त्री भट्टराईले बताए । उनले विश्वबजार कोरोनाबाट प्रभावित बन्दै गएको सन्दर्भमा आएका सुझावहरुलाई मध्यनजर गर्दै तत्काल विदेशमा हुने प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
‘अब विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवर्द्धनको काममा बढी केन्द्रित हुन्छौँ,’ उनले भने, ‘आन्तरिक पर्यटनमा जोड दिँदै नीतिहरु अगाडि बढाउँछौँ । जब परिस्थिति अनुकूल हुन्छ, सन्त्रासहरु हट्दै जान्छन्, त्यसपछि सक्रियताका साथ भ्रमणवर्षको प्रवर्द्धनात्मक काममा अगाडि बढ्छौँ ।’
कोरोनाले विश्वका शक्ति राष्ट्रहरुको व्यापार व्यवसाय, उद्योगधन्दामा पनि असर गरेको मन्त्री भट्टराईले बताए । भ्रमण वर्षलाई भव्य रुपमा मनाउन र लक्ष्यअनुसार पर्यटक भित्र्याउन विभिन्न माध्यमबाट प्रचारप्रसारका कामहरु अगाडि बढे पनि २०२० सुरु भएसँगै चीनको वुहानबाट देखा परेको कोरोना भाइरसका कारण प्रभावित हुँदै गएको थियो । वर्षको सुरुदेखि नै चीनबाट आउने पर्यटकहरको संख्यामा कमी आएको थियो ।
प्रतिक्रिया