यशोदा सुवेदीको विरोधाभास अभिव्यक्तिले उब्जिएको विवाद 

यशोदा सुवेदीको विरोधाभास अभिव्यक्तिले उब्जिएको विवाद 

शीला सिंह  

‘आधा आकाश मुक्त नभए सम्पूर्ण मानव मुक्ति सम्भब छैन, पूर्ण मानव जाति मुक्त नभए, महिला मुक्ति सम्भव छैन ।’ वास्तवमा कुनै पनि समाजको विकासको मापन, सामाजिक उत्पादनमा महिला सहभागिताले निर्धारण गर्दछ । महिला मुक्तिको सवाललाई लिएर विश्वभरि विभिन्न देशमा विभिन्न कोणबाट आन्दोलन, अभियान, बहस, अन्तरक्रिया चली रहन्छ । महिला सशक्तीकरण, महिला अधिकार, महिला चेतना अभिवृद्धि आदि इत्यादि । 

हाल संसद भवनमा यशोदा सुवेदीले दिनु भएको अभिव्यक्तिमा मेरो पनि केही फरक मत रहेको छ । हुनतत उहाँले सकारात्मक सोंच राखेर दिनु भएको अभिव्यक्ति होला, तर माक्र्सवादी दृष्टिकोणबाट हेर्दा कतै उहाँ चुक्नु भयो कि भन्ने मलाई लागेको छ । 
सर्वप्रथमतः माक्र्सवादी दृष्टिकोण अन्तर्राष्ट्रियतावादी दृष्टिकोण हो । त्यस कारण कुनै पनि देशमा चलाइने आन्दोलन, अभियानले विश्वभर सकारात्मक अथवा नकारात्मक प्रभाव पार्छ । उदाहरणको लागि जब नेपाली महिलाहरु चुला चौका छाडेर, जनसेनामा भर्ति भए, त्यसले विश्व समुदायलाई सोंच्न बाध्य बनायो । हो, महिला पनि पुरुषभन्दा कम रहेन छन् चाहेको खण्डमा उनीहरु पनि पुरुष सरह लड्न सक्ने क्षमता राख्दा रहेछन् भन्ने सन्देश प्रवाह गर्यो ।

हाल चिलीका महिलाहरुले निर्माण गरेको वलात्कारविरुद्धको गाना, आज ३५ भन्दा बढी राष्ट्रका महिलाहरुले हरेक विरोध प्रदर्शनमा आफ्नो भाषामा उल्था गरेर गाउने गर्छन् । चाहे त्यो भारतमा घटेको निर्भयाकाण्डविरुद्ध चलाइएको आन्दोलनमा विश्वव्यापी समर्थनको कुरा किन नहोस् ।

ठीक यहीनेर किन यशोदा सुवेदीले दिनुभएको अभिव्यक्ति विवादित बन्न पुग्यो त ? त्यसमा सम्पूर्ण महिला मुक्ति हुने छनक भेटिएन । भेटियोस पनि कसरी ? प्रक्रिया नै गलत छ । आफू स्वयम् पितृसत्तात्मक सोंच बोकेको बुर्जुवा राज्य व्यवस्थाको प्रतिनिधित्व गर्दै हुनुहुन्छ, पहिले आफै वैचारिक हिसावमा मुक्त हुन जरुरी छ । त्यही बुर्जुवा व्यवस्थाले दिएको महिला अधिकार उपयोग गरेर खाडी पुगे, आज महिलाहरुलाई खाडी मुलुकमा स्वस्थानीको ब्रत बस्ने फुर्सद छ र ? उनीहरु नारकीय जीवन व्यतित गर्न बाध्य छन् । के महिलाहरु यही राज्य व्यवस्था अन्तर्गत, छाउपडी नबसेर महिला मुक्ति हुन्छ ? यसर्थ मैले महिलाहरु छाउपडी बस्नु पर्छ अथवा स्वस्तानी ब्रत बस्नु पर्छ भन्न खोजेको कदापी हैन । हिजो कमलरी प्रथा  अन्त्य गरेर उपलब्धि के हासिल भयो ? शान्ता चौधरी सभासद भइन, तर समग्र कमलरी ‘भुङ्ग्रोको माछा तावामा’ भने झैँ एउटा समस्याबाट अर्को समस्यामा फस्नु बाहेक के भयो ? यो शासन प्रणालीमा महिला मुक्ति आन्दोलन भनेको महिलाहरुमा अन्तरविरोध खडा गरेर विभाजित गर्नु बाहेक केही हँुदैन । आज यशोदा दिदीकै मामला लिउँ, नेपाल बहुभाषी, बहुधार्मिक, बहुजातीय मुलुकमा केवल एक धार्मिक कुरितिको विरोध गर्नु भनेको आफैंलाई विवादमा तान्नु हो । 

स्वस्थानी पुस्तकको पाना च्यात्नु, छाउपडी गोठ भत्काउनु भनेको पुँजीवादी राज्य व्यवस्थामा तीन सय ३५ महिला सहभागिताको माग गरे जस्तै हो । यही व्यवस्थाअन्तर्गत तीन सय ३५ हैन  छ सय पाँच महिला सहभागिता गराए पनि आम आधारभूत महिलाहरुको जीवन स्तरमा सुधार आउँदैन । 

यदि कुनै पनि समस्याको समाधान खोज्ने हो भने पहिले हामीले समस्याको जड पत्ता लगाउनु पर्छ । विरामीको उपचार गर्न जसरी के भएको भनेर पत्ता लगाउन, विभिन्न टेस्ट गरिन्छ,  टेस्ट गर्दा पनि पनि पहिचान नभएमा वंशानुगत खोज्नुपर्ने हुन्छ । हो, ठीक त्यस्तै आज विश्वव्यापी महिलाहरु यो वा त्यो रुपमा उत्पीडित हुनुको जड कारण के हो पहिचान गरेर, त्यसको समाधानको विधि सही ढंगबाट प्रयोग गर्न जरुरी छ । फ्रेडरिक एङ्गेल्सको परिवार, निजी सम्पति र राज्यको उत्पत्ति पढ्न यही लेख मार्फत आग्रह गर्दछु । अरिस्टोटलले भने झैँ महिला अपूर्ण मानव होइन । न  महिला कुनै वस्तु हो जसले जुन रुपमा चाहे प्रयोग गरियोस् । विश्वभरका महिला पनि पूर्ण मानव हो जसले आफ्नो निर्णय स्वयम् आफै गर्न सक्छन् भन्ने हेक्काका साथ अघि बढौं ! समयबद्ध साप्ताहिकबाट